मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
नवीन अर्याल काठमाडौं
२o७९ कार्तिक ६ आइतबार १६:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच सर्तसहित प्याराग्लाइडिङ उडान सञ्चालन

२६ वर्षको अवधिमा १७ प्याराग्लाइडिङ दुर्घटना, व्यवसायिक उडानभन्दा सोलो उडान बढी दुर्घटनाग्रस्त

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार १६:३३:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धाको क्रममा खेलाडीको निधन भएपछि स्थागित गरिएको प्याराग्लाइडिङ उडान सञ्चालन भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाँच सर्तसहित आइतबारदेखि रोकिएको प्याराग्लाइडिङ उडान सञ्चालन गरेको हो।

नेपाल हवाई खेलकुद संस्थाले सर्तहरू १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि स्थगित प्याराग्लाइडिङ उडान सञ्चालन गरेको क्यानका उपप्रबन्धक विनय गिरीले बताए। प्याराग्लाइडिङ उडानलाई थप नियमित, सुरक्षित र व्यवस्थित बनाउन भन्दै क्यानले २ कात्तिकमा उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। समितिले ४ कात्तिकमा प्याराग्लाइडिङ सुरक्षित र व्यवस्थित बनाउन पाँच सर्तहरू कार्यान्वयन गराई उडान सञ्चालन गर्न दिनुपर्ने सुझावसहितको प्रतिवेदन क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको थियो। आइतबार पाण्डेको अध्यक्षतामा बसेको बैठकमा नाका प्रतिनिधिहरूले प्रतिवेदनमा उल्लेखित सुझाबहरू १५ दिनभित्र पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।

क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा २६ वर्षीय निसिम थापाको निधन भएपछि क्यानले देशैभरको उडान अनिश्चित कालसम्म स्थगित गरेको थियो। त्रिभुवन आर्मी क्लबमा आबद्ध उनको सराङकोट डाँडोबाट उडेलगत्तै सय मिटरमाथिबाट ग्लाइड जमिनमा खसेर मृत्यु भएको थियो।

यही हुन् पाँच सर्त
कुनै पनि प्याराग्लाइडिङ कम्पनीले नियामक निकाय क्यानले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यावसायिक उडानबाहेक अन्य उडान गतिविधि गर्न नपाउने पहिलो सर्त छ। 

प्याराग्लाइडिङ पाइलटलाई १५ दिनभित्र क्यानको मेडिकल रिक्वायरमेन्ट्सअनुसार शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गराउने र सो परीक्षणमा योग्य ठहरिएको पाइलटहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिइनुपर्ने पनि सर्त छ। यस्तै, व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनुपर्नेछ।

व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूले १५ दिनभित्रमा क्यानको वायुयोग्यता निरीक्षकको रोहबरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिनुपर्ने सुझाब छ। प्याराग्लाइडिङ कम्पनीहरूले पाइलटको रिफ्रेसर एडभान्स्ड टेन्डम एसआइभी तथा आपतकालीन अवस्थामा टेन्डम रेस्क्यु उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक दिनुपर्नेछ।

नेपालमा साहसिक मनोरञ्जनात्मक खेलकुदमध्ये पर्यटकमाझ सर्वाधिक लोकप्रिय बनेको प्याराग्लाइडिङ उडानलाई कसरी थप व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भनेर उच्चस्तरीय समिति गठन गरेर अध्ययन प्रतिवेदन तयार पारिएको क्यानका महानिर्देशक अधिकारीले बताए।

क्यानले अकस्मात् देशैभरका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो। पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण भनेकै पाराग्लाइडिङ उडान हो। दैनिक सयौँ स्वदेशी तथा विदेशी पर्यटकले पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आइरहेका छन्।

प्याराग्लाइडिङको साढे दुई दशक लामो इतिहास 
नेपालमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु भएको साढे दुई दशक पुगेको छ। सन् १९९६ मा पहिलोपटक सनराइज प्याराग्लाइडिङले व्यावसायिक उडान सुरु गरेको थियो। त्यसयता प्याराग्लाइडिङ दुर्घटनामा १७ जनाले ज्यान गुमाएको क्यानको तथ्यांक छ।

यो अवधिमा भएका १७ ठूला दुर्घटनामा १७ जना ग्लाइडरकै निधन भएको हो। व्यावसायिक रूपमा गरिने टेन्डम उडानभन्दा सोलो उडान बढी दुर्घटनामा परेको क्यानको तथ्यांकले देखाउँछ। सिकारु पाइलट र खेलकुद प्रतिस्पर्धाको क्रममा सोलो उडानहरू दुर्घटनामा परेका हुन्।

नेपालमा सन् २०१० मा पहिलोपटक पाराग्लाइडिङ दुर्घटनामा परेको थियो। त्यस वर्ष लगातार तीनवटा प्याराग्लाइडिङ उडान दुर्घटनाग्रस्त भएका थिए। त्यसयता १३ वर्षको अवधिमा १७ सोलो प्याराग्लाइडिङ उडान दुर्घटनामा परेकाे क्यानले जनाएको छ।