फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पे सन् २०२२ कै सर्वाधिक कमाउने खेलाडी बनेका छन् । वर्तमान समयकै उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै एम्बाप्पे पहिलोपटक सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । सन् २०१३ मा इंग्ल्यान्डका फुटबलर डेभिड बेकह्यामले मेसी र रोनाल्डोलाई पछि पारेका थिए । बेहकह्यामपछि रोनाल्डो र मेसीलाई पाखा लगाउने खेलाडीमा एम्बाप्पे सफल भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने १० खेलाडीको सूची यस्तो छ :
केलियन एम्बाप्पे (आम्दानी : १२८ मिलियन डलर)
२३ वर्षीय फ्रान्सका स्ट्राइकर एम्बाप्पे पहिलोपटक धेरै आर्जन खेलाडी बनेका छन् । एम्बाप्पेले सन् २०२२ मा १२८ मिलियन डलर कमाएका छन् । ‘अन फिल्ड’ ११० मिलियन अमेरिकी डलर कमाउँदा उनले ‘अफ फिल्ड’ १८ मिलियन डलर कमाइ गरेका छन् । एम्बाप्पे पछिल्लो तीन फ्रेन्च लिग वानमा प्लेअर अफ दी इयर चुनिएका छन् । एम्बाप्पे तीन वर्षका लागि पिएसजीसँग अनुबन्धित छन् । यस्तै, उनले फोटो सुट र स्पोन्सरबाट रकम आर्जन गर्छन् । एम्बाप्पेको इमेज राइटअनुसार फ्रेन्च फुटबल फेडेरेसनले समेत रकम दिने गरेको छ ।
लियोनल मेसी (आम्दानी : १२० मिलियन डलर)
मेसीले यस वर्ष १२० मिलियन डलर आर्जन गरेका छन् । उनी सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचीमा दोस्रो स्थानमा छन् । पिएसजीमा गत वर्ष पहिलो सिजन बिताउँदा उनको प्रदर्शन खस्किएको थियो । १७ वर्ष बार्सिलोनामा बिताएका मेसी गत वर्ष मात्र पिएसजीमा अनुबन्ध भएका थिए । मेसी अहिले कतार विश्वकप फुटबल प्रतियोगिताको तयारीमा छन् । विश्वकपसँगै उनले अन्तर्राष्ट्रिय खेलजीवनबाट टाढा रहने घोषणा गरिसकेका छन् । ३५ वर्षीय मेसीले अन फिल्ड ६५ र अफ फिल्ड ५५ मिलियन डलर कमाएका छन् ।
क्रिस्टियानो रोनाल्डो (आम्दानी : सय मिलियन डलर)
इन्स्टाग्राममा सर्वाधिक रुचाइएका फुटबल खेलाडी रोनाल्डो हुन् । रोनाल्डो सन् २०२२ मा सर्वाधिक कमाउने खेलाडीको तेस्रो स्थानमा छन् । रोनाल्डोलाई यसपटक मेसी र युवा स्ट्राइकर एम्बाप्पेले पछि पारेका छन् । कुनै समय नाइक, हर्वलाइफ र लाइभस्कोरले स्पोन्सर गर्दा रोनाल्डोको कमाइ मैदानबाहिर समेत राम्रो थियो । यसपटक त्यस्तो हुन सकेको छैन । ३७ वर्षीय रोनाल्डोले अन फिल्ड ४० र अफ फिल्ड ६० मिलियन डलर आर्जन गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड छोडेर इटालियन सिरी ए युभेन्टस् पुगेका रोनाल्डोले त्यहाँ लामो समय बिताएनन् । गत वर्ष मात्र उनी पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएका थिए ।
नेमार जुनियर (आम्दानी : ८७ मिलियन डलर)
ब्राजिलियन तथा पिएसजी स्टार खेलाडी नेमार सर्वाधिक कमाउने खेलाडीमा चौथो स्थानमा छन् । नेमारले सन् २०२२ मा ८६ मिलियन डलर कमाएका छन् । ३० वर्षीय नेमारले खेलबाट मात्र ५५ मिलियन डलर र स्पोन्सरबाट ३२ मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ । नेमार सन् २०१७ मा कीर्तिमानी २६३ मिलियन डलरमा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।
