राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को तदर्थ समिति गठन भएको छ । असोज २८ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघमा धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
तदर्थ समितिमा प्रथम उपाध्यक्ष प्रदीपप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा कमला पौडेल अर्याल र सहकोषाध्यक्षमा वसन्त योगी रहेको संघले जनाएको छ । त्यस्तै, सदस्यहरूमा रवि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गुञ्जमणि भट्टराई रहेको जनाइएको छ ।
देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गर्ने उद्देश्यले संघको स्थापना भएको अध्यक्ष श्रेष्ठले बताए । एजेन्सी, विज्ञापनदाता तथा सम्बन्धित सरोकार निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।