आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल चलिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपाली टिमका सबैभन्दा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल लगातार स्कोर गर्न असफल रहे । उनले पछिल्लो नाै इनिङमा राम्रो रन बनाउन सकेका छैनन् ।
आज १४ बलको सामना गरेका ज्ञानेन्द्र एक चौकाको सहायतामा ११ रन बनाएर आउट भए । २५ ओभरमा एक सय ४० रनको अवस्थामा रिले हिकुरेले ज्ञानेन्द्रलाई आउट गरे ।
त्यसअघि हिकुरेकै बलमा कुशल मल्ल आउट भएका थिए । एक सय २० रनको अवस्थामा २१औँ ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो ।
पछिल्लो सिरिजमा दुई अर्धशतकसहित महत्वपूर्ण इनिङ खेलेका कुशल आज भने चल्न सकेनन् । आठ बल खेलेका कुशलले दुई रन बनाए । नेपालले एक सय १० रनको अवस्थामा पहिलो विकेट गुमाएपछि प्रशिक्षक मोन्टी देसाईले प्रमोसन गर्दै कुशललाई ब्याटिङमा पठाएका थिए ।
त्यसअघि आसिफ शेख र कुशल भुर्तेलबीच शतकीय साझेदारी भएको थियो । यी दुईले एक सय १२ बलमा एक सय १० रनको साझेदारी गरेका थिए । १८औँ ओभरको चौथो बलमा हिकुरेले नै कुशल भुर्तेललाई टोनी उराको हातबाट आउट गर्दै साझेदारी तोडेका थिए ।
५६ बलको सामना गरेका कुशलले ६ चौकाको मद्दतमा ४५ रन बनाए । यसक्रममा उनले दुईपटक जीवनदान पाएका थिए । तर, ती अवसरलाई उनले ठूलो स्कोरमा बदल्न चुके ।
टस जितेर पपुवा न्युगिनीले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।