मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस जुम्ला
२०७९ कार्तिक १८ शुक्रबार १५:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

Read Time : > 1 मिनेट
रासस, जुम्ला
२०७९ कार्तिक १८ शुक्रबार १५:५२:००

पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन्। ब्लास्ट रोगको संक्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताए। धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए।

गत वर्षहरूमा १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो। ब्लास्ट रोगले धानको बालामा क्षति गरेको छ। उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भएको स्थानीयहरू बताउँछन्। बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीय खगेन्द्र खत्रीले जानकारी दिए।

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको यहाँका किसानको गुनासो छ। मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार नपरे पनि अहिले पहिलोपटक बजार गएर सेतो चामल किन्न परेको छ। 

धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको छ। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताए।

धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुगेका थिए।  किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उनको भनाइ थियो।

‘उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन, तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ। धानको नमुना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ। केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषदमा  पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ। तर, धानमा लागेको रोग नियन्त्रणमा आएन,’ कार्यालय प्रमुख अधिकारीले बताए।

जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उनले जानकारी दिए। यो वर्ष जिल्लाको कुल धान उत्पादनको तथ्यांक संकलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ।