इतिहासकै खराब प्रदर्शनमा मनाङ

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

कीर्तिमानी आठपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ पहिलोपटक लगातार चार खेलमा पराजित

कीर्तिमानी आठपटकको सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले इतिहासकै खराब प्रदर्शन जारी राखेको छ । मनाङ ‘ए’ डिभिजन लिगमा लगातार चार खेलमा पराजित भएको छ । शनिबार दशरथ रंगशालामा नवप्रवेशी खुमलटार युथविरुद्ध मनाङ २–१ ले पराजित भयो । मनाङ ०७९–८० को सिजन दशौँ चरणमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १–०, नवौैँ चरणमा जावलाखेल युथसँग ३–०, आठौँ चरणमा सातदोबाटो युथसँग १–० ले पराजित भएको थियो । जारी दोहोरो लिगमा मनाङले चार खेलमा हार बेहोर्दा चार खेलमा जित निकालेको छ । तीन खेलमा अंक बाँड्न बाध्य भयो । मनाङ १५ अंकसहित मध्य स्थानमा छ । प्रशिक्षक किरण श्रेष्ठका अनुसार यसपटक मनाङले उपाधि जित्ने योजना बनाएको छैन ।

तर, ०४३ सालयता ए डिभिजन लिग खेल्न सुरु गरेको मनाङसँग घरेलु फुटबलमा विभिन्न कीर्तिमान छन् । राष्ट्रिय टोलीका प्लेइङ सेटका अधिकांश खेलाडी हुँदा मनाङले आठपटक लिगको उपाधि हात पारिसकेको छ । मोफसलका चर्चित उपाधि जितेको इतिहास छ । तर, यसपटक मनाङ खराब लयबाट गुज्रिरहेको छ । यसअघि मनाङले लगातार तीन खेलसम्म हार बेहोर्नुपरेको थिएन । पछिल्लो समय मनाङले युवा खेलाडी टोलीमा समावेश गरेको छ । जसका कारण लिग जित्ने योजना छैन । त्यसैले नतिजासमेत राम्रो आएको छैन । 

मेसुकेको दुई गोल 
विदेशी खेलाडी मेसुकेले दुई गोल गरेपछि खुमलटारले मनाङविरुद्ध प्रभावशाली जित निकाल्यो । ९ गोल पूरा गरेका मेसुके उच्च गोलकर्ता दौडको शीर्ष स्थानमा छन् । उनले मनाङ, आर्मी, मच्छिन्द्रविरुद्ध समान दुई गोल गर्दा जावलाखेल, चर्च ब्वाइज र फ्रेन्ड्सविरुद्ध एक–एक गोल गरेका हुन् । मनाङका लागि कोफी टिमोथी कुडोले एक गोल फर्काए । पहिलोपटक ए डिभिजन लिग खेलेको खुमलटारले सफल क्लब मनाङलाई पहिलो भेटमै हराउन सफल भयो । चौथो जितपछि खुमलटारले ११ खेलबाट १३ अंक जोड्यो । लिग जित्ने योजना बनाएको खुमलटारले एक खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ । 

खेलको १३औँ मिनेटमा मेसुकेले खुमलटारलाई अग्रता दिलाए । मनाङका दुई रक्षकलाई बिट गर्दै मेसुकेले सुन्दर गोल गरेका हुन् । ५३औँ मिनेटमा मनाङले बराबरी गोल फर्कायो । पाएको पेनाल्टीलाई कुडोले सदुपयोग गरे । खुमलटारका रक्षक विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टी अवसर पाएको थियो । ६१औँ मिनेटमा मनाङले फेरि पेनाल्टी अवसर पायो । तर, कुडो पेनाल्टीमा चुक्दा मनाङले २–१ को अग्रता बनाउन चुक्यो । खुमलटारका भारतीय खेलाडी अभिषेक बर्माले मनाङका रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई कुडोले बाहिर प्रहार गरेका थिए । इन्जुरी समयमा मेसुकेले गोल गर्दै खुमलटारका लागि २–१ को जित दिलाए ।  

चेन्चोको पहिलो गोल 
भुटानी राष्ट्रिय टोलीका स्ट्राइकर चेन्चो ग्यात्सेनले मच्छिन्द्र फुटबल क्लबका लागि पहिलो गोल गरेका छन् । छैटौँ खेलमा आएर चेन्चो पहिलो गोल गर्न सफल रहे । पाँचौँ चरणपछि मच्छिन्द्रमा अनुबन्ध भएका चेन्चोले तीन खेलमा पूरा समय मैदानमा बिताएका छन् । च्यासल मैदानमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २–१ ले हरायो । मच्छिन्द्रको जितमा चेन्चो र देवेन्द्र तामाङले समान एक गोल गरेका हुन् । फ्रेन्ड्सका विदेशी खेलाडी राफिक अमिनुले एक गोल फर्काए । जितपछि मच्छिन्द्र ११ खेलमा १६ अंक जोड्न सफल भयो । यसक्रममा चार जित, चार बराबरी र तीन हार बेहोरेको छ । फ्रेन्ड्सको ११ खेलबाट ११ अंक छ । 

खेलको ४५औँ मिनेटमा चेन्चोले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । निशान सुब्बाको पासमा चेन्चोले गोल गरेका हुन् । ६३औँ मिनेटमा देवेन्द्रले २–० को अग्रता बनाए । चेन्चोको प्रहार रिबाउन्डमा फर्कंदा देवेन्द्रले सदुपयोग गरे । ७६औँ मिनेटमा अमिनुले फ्रेन्ड्सका लागि एक गोल गरेका हुन् । जारी लिगमा अमिनुको यो छैटौँ गोल हो । 

सुझावित समाचार