१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ४ मंगलबार १३:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चार महिनामा सात अर्ब २० करोडको विद्युत् निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १३:५८:oo

चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा नेपाल विद्युत् प्राधिकरणले झन्डै साढे दुई अर्ब रुपैयाँबराबरको विद्युत् भारत निर्यात गरेको छ। प्राधिकरणले भदौ महिनामा आन्तरिक खपतपछि बाँकी २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको जनाएको छ।

प्राधिकरणले गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। त्यसयता प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। 

प्राधिकरणले सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक आइएक्समा बिक्री गरेको थियो । त्यसपछि २७ जेठबाट दैनिक ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक तीन सय ६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।

हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकम (भारु)बाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘चालू आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौँ। मंसिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ,’ घिसिङले भने।

थप सय मेगावाट निर्यात प्रस्ताव
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् आइएक्सको डेअहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ। प्राधिकरणले केही दिनअघि चार जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो।

यसअघि प्राधिकरणले चार जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो। थप चार जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले आठ जलविद्युत् आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेस गरेको हो ।

ad
ad
ad
ad