मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक १ मंगलबार o८:o३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद : दुर्गाले दिलाए कर्णालीलाई पहिलो स्वर्ण

दुर्गाले तीन हजार मिटरको दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णाली प्रदेशलाई पहिलो स्वर्ण दिलाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार o८:o३:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गाबहादुर बुुढाले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको ट्र्याकमा सोमबार बिहान भएको निर्धारित तीन हजार मिटरको दूरी दुर्गाले ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । जुम्लाका दुर्गाले हात पारेको स्वर्ण कर्णालीले राष्ट्रिय खेलकुदमा जितेको पहिलो स्वर्ण पदक थियो । स्वर्ण पदकले कर्णालीवासीमा खुसीयाली छाएको छ । दुर्गाले राष्ट्रिय प्रतियोगितामा आफ्नो लक्ष्य पूरा भएको र अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई जिताउने योजना रहेको बताए । उनले अबको योजना ओलम्पिक खेल्ने बताए ।

‘पहिलो योजना पूरा भएको छ । कर्णालीलाई पदक जिताउँदा खुसी छु,’ स्वर्ण पदक चुम्दै प्रफुल्लित भएका दुर्गाले नयाँ पत्रिकासँग भने, ‘अब राष्ट्रको प्रतिनिधित्व गर्दै ओलम्पिक खेल्ने योजना बनाएको छु ।’ ३२ वर्षीय धावक दुर्गाले नेपालबाट खेल्न मन भएको बताए । ‘प्रतियोगितामा अवसर पाए नेपालको प्रतिनिधित्व गर्दै नाम राख्नेछु,’ उनले भने । 

 भारतबाट खेलेको भन्दै उजुरी 
पोखरा बसपार्कस्थित डाँफेमुनाल होटेलमा दुर्गा प्रतियोगिता खेल्न अन्तिम तयारीमा थिए । प्रशिक्षक हरिबहादुर रोकायाको प्रशिक्षणमा कर्णालीका सम्पूर्ण टोली यही होटेलमा बसेको छ । आर्मी, पुलिस र एपिएफसहित गण्डकीले दुर्गा भारतबाट खेलेको र नेपालको राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भन्दै आयोजकलाई उजुरी राखेका थिए । तर, दुर्गाले यो खबर थाहा पाएका थिएनन् । प्रशिक्षक रोकायाले मानसिक दबाब पर्छ भनी दुर्गालाई जानकारी दिएनन् । सोमबार बिहान रंगशालामा पुग्दा आफूविरुद्ध प्रोटेस्ट परेको दुर्गाले थाहा पाए । तर, उजुरीविरुद्ध ठोस प्रमाण नपुग्दा दुर्गाविरुद्धको प्रोटेस्ट खारेज भयो । 

‘नेपालमा अवसर र आर्थिक पाटो राम्रो नभएपछि भारतीय सेनामा रोजिरोटी खोज्दै पुगे । खेल राम्रो भएकाले एकपटक भारतबाट एसियन च्याम्पियनसिप प्रतियोगिता खेलेको हो,’ दुर्गाले भने, ‘उनीहरूले सबै डकुमेन्ट बनाएका थिए । तर, मैले बाँकी समय नेपालबाट खेल्ने बताएँ र यहीँ आएँ ।’ दुर्गाले नेपाली भएका कारण नै नेपाली नागरिकता भएको बताए । ‘म नेपाली हुँ, मेरो नागरिकता नेपालको छ । नेपालबाट खेल्ने चाहना छ,’ नागरिकता देखाउँदै उनले भने, ‘हो, एकपटक भारतबाट खेलेँ, तर त्यसपछि खेलिनँ । अहिले नेपालबाट खेल्छु भन्दा रोक्नेको कमी छैन ।’

 भारतबाट एसियन च्याम्पियनसिपमा 
१२ वर्षदेखि दुर्गा भारतीय आर्मीमा जागिरे छन् । आर्थिक स्थिति बलियो नहुनु र नेपालमा समेत खेलेर बाँच्ने अवस्था नदेखेपछि भारत पुगेका थिए । भारतीय आर्मीका सुबेदार दुर्गाको अझै समयावधि तीन वर्ष बाँकी छ । यस समय उनी भारतमै रहनेछन् । दुर्गाले सन् २०१७ को एसियन च्याम्पियनसिपमा भारतबाट खेलेका थिए । तत्कालीन समय दुर्गा स्टिपलचेजमा भारतीय नम्बर एक खेलाडी नै थिए । यसपछि उनलाई भारतीय आर्मीले आग्रह गरेपछि प्रतियोगितामा सहभागी भए । 

 हरेस खाएपछि एभरेस्ट दौडमा 
०६५ सालमा काठमाडौंमा भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको १० हजार मिटर दौड र पाँच हजार मिटर दौडमा दुर्गाले कांस्य पदक जितेका थिए । यसै प्रतियोगिताबाट दुर्गा बंगलादेशमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) खेल्न छनोट भए । तर, उनको नाममा अर्कै खेलाडीलाई अवसर दिइयो । पदाधिकारीले आफ्नै मान्छे खेलाए । हरेस खाएर दुर्गा एभरेस्ट दौडमा लागे । त्यसपछि अहिलेसम्म नेपालको प्रतिनिधित्व गर्न पाएका छैनन् । उनले प्रशिक्षकको एनआइएस लाइसेन्स प्राप्त गरेका छन् । ‘त्यो समय सागका लागि छनोट भएको थिएँ । तर, मलाई विभिन्न कारण देखाएर सहभागी हुन दिइएन,’ सागको घटना सुनाउँदै उनले भने, ‘आफ्नो मान्छेलाई प्रतियोगितामा सहभागी गराइयो । यसपछि हरेस खाएर एभरेस्ट दौडमा लागेको थिएँ ।’ 

 विभागीय टोलीमा नहुँदा कम अवसर
विभागीय खेलाडी नहुँदा नै दुर्गाले कम अवसर पाएका छन् । उनले आठौँ राष्ट्रिय खेलकुदमा यस्तै समस्या भोगे । बेलझुन्डीमा भएको एथलेटिक्सको ५ हजार र १० हजार मिटरसहित म्याराथनमा उनी सहभागी भएका थिए । दौड क्रममा विभागीय टोलीले आफ्ना खेलाडीलाई अदृश्य रूपमा सहयोग गर्ने गर्छन् । तर, आफूलाई पानी पिउन सहयोग गर्नेलाई समेत विभागीय टोलीले दुःख दिएको दुर्गाको भोगाइ छ । नवौँ राष्ट्रिय खेलकुदमा यही समस्या भयो । 

‘यहाँसमेत यस्तै भइरहेको छ । आजको कथा यही हो । पदक नआउने भएपछि मलाई रोक्ने काम हुँदै छ,’ दुर्गा भन्छन् । यस प्रतियोगितामा दुर्गाले तीन इभेन्टमा प्रतिस्पर्धामा गर्दै स्वर्ण जित्ने योजना बनाएका छन् । ‘म्याराथनसहित स्टिपलचेज र पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्ने तयारी थियो । तर, आयोजक नै मविरुद्ध लागेपछि म्याराथन खेल्न पाइनँ । लगातार इभेन्ट राखिएको छ,’ उनले भने, ‘अब पाँच हजारमा स्वर्ण पदक जित्न खेल्छु र प्रमाणित गरेर देखाउँछु ।’