मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Thursday, 19 December, 2024
लमजुङको डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा शनिबार बिहान दुर्घटनाग्रस्त ग.१ज ५९३४ नम्बरको जिप । दुर्घटनामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । तस्बिर : जनक श्रेष्ठ/रासस
टेकराज थामी काठमाडाैं
२o७९ असोज २३ आइतबार o६:o५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँमा दुर्घटना : ३९ जनाले गुमाए ज्यान

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार o६:o५:oo

यान्त्रिक परीक्षण गर्ने सरकारको निर्णय कार्यान्वयन नहुँदा दसैँमा विगतमा झैँ ठूला दुर्घटना

बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते 

चितवनको नारायणगढस्थित बसपार्कबाट गत २० असोजको बिहान ०६–००१ ख ०१० नम्बरको बस खचाखच यात्रु बोकेर बाराको पथलैयातर्फ छुट्यो । बाराको अमलेखगन्ज पुग्दा बसको ‘ब्रेक फेल’ भयो । १८ यात्रुले अनाहकमा ज्यान गुमाए, २९ जना घाइते भए जसमध्ये २६ जना गम्भीर छन् । 

विजया दशमीको भोलिपल्टै बिहानै भएको यो ठूलो दुर्घटनाले देशलाई नै स्तब्ध बनायो । यस दुर्घटनाको प्रमुख कारण सवारीसाधनको यान्त्रिक परीक्षण नहुनु भएको प्रहरीको भनाइ छ । यान्त्रिक परीक्षण नहुँदा ‘ब्रेक फेल’ भई दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटी बसको ‘यान्त्रिक परीक्षण’ हुन सकेको भए भयानक दुर्घटना टर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘प्रारम्भिक अनुसन्धान गर्दा बसको ‘ब्रेक फेल’ भएजस्तो देखिन्छ । त्यही वेला पानी पर्‍यो । सडक चिप्लो थियो । बस करिब सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुदेको हुँदा चलकले ‘टर्निङ’ लिन सकेन । बस उडेर बगरमा जोतियो । त्यहाँबाट पनि अर्को बल्ड्याङ खाएर विद्युत्को पोलमा गएर ठोक्कियो । बसबाट हाम फालेका सबै घाइते भए । भित्रै बस्ने बाँच्न सकेनन् । स्टेसनमै बसको ‘यान्त्रिक परीक्षण’ हुन सकेको भए दुर्घटना हुँदैन थियो कि !’ 

गत १७ असोजको मध्यरातमा हेटौँडास्थित चुरियामाई सडकमा ना.७ख २०३२ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा दुईजनाको मृत्यु भयो, ३६ यात्रु घाइते भए । काठमाडौंस्थित नयाँ बसपार्कबाट छुटेको बस दमक जाँदै थियो । तर, छुट्नुअघि बसको ‘यान्त्रिक परीक्षण’ भएन । यो बसमा खचाखच यात्रु थिए । हेटौँडास्थित चुरियामाई पुगेपछि बसले नियन्त्रण गुमायो । बस गएर सडक किनारमा गएर जोतियो । धन्न बसको गति मध्यम थियो र क्षति भयानक हुन पाएन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमका अनुसार उक्त बसको पनि ‘ब्रेक फेल’ भएको थियो ।

शनिबार लमजुङको बेँसीसहर नगरपालिका– १ रिट्ठेबगरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । डुम्रे–बेँसीसहर सडकमा ग.१च ५९३४ नम्बरको बोलेरो जिप ब्याक गर्दा भएको दुर्घटनामा ६१ वर्षीय मोतीबहादुर मजाकोटीको मृत्यु भएको हो । 

शनिबार नै विदुर नगरपालिका– ५ मा बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी– १२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी– ७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर– ५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रूपक खड्काले जानकारी दिए ।

गृह मन्त्रालयले गत ९ असोजदेखि मझौला र लामो दूरीमा चल्ने प्रत्येक सार्वजनिक सवारीसाधनको अनिवार्य रूपमा ‘यान्त्रिक परीक्षण’ गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । यसका निम्ति यातायात व्यवस्था विभाग र मातहतका प्रहरीलाई जिम्मेवार रहन गृहले भनेको थियो । तर, निर्देशन कार्यान्वयनमा आउन सकेन । फलतः यस वर्षको दसैँ पनि धेरैका लागि शोक बन्न पुग्यो । फूलपातीदेखि शनिबारसम्म मुलुकभर ठूला–साना गरी ३५ दुर्घटना भए । जसमा ३९ जनाको अनाहकमा ज्यान गयो । एक सय ३४ यात्रु घाइते भएका छन् । 

गृहका प्रवक्ता फणीन्द्रमणि पोखरेलले काठमाडौं उपत्यकाबाट छुट्ने बसको हकमा ‘यान्त्रिक परीक्षण’ सुरु गरिए पनि सबै ठाउँमा कार्यान्वयन हुन नसकेको स्विकारे । उनले भने, ‘पर्वका वेला ठूला–ठूला दुर्घटना हुने गर्छन् । त्यसलाई नियन्त्रण गर्न यसपटकबाट सरकारले बसको ‘यान्त्रिक परीक्षण’लाई अनिवार्य बनाएको थियो । काठमाडौंबाट छुट्ने बसको हकमा त परीक्षण कार्यान्वयनमा आए । तर, अन्य ठाउँमा त्यस्तो हुन सकेन । साधन–स्रोत कमी हुँदा पनि सायद यो सफल हुन सकेनन् । तर, आगामी दिनमा यो अभियानलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।’

कानुनतः बसको ‘यान्त्रिक परीक्षण’ गर्ने जिम्मा यातायात व्यवस्था विभागको हो । गृहले पनि ‘यान्त्रिक परीक्षण’मा जिम्मेवार हुन विभागलाई जोड गरेको थियो । तर, विभाग गृहको निर्देशन कार्यान्वयनमा असफल देखिएको छ ।

