घरेलु फुटबलमा टुट्यो विशाल र सुजलको मिडफिल्ड जोडी

आइतबार, २२ माघ, २०७९
डिजिटल संस्करण

‘कठै मेरो देश, उज्वल भविष्य र सफलताको कामना प्रिय मित्र विशाल राई,’ दुई दशक राष्ट्रिय फुटबल टोलीमा सँगै सहयात्रा गरेका मिडफिल्डर विशालको बिदाइमा सुजल श्रेष्ठले भने । निरन्तर घरेलु प्रतियोगिता नहुँदा अन्य खेलाडीजस्तै भविष्य खोज्दै मिडफिल्डर विशाल पनि अस्ट्रेलिया पलायन भएका हुन् । विशाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुजलसँगै एक दशक सँगै खेलेका राष्ट्रिय खेलाडीहरू गोलरक्षक विशाल श्रेष्ठ, पुजन उपरकोटी, देवेन्द्र तामाङ, रञ्जित धिमाल, छिरिङ गुरुङ र राष्ट्रिय टोली तथा मच्छिन्द्र फुटबल क्लबका व्यवस्थापक अनिल श्रेष्ठले बिदाइ गरेका थिए । एन्फा एकेडेमीको चौथो ब्याचका खेलाडी विशाल २०१४ यता निरन्तर राष्ट्रिय टोलीमा थिए । २०१५ अगस्ट ३१ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट विशालले अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गरेका थिए । 

१२ वर्षको उमेरदेखि सँगै फुटबलमा 
सुजल र विशाल १२ वर्षको उमेरदेखि नै अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी प्रशिक्षणमा रहे । एन्फा एकेडेमीमा दुवै खेलाडी पाँच वर्ष सँगै रहे । त्यसपछि उनीहरूले क्लबबाट व्यावसायिक फुटबल खेल्न थाले । संकटा हुँदै सुजल मनाङ मस्र्याङ्दी क्लब पुगे । विशाल जावलाखेल युथसँग जोडिए । एक वर्ष जावलाखेलमा खेलेपछि विशाल पुनः सुजलसँग सहकार्य गर्ने निर्णय गर्दै मनाङमा पुगे । ‘हामी बच्चैबाट सँगै खेल्दै आयौँ । एन्फा र क्लबमा समेत सधैँ सँगै रह्यौँ । तर, आजबाट हामी टाढा भएका छौँ,’ विशाललाई बिदाइ गरेपछि सुजल भावुक बने । 

मनाङमा उनीहरूले नौ वर्षसम्म साँठगाँठ गरेका थिए । अझै भन्दा ती नौ वर्ष दुवैले मनाङमा बिताए । यसक्रममा दुवै खेलाडीले दुईपटक ए डिभिजन लिगको उपाधि जितेका थिए । मनाङले ०७५ सालमा भएको कीर्तिमानी आठौँपटक लिग जित्दा सुजल र विशाल मुख्य खेलाडी थिए । ०७६ मा दुवै खेलाडीले मनाङसँगको लामो यात्रा टुंग्याउँदै मच्छिन्द्र क्लबसँग नाता जोडे । मच्छिन्द्रले ०७६ र ०७८ मा ब्याक टु ब्याक दुईपटक लिगको उपाधि जित्दा सुजल र विशाल नै मुख्य खेलाडीका रूपमा थिए । दुवैले समग्रमा चार–चारपटक शीर्ष डिभिजन लिगको उपाधि चुमेका छन् । तेस्रोपटक उपाधि जित्ने योजना बनाएको मच्छिन्द्रमा आबद्ध रहेका विशाल १९ फागुनबाट सुरु हुने शीर्ष डिभिजन लिग नखेल्ने निर्णय लिँदै अन्त्यमा अस्ट्रेलिया पलायन भएका हुन् । 

रहर होइन बाध्यता
सुजलले विशाल अस्टे«लिया पुग्नु बाध्यता भएको बताएका छन् । ‘पक्कै पनि उसको यो रहर हैन, बाध्यता हो । लिग हुने या नहुने टुंगो छैन । खेल नभएपछि बाध्य भएर अस्ट्रेलिया गएको हो,’ सुजलले भने, ‘यो अहिलेको समस्या हैन, विगत ६–७ वर्षदेखिको समस्या हो ।’ सुजलले तत्काल अस्ट्रेलिया जाने आफ्नो सोच नभएको र परिस्थितिअनुसार निर्णय लिने बताए । ‘अहिले त केही निर्णय लिएको छैन । यस्तै अवस्था आयो भने भन्न सकिँदैन । तर, सकेसम्म नजाने सोच बनाएको छु ।’ झापा बिर्तामोडका विशाल गत वर्ष मात्रै वैवाहिक जीवनमा बाँधिएका थिए । 

सुजलको भावुक बिदाइ सन्देश 
तिमीसँगको यू–१२ देखि राष्ट्रिय टोलीसम्म आइपुग्दाको करिब २० वर्ष लामो यो फुटबलको सहयात्रामा राष्ट्रिय टोली र क्लबमा हुँदा बिताएका ती हरेक सुख र दुःखका पल सदैव याद आइरहनेछ । हाम्रो देशमा खेलकुदको वर्तमान अवस्था, अन्योलमय भविष्यका कारणले गर्दा तिमीजस्तो प्रतिभाशाली, देशकै गहना भनिने खेलाडीहरू यसरी बिदेसिनु सम्पूर्ण नेपाली खेलकुद र खेलकुदप्रेमीलाई दुःखी बनाएको महसुस गरेको छु । कठै मेरो देश ! उज्ज्वल भविष्य र सफलताको शुभकामना प्रिय मित्र विशाल राई । 

See More On

सुझावित समाचार