१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:५१:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:५१:००

ढाकामा बढ्दै छ सबैको आकर्षण 

रोविन परियार सेलेब्रिटी फेसन डिजाइनर

दसैँमा प्रायः धेरैले परम्परागत कपडा नै लगाउन मन पराउँछन् । त्यसैले, ढाकाबाट बनेका कपडाको माग बढ्दो छ । महिला र पुरुष दुवैको रोजाइमा ढाकाका कपडा पर्ने गरेका छन् । विशेषगरी, हाम्रा चाडपर्व, विवाह–व्रतबन्ध र सांस्कृतिक कार्यक्रमहरूमा ढाकाको प्रयोग ज्यादा हुन्छ । 

ढाकाको कपडा अहिलेको मौसमअनुकूल पनि छ, किनकि दसैँपछि जाडो हुन्छ । ढाका बाक्लो हुन्छ र न्यानो हुन्छ । तिहार, ल्होसारलगायत विभिन्न चाडमा सांस्कृतिक कार्यक्रम पनि हुन्छन् र त्यतिवेला ढाकाका मौलिक कपडा लगाउँदा राम्रो पनि देखिन्छ । 

महिलाहरूले ढाकाको परम्परागत गुन्यु–चोलो, साडी मात्रै होइन, अहिलेको फेसनसुहाँउदो गाउन पनि बनाएर लगाउने गरेका छन् । त्यसैगरी, पुरुषले ढाकाको कोट, ज्वारी कोट, दौरा–सुरुवाल, सेरवानी बनाएर लगाउन रुचाउँछन् । 

बच्चाहरूलाई पनि आजकल चाडपर्वमा बाबुआमाहरूले मौलिक कपडा नै लगाइदिने गरेका छन् । छोराहरूलाई दौरासुरुवाल–टोपी, सेरवानी, कुर्तामा सुहाउँछ भने छोरीहरूलाई गुन्यु–चोलो, कुर्ता वा ढाकाकै गाउनमा राम्रो देखिन्छ । 

पुरुषका स्टाइलिस कुर्ता
पछिल्लो समय पुरुषले पनि कुर्ताको प्रयोग गर्ने चलन निकै बढेको छ । कुर्ता लगाउन पनि सजिलो हुन्छ । त्यसैले अधिकांश पुरुषको रोजाइमा पर्छ । दसैँमा पनि विभिन्न डिजाइनका कुर्ता बजारमा पाइन्छ । कुर्ताहरू विभिन्न डिजाइनमा उपलब्ध हुन्छन् । एम्ब्रायडर्ड कुर्ता प्याटर्न, एसिमेट्रिक, एसिमेट्रिक कट, डेनिम स्टाइल, ज्याकेट स्टाइललगायत विभिन्न डिजाइन अहिले चलेका छन् । आजभोलि प्लेन कुर्ताको साथमा एम्ब्रायडरी प्याटर्नको ज्याकेट पनि प्रयोग गरिन्छ । यस्तो कम्बिनेसनले लुक्सलाई निकै आकर्षक देखाउन भूमिका निर्वाह गर्छ ।

महिलालाई सुहाउँछ यस्ता पहिरन 

सुक्निता चौलागाईं फेसन डिजाइजर, भ्यालेन्टिनो द बुटिक  

अहिले ढाकाको चौबन्दी चोलीमा प्लेन सिफनको साडी मिलाएर लगाउने फेसन चलेको छ । विवाहितहरूले पोते, सिन्दूर, टीका, चुरा, मंगलसूत्र लगाउने हुँदा चौबन्दी चोलीमा सिफनको साडी सुहाउँछ । नेपालीपन झल्कने फुल बाउलाको ढाकाको चौबन्दीमा सिम्पल साडी लगाउँदा पनि राम्रो देखिन्छ । सिफनको साडी, बोडरले साडीसँगै अग्रेन्द्र साडी पनि अहिले चल्तीमा छ ।  फुल सिल्भ भएको ब्लाउज, फ्लावर प्रिन्ट भएकोे अग्रेन्द्र साडी अहिले बजारमा चलेको छ । 

दसैँमा लेहेंगा धेरै कमले लगाउँछन् । लेहेंगा हेभी हुन्छ । दसैँमा हिँडडुल धेरै गर्नुपर्ने भएकाले मानिसहरूले बस्न, उठ्न सहज हुने हलुका कपडा रोज्छन् । लेहेंंगाको लुक्स आउने गरी सररा कुर्तामा माथिबाट सल राखेर पनि लगाउन सकिन्छ । त्यस्तै, सिम्पल लेहेंगामा सल राखेर साडी स्टाइल गरेर पनि लगाउन सकिन्छ । 

अहिले विशेषगरी अनारकली, गररा, सररा, अम्रेला, पाकिस्तानी कुर्तासुरुवाल, कुर्ता–पाइन्टको माग बढेको छ । त्यसैगरी, दसैँमा लगाउनका लागि ढाकाको चौबन्दीमा प्लेन सिफनको साडी, बोडरलेस गरेको साडी, अग्रेन्द्र साडी बजारमा आएका छन् । प्रायः जर्जेट, सिल्क, नेट र सिफनका कपडाबाट बनेका कपडाको माग बढेको छ । 

अम्रेला कुर्ता
अम्रेला कुर्ता–सुरुवाल अधिकांशको रोजाइमा परेको छ । अहिले त्यसमा ह्याडबेरी पनि चलिरहेको छ । अनारकली, अम्रेलामा चुरिदार सुरुवाल लगाउन सकिन्छ भने प्लाजो टाइपको पाइट पनि लगाउन सकिन्छ । 

पाकिस्तानी कुर्ता 
अहिले पाकिस्तानी डिजाइनका कुर्ता–सुरुवाल पनि चल्तीमा छ । यसमा कुर्ता घुँडासम्म आउने हुन्छ । अनि लुज फिटिङ पनि हुन्छ । लुज फिटिङमा पाइन्ट स्टाइलको सुरुवाल हुन्छ । 

सररा र गररा कुर्ता
सररा र गररा कुर्ता  पनि चल्तीमा रहेको कुर्ता हो । यसमा छोटो–छोटो कुर्ता हुन्छ । सररामा अम्रेला कुर्ता पनि चल्तीमा रहेको छ । अधिकांशको रोजाइमा परेको यो कुर्ता करिब एक वर्षदेखि चल्तीमा रहेको छ ।