ललितपुर महानगरपालिकाले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ दिने तयारी गरेको छ । डायलाइसिस, क्यान्सर, मेरुदण्ड पक्षघात, मिर्गाैला प्रत्यारोपण गर्नुपर्नेलगायत बिरामीलाई महानगरले पाँच–पाँच हजारका दरले उपचार खर्च दिन लागेको हो ।
उपचार खर्च उपलब्ध गराउन सबै वडाबाट बिरामीको नामावली संकलन भइरहेको छ । तथ्यांक संकलन सकिएर उपचार खर्च वितरण गर्ने तयारी भइरहेको महानगरपालिका समाज कल्याण महाशाखाकी शाखा अधिकृत सरिता महर्जनले जानकारी दिइन् । उनका अनुसार जनस्वास्थ्य सेवा ऐन ०७५ अनुसार जटिल रोगका बिरामीलाई औषधि उपचार खर्च वितरण गर्न लागिएको हो । बिरामीले आ–आफ्नो वडामा निवेदन दिइसकेका छन् । केही दिनभित्र सो रकम वितरण गरिने महर्जनको भनाइ छ ।
महानगरले औषधि उपचार गर्न नसक्ने विपन्न, गरिबीको परिचयपत्र भएका र स्थानीय तहबाट विपन्नका रूपमा सिफारिस भएका व्यक्तिलाई मासिक पाँच हजारका दरले दिनेछ । यसबाहेक वडामा निवेदन दिन छुटेकालाई निवेदन दिन आग्रह गरिएको छ ।