१९ असोज बिहानबाट परेको अविरल वर्षातपछि आएको बाढीले बाँकेका आठ हजार ७०३ परिवार प्रभावित भएका छन्। राप्ती नदी, डुडुवा, मानखोला, रतैया नाला र पेडारी खोलामा आएको बाढीले बाँकेका आठ पालिकाका आठ हजार ७०३ घरपरिवार प्रभावित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको हो।
बाढीले एक हजार १४३ परिवार विस्थापित भएको र एक सय ८१ घरमा पूर्ण क्षति र ५९८ घरमा आंशिक क्षति भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। बाढीमा परी दुईजना घाइते भएका छन्।
राप्ती नदीमा आएको बाढीले सबैभन्दा धेरै क्षति राप्तीसोनारी गाउँपालिकामा पुर्याएको केसीले बताए। उनका अनुसार राप्ती नदीमा आएको बाढीबाट राप्तीसोनारी गाउँपालिकाका तीन हजार पाँच सय परिवार प्रभावित भएका छन्। उक्त पालिकाका सात सय ९८ परिवार विस्थापित भएको केसीले बताए।
अविरल वर्षाले नरैनापुर गाउँपालिकाका दुई हजार ६९६ परिवार प्रभावित भएका छन्। उक्त पालिकाका गंगापुर, मटेहिया, सोनवर्षालगायत गाउँमा राप्ती नदीले क्षति पुर्याएको छ। त्यसैगरी, भारतले निर्माण गरेको सडकले पानीको बहाव रोकेपछि आसपासका घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए।
बाढीले नरैनापुरका ५० परिवार विस्थापित भएका छन्। त्यहाँका ३५ घरमा पूर्ण क्षति र एक सय २० घरमा आंशिक क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए। राप्ती नदी र डुडुवा खोलामा आएको बाढीले डुडुवा गाउँपालिकाका एक हजार ९५० परिवार प्रभावित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार उक्त पालिकाका ९५ परिवार विस्थापित भएका छन्। बाढीले ४५ वटा घरमा पूर्ण र एक सय ३५ घरमा आंशिक क्षति पुर्याएको छ। त्यसैगरी, खजुरा गाउँपालिकाका दुई सय ४९ परिवार प्रभावित भएका छन् भने ३५ परिवार विस्थापित भएका छन्।
बाढीले सात हजार ४६० हेक्टर जमिनको बालीमा क्षति
बाढीले बाँकेको सात हजार ४६० हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। उनले बाढीले सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा लगाइएको बालीनालीमा क्षति पुर्याएको बताए। उनले त्यहाँ एक हजार ६५० हेक्टर जमिनमा लगाइएको बालीमा क्षति पुगेको बताए।
त्यसैगरी, डुडुवा गाउँपालिकामा एक हजार ४६० हेक्टरमा रहेको बालीमा बाढीले क्षति पुर्याएको छ भने खजुरा गाउँपालिकामा एक हजार ९५, जानकी गाउँपालिकामा ९५०, बैजनाथमा ८३०, कोहलपुरमा ७३० र नरैनापुरमा ३८० तथा नेपालगन्ज उपमहानगरपालिकामा ३६५ हेक्टरमा रहेको बालीमा क्षति पुगेको छ।
बाढी प्रभावितका लागि १४५० थान त्रिपाल आवश्यक
बाढीले विस्थापित भएका २५० परिवारलाई टेन्ट, १४५० थान त्रिपाल, चार हजार पाँच सयजनाका लागि खाद्यान्न, ३५० सेट कपडा र ३५० सेट भाँडाकुँडा आवश्यक रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।
त्यसैगरी, दुई हजार पाँच सय थान कम्बल, तीन हजार पाँच सय थान गुन्द्री, पाँच हजार पाँच सयजनाका लागि तयारी खाना, दुई हजार पाँच सय परिवारका लागि खानेपानी र दुई हजार पाँच सय थान झुल आवश्यक रहेको केसीले बताए। बाढीबाट विस्थापितहरू विद्यालय र सामुदायिक भवनमा आश्रय लिइरहेको उनले बताए।