१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १९ शनिबार ०६:१२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खेलबाट जेलतिर सन्दीप

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १९ शनिबार ०६:१२:००

मुद्दाको फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामै राख्न आदेश

अन्य क्रिकेट खेलाडीहरू प्रधानमन्त्री कप प्रतिस्पर्धामा मैदानमा व्यस्त रहँदा राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको दिनचर्या भने खेलबाट जेलतर्फ मोडिएको छ । बालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मुद्दाको फैसला नहुँदासम्म अब कारागारमै बस्नुपर्ने भएकाले उनको क्रिकेट करिअर अनिश्चित बनेको छ । 

३० दिन प्रहरी हिरासतमा बसेपछि लामिछानेलाई शुक्रबार सुन्धारास्थित भद्रजेल पठाइएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने निर्दाेष रहेछन् भन्ने अवस्था नरहेको भन्दै उनलाई अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासबाट लामिछानेलाई थुनामा पठाउने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । ‘प्रमाण ऐन, २०३१ को दफा १० अनुसार पीडित र मौकामा कागज गर्ने मानिसहरूले व्यक्त गरेको कुरा प्रमाणमा ग्राह्य हुने अवस्था रहेको र ऐ. ऐनको दफा १८ (ख) अनुसार थुनछेक प्रयोजनका लागि अधिकार प्राप्त अधिकारीले गराएको मौकाका कागज प्रमाणहरू प्रमाण ग्रहण गर्न सकिने कानुनी व्यवस्था देखिन्छ,’ आदेशमा भनिएको छ, ‘उक्त कानुनी व्यवस्थालाई मध्यनजर गरी हेर्दा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दाेष रहेछन् भनी मान्न मिलेन ।’ थप प्रमाणहरू बुझ्दै जाँदा पछि ठहरेबमोजिम हुने गरी हाल थुनुवा पुर्जी दिएर जगन्नाथ देवल पठाउन आदेशमा भनिएको छ । जगन्नाथ देवलमा केन्द्रीय कारागार, भद्रजेल र महिला कारागार गरी तीन कारागार छन् । जसमध्ये सन्दीपलाई भद्रजेलमा राखिएको जेलर ईश्वरीप्रसाद पाण्डेले बताए । भद्रजेलमा श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत करिब एक हजार एक सय कैदी–बन्दी छन् । 

होटेलको सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच आपसमा तादात्म्यता रहेको तथ्यलाई आधार मानेर अदालतले उनलाई थुनामा पठाएको हो । परोपकार तथा स्त्रीरोग अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा शारीरिक सम्बन्ध भएको कुरालाई समर्थन गर्ने प्रतिवेदन आएको थियो । साथै, होटेलको सिसिक्यामेरा फुटेजमा पनि दुवैजना होटेलमा बसेको पुष्टि भएकाले निर्दाेष रहेको भन्न नसकिने अदालतको निष्कर्ष छ । सन्दीपले बयानका क्रममा आफूहरू सो होटेलमा एक रात बसेको स्वीकार गरेका थिए । त्यसलाई पनि अदालतले थुनामा पठाउने आदेशको आधार बनाएको छ । 

लामिछानेका कानुन व्यवसायी भने अदालतको आदेशप्रति असन्तुष्ट छन् । साधारण तारेखमा छाड्न माग गरी आफूहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने बताएका छन् । 

दुईपटक बलात्कार गरेको पीडितको दाबी
एउटै कोठामा बसेको भए पनि शारीरिक सम्बन्ध नराखेको दाबीसहितको बयान सन्दीपले दिएका छन् । किशोरी बेडमा सुतेको र आफू रातभरि कुर्सीमा बसेको उनको दाबी छ । तर, किशोरीले भने आफूमाथि दुईपटक बलात्कार भएको बताएकी छिन् । 

गत ५ भदौमा एक किशोरीमाथि पिंगलास्थानको काठमाडौं इनहोटेलमा बलात्कार गरेको अभियोग सन्दीपमाथि छ । २० भदौमा उनीविरुद्ध जाहेरी परेकोमा २० असोजमा विदेशबाट फर्कंदा प्रहरीले उनलाई नियन्त्रणमा लिई १४ कात्तिकमा मुद्दा दायर गरेको थियो । चार दिनसम्म जिल्ला अदालत काठमाडौंमा चलेको थुनछेक बहसपछि उनलाई थुनामा पठाइएको हो । 

