१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक २६ शनिबार १९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदानकाे दिन जहाज चढ्न पाइने, यात्रुकाे आवागमन व्यवस्थापन सिडिओले गर्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक २६ शनिबार १९:४५:००

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ।

स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ। त्यस्तै, अपांगता भई आफैँ हिँड्डुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारीसाधनको प्रयोग गर्न सकिनेछ।

अशक्तताको कारणले आफैँ हिँड्डुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ। मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्नेछ र मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गरिएको छ।