मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Thursday, 19 December, 2024
गोंगबुस्थित नयाँ बसपार्क काउन्टरमा टिकट काट्न पुगेका यात्रु ।
शिवहरि घिमिरे काठमाडाैं
२o७९ असोज ११ मंगलबार o६:४९:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

घटस्थापनाका दिन एक लाख २० हजारले छाडे उपत्यका

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार o६:४९:oo

पाँच लाख बस टिकट अग्रिम बुकिङ, बसपार्ककै काउन्टरमा टिकट नपाउँदा यात्रु मारमा

घटस्थापनासँगै दसैँ मनाउन उपत्यका बाहिरिनेको संख्या बढ्न थालेको छ । घटस्थापनाको दिन सोमबार करिब एक लाख २० हजार यात्रुले उपत्यका छाडेका छन् । आइतबार नौ हजार तीन सय ६४ गाडीमा ६४ हजार एक सय १० यात्रु बाहिरिएका थिए । सामान्य अवस्थामा दैनिक २० हजारले उपत्यका छाड्ने भएपछि दसैँको वेलामा यो संख्या बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सोमबार उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधन संख्या आठ हजार ६ सय १२ छ । यसमा ४८ हजार दुई सय ३० यात्रु भित्रिएका हुन् । मंगलबारदेखि उपत्यका बाहिरिने संख्या बढ्दै जाने र भित्रिने संख्या कम हुनेछ । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्ने ट्राफिक प्रहरी बताउँछन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना सुरु भएपछि अघिकांश विद्यार्थीहरूले उपत्यका छाडेका छन् । जागिरे, व्यापारीलगायतले फूलपातीपछि उपत्यका छाड्छन् । 

यात्रुहरूको चाप बढ्न सक्ने भएकाले यातायात व्यवस्था विभागले सोमबारदेखि ‘रुट फ्री’ गरेको छ । यस अवधिमा जुनसुकै यात्रुवाहक बस जुनसुकै रुटमा गुड्न पाउनेछन् । यात्रुको संख्या अत्यधिक हुने र नियमित गाडीले मात्रै नथेग्ने भएकाले रुट फ्री गर्नुपरेको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार दसैँ नजिकिँदै जाँदा उपत्यका छाड्नेको संख्या बढ्दै जान्छ । यस अवधिमा यात्रुलाई टिकट सहजताका लागि नयाँ बसपार्कमा सयभन्दा बढी स्थानमा टिकट काउन्टर राखिएको छ । यसबाहेक अधिकांश बस व्यवसायीहरूले अनलाइनबाट पनि टिकट बुक गर्न सकिने व्यवस्था मिलाएका छन् । 

विभागका अनुसार हाल देशभर जम्मा ४८ लाख सवारीसाधन छन् । यसमा साना–ठूला गरी साढे तीन लाख यात्रुवाहक सवारीसाधन छन् । मिनीबस र ठूला बसको संख्या झन्डै एक लाख २० हजार छ । त्यसमा पनि एसी सुविधा भएका डिलक्स बसको संख्या १० हजारभन्दा धेरै छ । तर, यतिले मात्रै दसैँको वेलामा थेग्दैन । विभागका अनुसार दसैँको वेला दैनिक सात हजार लामो दूरीका बस गुड्छन् । यसबाहेक अन्य तीन हजार मध्यम दूरीका बस छन् । यी सबैखाले यात्रुवाहक सवारीसाधनमा दसैँको वेला करिब २० लाख मानिसले उपत्यका छाड्नेछन् । 

यातायात व्यवस्था विभाग र उपत्यका ट्रापिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न नाकामा चेकजाँचमा कडाइ गरेको छ । त्यसका लागि करिब १० हजार प्रहरी उपत्यकाका नाकामा परिचालन गरिएको छ । दसैँको वेला छतमा यात्रु राख्न नदिने, लामो दूरीका बसमा दुईजना चालक हुनुपर्ने, बिमा नभएका यात्रुवाहक सवारीसाधन चल्न नदिने, सवारीसाधनको कन्डिसन जाँच गर्नुुपर्नेजस्ता नियम बाध्यकारी बनाइएको छ । 

६ सडक पूर्ण र २२ आंशिक रूपमा अवरुद्ध 
सडकका कारण यसपटक पनि दसैँको यात्रामा यात्रुहरूले सास्ती खेप्नुपर्ने भएको छ । अहिले देशका मुख्य राजमार्गमा सडक भत्किएर खाल्डैखाल्डा छ । पिच भएकामध्ये पनि ५० प्रतिशत सडकको कालोपत्रे उप्किएर कच्ची सडकझैँ छन् । यसपटक यात्रुले सबैभन्दा बढी सास्ती नारायणघाट–दाउन्ने–बुटवल सडक खण्डमा खेप्नुपर्ने छ । सामान्य अवस्थामा चार घन्टामा पार गर्न सकिने सडक अहिले झन्डै आठ घन्टा लाग्छ । सडक चौडा पार्ने काम भइरहेकाले अस्तव्यस्त भइरहेको हो ।

