१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Sunday, 29 September, 2024
२o७९ कार्तिक १४ सोमबार १८:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धर्म र जात हेर्दै घरदैलोमा नेता, मौन मतदाता [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १८:o२:oo

तिहार सकिए पनि बाँकेमा चुनावी सरगर्मी अझै बढ्न सकेको छैन। यसपटकको निर्वाचनमा उम्मेदवारसँग राजनीतिक दलका नेता, कार्यकर्ताको लस्कर देखिएको छैन। आमसभा र र्‍याली पनि देखिएका छैनन्। उम्मेदवारहरू थोरै समर्थकको साथमा घरदैलो अभियान गर्दै आएका छन्। 

निर्वाचन नजिकिए पनि मतदातामा उत्साह देखिएको छैन। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले ठोस एजेन्डा अघि सार्न नसकेका कारण आममतदाता भोट दिने उम्मेदवारको टुंगो लगाउन नसकेको अवस्था छ। 

निर्वाचन नजिकिए पनि मतदाताको तन, मन नजिकिन नसकेको राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य बताउँछन्। उनले बाँकेका मतदाता अलमलमा रहेको बताए। ‘यहाँ राजनीतिक दलको सिद्धान्त, आस्था र विचारभन्दा उम्मेदवारकेन्द्रित राजनीति भइरहेको छ,’ उनले भने, ‘राजनीतिक दलका उम्मेदवार भन्ने मात्र छ। राजनीतिक दलको सिद्धान्त, आस्था र विचारभन्दा व्यक्तिका लागि भोट मागेको पाइन्छ। राजनीतिक आस्थाको त कुरै आउँदैन।’

उनले पछिल्लो समय राजनीतिक सिद्धान्तभन्दा जातीय, क्षेत्रीय, भेगीय र धार्मिक आस्थातर्फ राजनीति केन्द्रित भएको बताए। राजनीतिक दलका संगठित तथा क्रियाशील सदस्यले समेत दलको सिद्धान्त र विचारभन्दा बाहिर जान थालेको उनको बुझाइ छ। ‘सिद्धान्त र विचारमा बाँधिएकाहरूसमेत जातीय, क्षेत्रीय र धार्मिक आस्थातर्फ अग्रसर भएर निर्वाचनमा होमिएको स्पष्ट देखिन्छ,’ डा. आचार्यले भने। 

राजनीतिक दलकै कारण नेता, कार्यकर्ताहरू सिद्धान्त बिर्सिएर जातीय, क्षेत्रीय र धार्मिक आस्थाका उम्मेदवारलाई जिताउन उद्दत भएको नागरिक समाजका अगुवा प्रकाश उपाध्यायले बताए। उनले यसपटकको निर्वाचन सिद्धान्त, विचार, आस्था र एजेन्डाविहीन भएको जिकिर गरे। 

‘निर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवारले राजनीतिक आस्था र सिद्धान्तका कुरा गर्न छाड्दा यसपटक बाँकेको निर्वाचन जातीय, क्षेत्रीय र धार्मिक आस्थाका आधारमा विभाजन भएको छ,’ उनले भने। 

उनले गठबन्धनका कारण दलको सिद्धान्त ओझेलमा परेको बताए । सिद्धान्त र विचार नमिल्ने राजनीतिक दलसँग निर्वाचनमा तालमेल गरेकै कारण दलहरूले आफ्नो सिद्धान्तको कुरा मतदाता माझ लैजान नसकेको उनको बुझाइ छ। 

‘दुई विपरीत ध्रुव भएका दलबीच गठबन्धन भएपछि निर्वाचनमा सिद्धान्तका आधारमा भोट माग्ने सवालै आउँदैन,’ उनले भने, ‘सिद्धान्तलाई तिलाञ्जली दिँदै व्यक्तिलाई केन्द्रमा राखेर राजनीतिक दलहरू निर्वाचनमा होमिएको प्रस्ट झल्किन्छ।’

मतदाता मौन

अहिलेसम्म मतदाता पनि मौन छन्। मतदाता मौन भएका कारण नेपालगन्ज, कोहलपुर, खजुरा, राँझालगायतका सहर पनि सुनसानजस्तै छन्। ‘समुद्रको पानीजस्तै मतदाता चुपचाप छन्। राजनीतिक दल र उनीहरूका उम्मेदवार पनि चुनावी अभियानमा जुट्न सकेका छैनन्,’ मानव अधिकारकर्मी तेजविक्रम साहले भने।

उनले मतदाता चुपचाप बस्नुले विशेष अर्थ राख्ने बताए। राजनीतिक दलका नेता र उम्मेदवार घरदैलोमा गए पनि मतदाता खुल्न नसकेको साहले बताए। ‘मतदाताहरू कसको पक्षमा बढ्ता लागेका छन्। मतदाताको चाहना के छ भन्ने नै बुझ्न सकिने अवस्था छैन,’ उनले भने।