विभागका महानिर्देशक डा. टोकराज पाण्डे ‘यान्त्रिक परीक्षण’ पहिलोपटक कार्यान्वयनमा आएको हुँदा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने, ‘हामीले पाँच ठाउँमा अहिले बसको यान्त्रिक परीक्षण गर्दै आएका छौँ । यसलाई सातै प्रदेशमा पुर्‍याउने योजना छ । यसपटकबाट बसको ‘यान्त्रिक परीक्षण’ गर्ने नियम आयो । हामीले तत्काल कार्यान्वयनमा ल्यायौँ । पहिलोपटक हुँदा सोचेजति प्रभावकारी हुन पाएन होला । तर, केही हदसम्म सफल भएका छौँ । किनकि यस वर्ष विगतको तुलनामा मृत्यु कम छ ।’

यस वर्ष चाडपर्वमा हुने दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा शक्तिशाली कार्यदल नै बनाइएको थियो । तैपनि ठूला दुर्घटना रोकिएन । यद्यपि, गत वर्षको तुलनामा दुर्घटना कम भएको प्रहरी तथ्यांक छ । 

गत वर्ष दसैँको दश दिनमा मुलुकभर पाँच सय ९३ सवारी दुर्घटनामा एक सय ४३ यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते हुनेको संख्या नौ सय २२ पुगेको थियो । गत वर्षको २६ असोजमा मुगुको छायाँनाथ–रारा– ७ तपने खोलामा भयानक दुर्घटना भएको थियो । नेपालगन्जबाट छुटेको भे.१ख ३१६७ नम्बरका बस तपने खोलामा दुर्घटना भएको थियो । जसमा २४ यात्रुको घटनास्थलमै मृत्यु हुन पुगेको थियो । 

गत वर्ष २५ असोजमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा ग.१ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ६ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । सोही वर्षको २४ असोजमा अछामको पञ्चदेवल–विनायक– १ कुइकामा से.१च १७६३ नम्बरको बोलेरो जिप दुर्घटना भयो । जन्ती बोकेर फर्किंदै थियो जिप । अचानक नियन्त्रण गुमाउँदा जिप दुर्घटना भयो । जिपमा सवार चारजनाको घटनास्थलमै ज्यान गयो । अन्य १४ जना घाइते भए । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले सवारीसाधनको ‘यान्त्रिक परीक्षण’ नहुनु, बसमा खचाखच यात्रु राख्नु, चालक दबाबमा रहनु, सडकको स्तर गयगुज्रेको हुनु दुर्घटनाका मुख्य कारण रहेको बताए । 

उनले भने, ‘पर्वका वेला दुर्घटना हुन्छन् । यो दर अन्य समयमा पनि कम छैन । यसका विविध कारण होलान् । खासगरी सवारीसाधनको ‘यान्त्रिक परीक्षण’ नहुनु, बसमा खचाखच यात्रु राख्नु, चालक दबाबमा रहनु, सडकको स्तर गयगुज्रेको हुनु दुर्घटनाका मुख्य कारण देखिन्छ । यसका लागि प्रहरी मात्रै जिम्मेवार भएर हुँदैन । दुर्घटनासँग जोडिने अन्य ‘स्टेक होल्डर’ पनि जिम्मेवार हुनुपर्‍यो । कानुनले तोकेअनुुसार मात्रै सम्बन्धित सबै निकायले काम गरे दुर्घटना घटाउन सकिन्छ ।’

बाढीपहिरोमा १४ को मृत्यृ 

अविरल वर्षाका कारण आएको बाढीपहिरो र चट्याङमा परी पछिल्लो पाँच दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् । ११ जना बेपत्ता रहेको १५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । 

शनिबार जुम्लामा पहिरोमा परेर सातजनाले ज्यान गुमाएका छन् । कनकासुन्दरी गाउँपालिका– ५ बारकोटेवाडामा पहिरोका कारण स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, छोरा रमेश, बुहारी पानसरा शाही, रमेशका आठ वर्षीय छोरा अनमल र छोरी मिलन तथा छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको हो ।

घटनामा स्थानीय सरस्वती हमाल गम्भीर घाइते भएकी छिन् भने रामबहादुर हमाल सामान्य घाइते भएका छन् । घटनास्थल जुम्ला सदरमुकाम खलंगादेखि झन्डै ८० किलोमिटर टाढा छ ।

कर्णाली राजमार्गअन्तर्गत रारा–लिही र नाग्म–गमगढी सडकखण्डमा ठाउँ–ठाउँमा पहिरो गएका कारण सदरमुकाम खलंगाबाट थप उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन । 

यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार भारी वर्षापछिको बाढीमा परी हिमा गाउँपालिकामा आमा–छोरा बगेर बेपत्ता भएका छन् । हिमा– ३ जोगीवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका तीन वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका हुन् । 

गत बिहीबार काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ देउरालीमा आएको पहिरोमा परी एकै परिवारका तीनजनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा काभ्रेका राजु श्रेष्ठ, उनकी श्रीमती रेखा र छोरा सारथि रहेका छन् ।

उनीहरूले देउरालीमा रेकी ध्यान केन्द्र चलाउँदै आएका थिए । सोही ध्यान केन्द्रमा उनीहरू बस्दै आएका थिए । अविरल वर्षाका कारण मध्यरातमा पहिरो आएपछि उनीहरू पुरिएका थिए । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बढीपहिरोका कारण गत सात दिनभित्र मुलुकभर तीन करोड ४२ लाख ८६ हजार रुपैयाँ मूल्यबराबरको धनमाल नष्ट भएका छन् ।