मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
काठमाडौं महानगरले उत्खनन गरेको टुकुचा खोला । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज ६ बिहीबार ०७:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टुकुचा छोप्ने डुँड ऐतिहासिक : इन्जिनियरिङ नबिथोल्न अनुसन्धानकर्ताहरूको आग्रह

पुरातत्व भन्छ– सय वर्ष नाघेको संरचना ऐतिहासिक हुन्छ , अन्य खोलाजसरी टुकुचा पनि बग्न पाउनुपर्ने महानगरको जिकिर

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज ६ बिहीबार ०७:००:००

१३० वर्षअघि तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालामा जयनेपाल हलदेखि कमलादीसम्मको टुकुचा खोला भूमिगत गर्न बनाएको संरचना(डुँड)निकै ऐतिहासिक रहेको मानिएको छ । आर्किटेक्ट इन्जिनियर तथा खोजकर्ताहरूले गुम्बज शैलीमा बनेको यो संरचना ज्यादै महत्वपूर्ण रहेकाले इन्जिनियरिङ नबिथोल्न आग्रह गरेका छन् ।उपत्यकाका खोला तथा नदीनालाविज्ञ आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर जोशीले टुकुचालाई भूमिगत गर्न बनाएको संरचनाबारे थप अध्ययन हुनुपर्ने बताए । ‘यसको भित्री संरचना निकै महत्वपूर्ण छ,’ उनले भने, ‘नेपालमा त्यतिवेलै यति गज्जबको इन्जिनियरिङ रहेछ ।’ 

उपत्यकाका ढुंगेधारा तथा खोला अनुसन्धानकर्ता शुशील श्रेष्ठले गुम्बज शैलीमा टुकुचामा बनाएको भित्री संरचना दुर्लभ मान्निन्छ । यो शैली निकै मजबुत पनि हुन्छ । करिब पाँच सय मिटरमा बनाएको उक्त संरचना ऐतिहासिक र पुरातात्विक  हिसाबमा पनि उत्तिकै महत्वपूर्ण रहेको श्रेष्ठको दाबी छ । उनका अनुसार गुम्बज शैलीमा संरचना बनाउँदा सुर्की, चुना, माटो, र इँटाको समिश्रण गरिन्छ ।

अझ त्यसलाई भिजाएर मापदण्डअनुसार प्रयोग गरिएकाले उक्त संरचना ढलान गरेकोभन्दा पनि बलियो छ । खोला बग्न बनाइएको उक्त संरचनामा लगाइएको गाह्रोको मोटाइ करिब १४ देखि २० इन्चको छ । ‘यो संरचना खाली खोला लुकाउन मात्रै बनाइएको होइन, किनभने यस्तो संरचना बनाउन निकै खर्चिलो हुन्छ,’ उनले भने, ‘अहिले यतिको संरचना बनाउन एक अर्बभन्दा बढी खर्च लाग्छ । त्यसैले यो बनाउनुको खास कारण हुन सक्छ ।’ उनका अनुसार यदि खोला लुकाउनकै लागि हो भने त्यतिवेला ढुंगा पनि छाप्न सकिन्थ्यो । तर, इँटा र माटो प्रयोग गरेर यस्तो फरक संरचना किन बनाइयो ? त्यसबारे अध्ययन जरुरी रहेको श्रेष्ठको भनाइ छ । 

अध्ययन गर्दै पुरातत्व, अध्ययन अवधिसम्म खोला बग्ने संरचना नभत्काउन आग्रह 
पुरातत्व विभागले टुकुचा खोलाको अध्ययन थालेको छ । काठमाडौं महानगरपालिकाले भत्काउन थालेको जयनेपाल–कमलादी खण्डमा विभागले अध्ययन सुरु गरेको हो । राणाकालीन टुकुचाको ऐतिहासिक पक्ष अध्ययनका लागि टोली खटाएको पुरातत्वका प्रवक्ता रामबहादुर कँुवरले जानकारी दिए । पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीको संयोजकत्वमा अध्ययन थालिएको उनले बताए  ।

टोलीले एक सातामा प्रतिवेदन पेस गर्नेछ । ‘टुकुचामा निर्माण गरिएको डुँड सय वर्ष पुरानो भएकाले त्यसको अध्ययन थालेका छौँ,’ उनले भने, ‘त्यस अवधिसम्म महानगरलाई खोला बगाइएको डुँड नभत्काउन आग्रह गरेका छौँ ।’०६५ सालमा लागू भएको प्राचीन स्मारक संरक्षण ऐनले एक सय वर्ष पुराना संरचनालाई ऐतिहासिक मान्छ । ऐनअनुसार कुनै पनि संरचना सय वर्ष पुरानो छ भने त्यसलाई भत्काउन मिल्दैन । यदि अध्ययनले ऐतिहासिक वा प्राचीन हो भन्ने पुष्टि गरे महानगरलाई उक्त संरचना (डुँड) भत्काउन नदिने प्रवक्ता कुँवरको भनाइ छ । 

हचुवामा महानगरले भत्काउनुहुन्न
सुशील श्रेष्ठ, ढुंगेधारा तथा नदीनाला अनुसन्धानकर्ता

