बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान शेषले चुनावी र्यालीमा प्रयोग गरेका भारतीय गाडी
भारतीय नम्बरप्लेटका यी गाडी बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान शेषको चुनावी र्यालीमा ल्याइएका हुन् । १८ कात्तिकमा शेषले एक दर्जभन्दा बढी भारतीय गाडी चुनावी र्यालीमा प्रयोग गरेका थिए । सबै गाडीमा उनले आफ्नो चुनाव चिह्न एक्स्काभेटरअंकित झन्डा फहराएका थिए ।
शेषले मात्रै होइन, बाँकेमा अन्य दलका तथा स्वतन्त्र उम्मेदवारले पनि भारतीय नम्बरप्लेटका गाडीमा झन्डा राखेर प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । भाडामा लिँदा नेपालीभन्दा भारतीय गाडी सस्तो पर्ने भएकाले पारिबाटै गाडी ल्याएका हुन् । कतिपय उम्मेदवारले भने भारतमा भएका आफन्तको गाडी चुनावी प्रचारमा प्रयोग गरेका छन् ।
बाँके प्रहरीले पनि चुनावी प्रचारमा भारतीय गाडी प्रयोग भएको पुष्टि गरेको छ । तर, हालसम्म कति गाडी प्रयोग भए भन्ने तथ्यांक नरहेको जनाएको छ । ‘भारतीय गाडीमा उम्मेदवारको चुनाव चिह्नअंकित झन्डा राखेको पाइए पनि आधिकारिक तथ्यांक छैन,’ बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने, ‘निर्वाचन उल्लंघन भयो भनेर उजुरी नपरेकाले त्यस्ता गाडी कारबाहीमा परेका छैनन् ।’ उनका अनुसार भारतीय गाडी प्रयोग भए–नभएको अनुगमन गर्न भने जिल्ला प्रहरी कार्यालयले टोली परिचालन गरेको छ ।