पहिलोपटक राति १२:१५ बजे इच्छाविपरीत र त्यसको एक घन्टापछि दोस्रोपटक बलात्कार गरेको पीडितको दाबी छ । रुँदा–कराउँदा पनि ढाडमा हिर्काएर दोस्रोपटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । 

त्यो दिन सुरुमा दुवैजना नगरकोट गएको र फर्कंदा बेलुका भएको थियो । पीडित किशोरी बस्ने होस्टेलमा राति प्रवेश नपाइने भएपछि उनीहरू होटेलमा गएका थिए । आफूले दुईवटा कोठा बुक गर्न आग्रह गर्दा सन्दीपले एउटा मात्र कोठा बुक गरेको पीडितको दाबी छ । 

‘सन्दीपले आफ्नो पब्लिक स्टाटसलाई ख्याल गरेनन्’ 
घटनाको भोलिपल्ट सन्दीप राष्ट्रिय क्रिकेट टिमको कप्तानका रूपमा क्रिकेट टिमको नेतृत्व गरेर केन्या गएका थिए । त्यहाँबाट वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग खेल्न गएका वेला उनीविरुद्ध नेपालमा जाहेरी परेको थियो । 

विदेश जाने अघिल्लो दिन कप्तान यसरी बाहिर बस्न गएको घटनामा यसअघि पनि प्रश्न उठेको थियो । अदालतले समेत यो विषयमा टिप्पणी गरेको छ । शुक्रबारको लिखित आदेशमा भनिएको छ, ‘प्रतिवादीले भोलिपल्ट अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेल्न जाँदै गर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, विचार नगरी, आफ्नो पब्लिक स्टाटसलाई समेत ख्याल गर्नुपर्नेमा सो नगरी आफ्नो दिनचर्या एवं क्रियाकलप पब्लिक अडिटमा हुन्छ भन्नेतर्फ समेत सचेत रहेको अवस्था देखिएन ।’ 

क्रिकेटर देव खनालमार्फत युवती र सन्दीपबीच चिनजान भएको थियो । खनालले सन्दीप आफ्नो साथी भएको बताएपछि युवतीले नै उनलाई स्न्यापच्याटमा रिक्वेस्ट पठाएको र त्यसको चौथो दिन उनीहरूबीच भेट भएको थियो । पहिलो भेटमै आफूमाथि बलात्कार भएको पीडितको जाहेरी छ ।

पीडितको उमेरबारे अभिलेख मगाउन आदेश
अदालतले पीडित किशोरीको वास्तविक उमेरको विषयमा पनि सुनुवाइ गर्ने भएको छ । त्यसका लागि अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति र पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउने आदेश दिएको छ । 

लामिछानेका कानुन व्यवसायीले पीडित किशोरी नाबालिका नभई १९ वर्ष उमेर पुगेको भन्दै उनको जन्मदर्ताको कागज पेस गरेका थिए । किशोरीको नागरिकताको उमेरअनुसार भने घटनाको वेला उनी १७ वर्ष २ महिना मात्र रहेको देखिन्छ । 

नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै सम्बन्ध राखे पनि त्यो बलात्कार ठहर हुने कानुनी प्रावधान छ । सोही कारण प्रतिवादीका कानुन व्यवसायीले उनी नाबालिका नभएको कुरा थुनछेक बहसका क्रममा जोडदारका साथ उठाएपछि अदालतले उनको जन्मदर्ताको सक्कल अभिलेख मगाउने आदेश दिएको हो । 

साथै अदालतले जाहेरवाला, पीडित, अनुसन्धानका क्रममा बुझिएका मानिसहरू, पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई सरकारी वकिल कार्यालयमार्फत तथा प्रतिवादीका साक्षीहरूलाई ७ मंसिरमा बसकपत्रका लागि उपस्थित गराउनसमेत आदेश दिएको छ । 

बकपत्र र अदालतले मागेका विवरण उपलब्ध भएपछि यस मुद्दा सुनुवाइका लागि अघि बढ्नेछ । जिल्ला अदालतको विवरणअनुसार सामान्यतया मुद्दा फैसला हुन करिब एक वर्ष लाग्नेछ ।