त्यस्तै, आबुखैरेनी–कोत्रे सडकखण्डको ७५ किमि पनि अस्तव्यस्त छ । हाल यो सडकको पनि कालोपत्रे उप्किएको छ । पथलैया अमलेखगन्ज–कोसी ब्यारेजसम्मको सडक पनि कच्ची छ । काठमाडौंदेखि नुवाकोट जाने पासाङल्हामु सडक खण्डमा पनि अहिले खाल्डैखाल्डा छन् । दसैँ नजिकिँदै गर्दा हाल देशभरका महŒवूर्ण ६ सडक पूर्ण रूपमा र २२ आंशिक रूपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुंगेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।

आइतबार र सोमबार ३१ वटा यात्रुवाहक सवारीमाथि कारबाही
उपत्यका ट्राफिक प्रहरी कार्यायलले नियम मिच्ने र सवारी जाँचविनै गुडेका यात्रुवाहक सवारीलाई नियन्त्रणमा लिएको छ । आइतबार भक्तपुरको जगातीबाट दुईवटा माइक्रो र १३ वटा टाटासुमो नियन्त्रणमा लिएको हो । यी सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेको र सवारी जाँच नगरेको भेटिएपछि ट्राफिक प्रहरीले कारबाही गरेको थियो । त्यस्तै, सोमबार थानकोटबाट १६ यात्रुबाहक सवारीसाधन ट्राफिकले नियन्त्रणमा लिएको छ । यसमध्ये आठवटा बस, पाँचवटा मिनीबस र तीनवटा टाटासुमो छन् ।

पाँच लाख ५० हजार टिकट बुकिङ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले हाल पाँच लाख पचास हजार टिकट बुकिङ भइसकेको बताए । अब बुकिङका लागि बाँकी टिकट नै छैनन् । रुट फ्री भएपछि भने बसको संख्या बढ्ने भएकाले टिकट सहजै पाइने उनको भनाइ छ । ‘अहिले सडक अव्यवस्थित छ, समयमा गाडी गन्तव्यमा पुग्दैनन्, त्यसैले यात्रुले सास्ती पाएका हुन्,’ उनले भने, ‘अहिले टिकट बुकिङ पनि सकिएको छ ।’

व्यवसायीले टिकट लुकाउँदा सर्वसाधारणलाई सास्ती 
गुल्मीका विवेक अधिकारी सोमबार बिहानै टिकट बुकिङ गर्न नयाँ बसपार्क पुगे । उनले १४ असोजका लागि टिकट बुकिङ गर्नुपर्ने थियो । तर, टिकट सकिएको भन्दै उनलाई काउन्टरबाट टिकट दिइएन । अनलाइनमा पनि टिकट बुकिङ नभएपछि उनी सोमबार बसपार्क धाएका थिए । ‘मैले २ असोजदेखि नै अनलाइनबाट टिकट बुकिङ गर्न खोजेको थिएँ, तर अनलाइनमा राखिएका टिकट एकदिनमै सकिएछन्,’ उनले भने, ‘तर बसपार्क आउँदा पनि टिकट पाइएन ।’ 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात व्यवस्था विभागले भने टिकट सहजै पाइने दाबी गर्दै आए पनि दसँैको सुरुवातमै टिकट पाउन मुस्किल देखिएको छ । अनलाइनमा राखिएका टिकट बुकिङ प्याक भइसकेपछि बसपार्कमै टिकट बुक गर्न गएकाहरू टिकट नलिई फर्कने गरेका छन् । सबैजसो रुटको टिकट बुक भएको भन्दै व्यवसायीले टिकट नै नदिएको उनीहरूको गुनासो छ । 

अझ ११ असोजदेखिको टिकट पाउन त मुस्किल छ । भएका टिकट सकिएको बताउँदै व्यवसायीले यात्रुलाई टिकट दिएका छैनन् । तर, यातायात व्यवस्था विभागका महानिर्देशक पाण्डेयले टिकट लुकाउनेलाई कारबाही हुने दाबी गरे । ‘हामीकहाँ यात्रुहरूको गुसानो आयो भने कारबाही हुन्छ,’ उनले भने, ‘कतिपयले गुनासो नै गर्नुहुन्न ।’ उनका अनुसार टिकट बुकिङ नगरेका यात्रुहरूले पनि सहज रूपमा सिट पाउने अवस्था सिर्जना गर्न व्यवसायीलाई विभागले निर्देशन पनि दिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि उपत्यका बाहिरिनेको संख्या अत्यधिक बढेको बताए । उनले टिकट लुकाउने र चर्को भाडा असुल्नेमाथि पनि ट्राफिक प्रहरीले निगरानी बढाएको दाबी गरे ।

यातायात व्यवस्था विभागले उपत्यकाका २४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । तर, ती यात्रु सहायता कक्षमा भनेको वेला न त प्रहरी भेटिन्छन्, न त यातायात व्यवस्था विभागका कर्मचारी नै । टिकट नपाएर भौँतारिरहेका यात्रुहरूलाई सहायता कक्षले सहयोगसमेत गर्न नसकेको यात्रुहरूको गुनासो छ । विभागले कोटेश्वर, गौशाला, चाबहिल, बालाजु, नागढुंगा, जगाती, फर्पिङलगायत स्थानमा सहायता कक्ष राखेको छ । यी उपत्यकाबाट बाहिरिने मुख्य नाका पनि हुन् । तर, नाकामा मात्रै यात्रु सहायता कक्ष हुँदा व्यवसायीले मनपरी गर्ने गरेका छन् ।