मोहमद सलाह (आम्दानी : ५३ मिलियन डलर)
लिभरपुल तथा इजिप्टका स्ट्राइकर मोहमद सलाहले सन् २०२२ मा ५३ मिलियन डलर कमाएका छन् । उनले मैदानभित्र ३५ र मैदानबाहिर १८ मिलियन डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ । ३० वर्षीय सलाहले लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताएका छन् । उनले प्रिमियर लिगमा गोल्डेन बुट अवार्ड प्राप्त गरेका छन् । लिभरपुलसँग सलाह सन् २०२५ सम्म रहनेछन् । सलाह एडिडासका ग्लोेबल स्टार्स हुन् ।
रोबर्ट लेवान्डोस्की (आम्दानी : ३५ मिलियन डलर)
जर्मन क्लब बायर्न म्युनिखबाट रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोना आइपुगेका छन् । सन् २०२२ को सिजनमा लेवान्डोस्की बार्सिलोनालाई स्पेनिस लिग उपाधि दिलाउने प्रयासमा छन् । उनले सिजनको सुरुआतमै १० गोलसमेत गरिसकेका छन् । लेवान्डोस्कीले ३५ मिलियन डलर कमाएका छन् । मैदानभित्र २७ तथा मैदानबाहिर आठ मिलियन डलर उनले कमाएका देखिन्छन् । ३४ वर्षीय लेवान्डोस्की नाइकसँग जोडिएका छन् ।
एर्लिङ हाल्यान्ड (आम्दानी : ३९ मिलियन डलर)
इंग्लिस प्रिमियर लिगमा उच्च लयमा प्रदर्शन गरिरहेका एर्लिङ हाल्यान्ड सर्वाधिक कमाइ गर्ने खेलाडीको छैटौँ स्थानमा छन् । २२ वर्षीय नर्वेका हाल्यान्डले ३९ मिलियन डलर आर्जन गरेका छन् । हाल्यान्डले मैदानभित्रबाट ३५ र मैदानबाहिरबाट चार मिलियन अमेरिकी डलर कमाएका छन् । यसै वर्ष मात्रै हाल्यान्डको नाइकसँगको सम्झौता सकिएको थियो । यसबाट हाल्यान्डले मैदानबाहिर चार मिलियन थप डलर कमाइ गरे । हाल्यान्ड सिजन २०२२–२३ का लागि म्यानचेस्टर सिटी आइपुगेका हुन् ।
इडेन हजार्ड (आम्दानी : ३१ मिलियन डलर)
स्पेनिस क्लब रियल म्याड्रिडबाट प्रतिस्पर्धा गर्ने हजार्डका लागि गत सिजन राम्रो हुन सकेन । गत सिजनमा उनी प्रायः बेन्चमै रहे । ३१ वर्षीय मिडफिल्डर हजार्डले सन् २०२२ को सिजनमा ३१ मिलियन डलर आर्जन गरेका छन् । अन फिल्ड २७ र अफ फिल्ड चार मिलियन डलर उनले कमाएका छन् । बेल्जियमका स्टार खेलाडी हजार्डले अहिलेसम्म ६ गोल गरेका थिए । चेल्सीबाट म्याड्रिड आएयता उनले स्वाभाविक लयमा प्रदर्शन गर्न सकेका छैनन् ।
आन्द्रेस इनिस्टा (आम्दानी : ३० मिलियन डलर)
बार्सिलोना र स्पेनका स्टार मिडफिल्डर आन्द्रेस इनिस्टा सर्वाधिक कमाइ गर्ने खेलाडीमा नवौँ स्थानमा छन् । ३८ वर्षीय खेलाडीले अन फिल्ड २५ र अफ फिल्ड पाँच मिलियन डलर कमाइ गर्छन् । इनिएस्टाले जापानी मार्केट बजारबाट राम्रो कमाइ गरेका छन् । यस्तै, कतार फिफा विश्वकपको डकुमेन्ट्रीबाट इनिएस्टाको कमाइ बढ्दै छ ।
केभिन डी ब्रुने (आम्दानी : २९ मिलियन डलर)
म्यानचेस्टर सिटीका स्टार खेलाडी केभिन सर्वाधिक कमाइ गर्ने खेलाडीमा दशौँ स्थानमा छन् । बेल्जियमका ३१ वर्षीय मिडफिल्डरले सन् २०२२ को सिजनमा २९ मिलियन डलर कमाएका छन् । मैदानभित्रबाट २५ तथा मैदानबाहिरबाट उनको कमाइ चार मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । उनी विभिन्न विश्वचर्चित ब्रान्डसँग अनुबन्धित छन् ।