म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ।
मंगला गाउँपालिका– २ बाबियाचौरनिवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको एक करोड रुपैयाँकाे लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो।
आइतबार एक समारोहबीच उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गरेका हुन्।
आर्थिक वर्ष ०७५/७६ मा सुरु गरिएको पार्कको निर्माणकार्य सकिएपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो।
.jpg'_'.2023-02-20.jpg)
पार्कमा संग्रहालय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शाैचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ।
गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरूको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए।
स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्रहालयसमेत स्थापना गरिएको छ। पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी १५ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए भने थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले एक लाख रुपैयाँ र मंगला युवा क्लबले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
.jpg'_'.2023-02-20.jpg)
आइतबार पार्क उद्घाटनको अवसरमा जग्गादाता र सहयोगदातालाई सम्मानसमेत गरिएको छ। बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् पार्कमा आयोजित समारोहमा जग्गादाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मंगला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
पार्क निर्माण गर्न डिभिजन वन कार्यालयले १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्रहालय भवन बनाउन १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि सात लाख बजेट उपलब्ध गराएका थिए।
.jpg'_'.2023-02-20.jpg)
पार्कको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब ६० लाख रुपैयाँभन्दा बढी लगानी गरेको जनाइएको छ।
पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अधिकारीको सम्मानमा पार्क परिसरमा अधिकारीको अर्धकदको सालिक बनाइएको छ भने संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।
.jpg'_'.2023-02-20.jpg)
तस्बिर : कमल खत्री/नयाँ पत्रिका