टुकुचाको पाँच सय मिटर किन गुम्बज शैलीमा बनाइयो यसबारेमा अध्ययन गर्न जरुरी छ । यो संरचना खोला लुकाउन मात्रै बनाइएको होइन । किनकि, यो ज्यादै बलियो र खर्चिलो हुन्छ । कि त यसले त्यतिवेला निकै दुःख दिएको हुनुपर्छ कि त अन्य कारण हुन सक्छ । यसबारे महानगरले अध्ययन गर्नुपर्छ । हचुवाका भरमा भत्काउनुहुन्न ।

संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्–  खोलाकै रूप कायम गर्नुपर्छ 
संस्कृतिविद् सत्यमोहन जोशीले यसको ऐतिहासिक पक्ष हेरेर संरक्षण गर्नुभन्दा पनि खोलाकै रूपमा कायम गर्नुपर्ने धारणा राखे । उतिवेला नै राजाहरूले खोलालाई बंग्याउँदा त्यसको समस्या अहिले देखिएको उनको भनाइ छ । ‘खोला सधैँ स्वतन्त्र हुनुपर्छ, तर इच्छुमती (टुकुचा)लाई राणा र राजाकालीन समयमै खुला बग्न दिइएन,’ मानिसको जीवन र सभ्यता जोडिएका नदीनाला संरक्षण गर्नु हाम्रो दायित्व हो, स्वतन्त्र ढंगले बग्न दिनुपर्छ ।’

काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर पनि संस्कृतिविद् जोशीको भनाइमा सहमत छन् । उनले टुकुचालाई पनि अन्य खोलाजसरी खुला र स्वतन्त्र हुन दिनुपर्ने बताए । ‘काठमाडौं महानगर टुकुचा खाली गर्ने अभियानमा छ,’ उनले भने, ‘पानी बगाउन बनाइएको पुरानो संरचना नभत्काए पनि आसपासका संरचना निरन्तर भत्काउँछौँ ।’ 

 के होला महानगरको कदम ?
काठमाडौं महानगरपालिकाले अधिकारीसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अनुसन्धान प्रतिवेदनमा टेकेर गत बिहीबारदेखि टुकुचा उत्खनन गरिरहेको छ । तर, टुकुचामाथिका संरचना भत्काएर खोला खाली गर्ने महानगरको उक्त कदमप्रति मिश्रित टीकाटिप्पणी आउन थालेका छन् ।
कतिपयले खोला खाली गर्नुपर्छ भनेका छन् भने कतिपयले टुकुचाको संरचना ऐतिहासिक भएकोले संरक्षण गर्नुपर्ने बताएका छन् । केहीले यसको व्यवस्थापन निकै खर्चिलो हुने भएकाले जहाँजहाँ खाली छ त्यहाँ व्यवस्थित पार्ने र खोलामाथि पक्की घर बनाउनेलाई क्षतिपूर्ति भराउनुपर्ने सुझाब महानगरलाई दिएका छन् । 

 उच्च अदालतले महानगरसँग प्रमाण माग्यो
उच्च अदालत पाटनले टुकुचा खुला गर्ने र अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा काठमाडौं महानगरसँग प्रमाण माग गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार ‘प्रमाण मिसिल झिकाउने’ आदेश जारी गरेको हो । यसअघि घरधनीले दिएको रिटको सुनुवाइ गर्दै शुक्रबारका लागि पेसी तोकिएको छ । कामपाले हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन र व्यक्तिका घरटहरा भत्काउन थालेपछि अदालतमा रिट परेको थियो । उच्च अदालतले नक्सापासलगायतका प्रमाण माग गरेको छ ।

 योजनाविनाको टुकुचा उत्खननको औचित्य छैन : अनुसन्धानकर्ता 
कतिपय विज्ञहरूले विनायोजना महानगरले टुकुचा उत्खनन सुरु गरेको टिप्पणी गरेका छन् । अनुसन्धानकर्ता पद्मसुन्दर जोशीले विनायोजना यसरी मध्यसहरमा टुकुचा खोज्नुको अर्थ नहुने बताए । उनले भत्काउने वा खोला व्यवस्थित गर्ने कार्य शिर वा पुछारबाट सुरु गर्न सुझाव दिए । ‘खोलालाई खुला गर्नुपर्छ, शिरदेखि पुछारसम्म के छ अवस्था हेरेका छैनन्,’ उनले भने, ‘प्लान नै नबनाई मध्यसहरमा टुकुचा उत्खनन गर्दा त्यसको औचित्य देखिँदैन ।’ 

उनका अनुसार पुरानो खोलालाई भत्काउँदा महानगरले विज्ञ र अन्य सरकारी निकायसँग समेत राय सुझाव नलिई भत्काउनु व्यावहारिक देखिँदैन । यदि टुकुचालाई व्यवस्थित पार्ने हो वा खुला गर्ने हो भने त्यो काम महानगरले मात्रै गर्न सक्दैन । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, पुरातत्व विभाग तथा अन्य सम्पदा र खोलानालासम्बन्धी विज्ञहरूसँग राय सुझाव लिनुपर्ने उनको भनाइ छ ।