पुलिसमा पहिलोपटक विदेशी खेलाडी

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण
पुलिसमा पहिलोपटक विदेशी खेलाडी

घानाका जोय आइडु

ए डिभिजन लिगको छैटौँ चरणसम्म जितविहीन पुलिसले पहिलोपटक घानाका दुई खेलाडीलाई अनुबन्ध गरेको छ 

लिगमा पुलिसको तथ्यांक

  •  चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित 
  •  हिमालयन शेर्पासँग १–० ले पराजित 
  •  संकटासँग १–० ले पराजित 
  •  मच्छिन्द्रसँग २–१ ले पराजित 
  •  एनआरटीसँग १–१ को बराबरी
  •  एपिएफसँग २–० ले पराजित 

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग प्रतियोगिताको अंक तालिका हेर्दा तीनपटकको पूर्वविजेता नेपाल पुलिस क्लबको अवस्था दयनीय छ । पुछारमा रहेको पुलिसमाथि रेलिगेसनको दबाब छ । लिगको ६ खेल सकिँदा पुलिस जितविहीन छ । एक खेलमा बराबरी नतिजा निकाल्दा ५ खेलमा पराजित भएको छ । रेलिगेसन दबाब चिर्न र लिगमा उत्कृष्ट नतिजा निकाल्न पुलिसले पहिलोपटक विदेशी खेलाडीलाई मैदानमा उतार्ने भएको छ । विभागीय क्लब पुलिसले पहिलोपटक विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ । नेपाल प्रहरीको स्वामित्वमा रहेको पुलिसले सातौँ चरणदेखि विदेशी खेलाडीलाई प्रतिस्पर्धा गराउने योजना बनाएको छ । 

यसका लागि पुलिसले सबै प्रक्रिया पूरा गरेको छ । पुलिसले सातौँ चरणमा मंगलबार फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यस खेलमा पुलिसबाट दुई विदेशी खेलाडीले फ्रेन्ड्सविरुद्ध खेल्ने प्रशिक्षक चेतन घिमिरेले नयाँ पत्रिकासँग बताएका छन् । ‘विदेशी खेलाडी अनुबन्ध गर्ने सम्पूर्ण प्रक्रिया पूरा भएको छ । सातौँ चरणपछि हामी कम्तीमा दुई विदेशी खेलाडी मैदानमा उतार्नेछौँ,’ प्रशिक्षक घिमिरेले भने । 

तत्कालीन एन्फाले फुटबलमा दिएको योगदान बताउँदै पुलिसलाई सीधै ‘ए’ डिभिजन क्लबको मान्यता दिएको थियो । एन्फाबाट मान्यता पाएकै वर्ष पुलिसले ०६० बाट ए डिभिजन लिग खेल्न थालेको हो । पुलिसले ०६३, ०६६/६७ र ०६८ को संस्करणमा उपाधि जितेको थियो । विदेशी खेलाडी अनुबन्ध गर्ने पुलिस दोस्रो विभागीय टोली बनेको छ । 

यसअघि, ०७८ सालमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले पहिलोपटक विदेशी खेलाडी अनुबन्ध गरेको थियो । एपिएफसमेत रेलिगेसन दबाबमा आएर विदेशी खेलाडी अनुबन्ध गर्न पुगेको थियो । अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भने हालसम्म विदेशी खेलाडी अनुबन्ध गरेको छैन । 

पुलिसका दुवै खेलाडी घानाका 
पुलिसले अफ्रिकन राष्ट्र घानाको मोसेज र जोय आइडूलाई अनुबन्ध गरेको प्रशिक्षक घिमिरेले जानकारी दिएका छन् । जोयले मच्छिन्द्र फुटबल क्लबको प्रतिनिधित्व गरिसकेका छन् । केपी ओली कप फुटबलको उपाधि जित्दा मिडफिल्डर जोयले फाइनल खेल मच्छिन्द्रबाट खेलेका थिए । यसैगरी, २० वर्षीय मोसेज स्ट्राइकर हुन् । मोसेज र जोयले पहिलोपटक ए डिभिजन लिग खेल्दै छन् । यसअघि दुवैले क्यामरुनको एभिनियर एफसीबाट मोफसलमा भएका गोल्डकप फुटबलमा सहभागिता जनाएका थिए । 

पुलिसले चार विदेशी खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ । एक डिफेन्डर र एक मिडफिल्डर भिœयाउने अन्तिम तयारी चलिरहेको घिमिरेले बताए । एन्फाका अनुसार लिगमा आबद्ध क्लबले कम्तीमा पाँच विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । दक्षिण एसिया र एसियाका कम्तीमा एक खेलाडी अनुबन्ध गर्नुपर्नेछ । विदेशी खेलाडीको आगमनसँगै पुलिसले प्रदर्शनमा सुधार आउने प्रशिक्षक घिमिरेको भनाइ छ । ‘विदेशी खेलाडी अनुबन्ध हुँदा राम्रो प्रदर्शन आउँछ भन्ने नै हो । हाम्रो लक्ष्यअनुसार अगाडि बढ्न सहज हुनेछ,’ उनले भने । 

सुझावित समाचार