मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ २८ मंगलबार o९:o२:oo
Read Time : > 8 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

हामी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा केन्द्रित हुन्छौँ

Read Time : > 8 मिनेट
२o७९ भदौ २८ मंगलबार o९:o२:oo

औद्योगिक व्यावसायिक घराना पञ्चकन्या ग्रुप ५०औँ वर्षमा प्रवेश गरेको छ । पाँच दशकअघि इलामका प्रेमबहादुर श्रेष्ठले स्थापना गरेको ग्रुपले अहिले स्वर्णजयन्ती मनाइरहेको छ । पञ्चकन्या खासगरी फलामे छड (डन्डी), पाइप र फिटिङ्स, ट्यांकी, रेडिमेड कंक्रिटलगायत उत्पादनमा ‘पायोनियर’ छ । पछिल्लो समय ग्रुपले अटोमोबाइल, जलविद्युत्, सिमेन्टलगायत क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ । ग्रुपको स्वर्णजयन्तीका अवसरमा पञ्चकन्याको स्थापना, हालसम्मका उपलब्धि र भावी योजनाका विषयमा केन्द्रित रहेर पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठसँग नयाँ पत्रिकाका कृष्ण रिजालनवीन अर्यालले  गरेको कुराकानी :

अहिले पञ्चकन्या ग्रुपले स्वर्ण जयन्ती मनाइरहेको छ । तपाईंको बुबाले पाँच दशकअघि स्थापना गर्नुभएको यस ग्रुपको प्रारम्भिक समयलाई कसरी सम्झनुहुन्छ ?
पाँच दशकअघि स्थापना भएको पञ्चकन्या आजको दिनमा नेपालमा चिरपरिचित औद्योगिक व्यावसायिक समूहको रूपमा स्थापित भएको छ । यसको सुरुवात मेरा बुबा प्रेमबहादुर श्रेष्ठले नै गर्नुभएको हो । हामी सानो हुँदादेखि नै बुबाले व्यापार गर्नुभएको हो ।हाम्रो पुख्र्यौली घर इलाममा हो । बाजे सानैमा बितेपछि पारिवारिक जिम्मेवारी बुबाको काँधमा आइप¥यो । पछि बुबाहरू फिक्कल झर्नुभयो । त्यहाँ किराना पसल चलाउनुभएको थियो । किराना पसल भए पनि लत्ताकपडादेखि अन्य सामग्रीसमेत राखिएको थियो । पशुपतिनगर बोर्डरबाट नजिकै रहेको सुकेपोखरी भन्ने ठाउँ र दार्जिलिङबाट घोडामा सामान ल्याएर बिक्री गर्नुहुन्थ्यो ।

बुबा राजनीतिमा पनि लाग्नुभएको थियो, कांग्रेसमा लागेकै कारण उहाँविरुद्ध पक्राउ पुर्जी पनि काटिएको थियो भन्ने कुरा पछि बुबाले नै सुनाउनुभयो । त्यसवेला कांग्रेसका तत्कालीन नेताहरू बिपी कोइरालालगायतसँग उहाँको राम्रै सम्बन्ध भए पनि व्यापारमै लाग्नुभयो । उहाँ एकदम मिहिनेती, इमानदार र दृढ स्वभावको । नाम र इज्जत कमाऊँ भन्ने सोच भएको । बुबाले ‘आफ्नो ठाउँ फिक्कलमै बस्यो भने जेठादाइ वा प्रेम दाइ मात्रै भनेर चिनिनेछु, अब थप परिचय बनाउन फिक्कल छाड्नुपर्छ’ भन्ने ठान्नुभएछ । त्यसपछि हामी झापा झर्‍यौँ । झापा झरेपछि पनि उहाँले फिक्कलतिर सामान पठाउनेलगायतको व्यापार गरिरहनुभएकै थियो । व्यापार गर्दैगर्दा ०२८ सालमा झापामा ‘राइस मिल’ र ‘स–मिल’ (काठको मिल) स्थापना गर्नुभयो । त्यसवेला सरकारले काठ कटानका लागि टेन्डर आह्वान गथ्र्यो, बुबा काठमाडौं आएर टेन्डर लानुहुन्थ्यो र काठ मिल चलाउनुहुन्थ्यो । 

त्यसवेला झापामा दुई–तीनओटा राइस मिल थिए, सबै मारवाडीका । राइस मिल स्थापना गर्ने बुबाको सोच र तयारीलाई कतिपयले उडाएछन् । त्यही इखले पनि होला, उहाँले अटोमेटिक र ठूलो मिल स्थापना गर्नुभयो । बिर्तामोडमा नरेन्द्रप्रसाद रिजाललगायतको करिब ४० बिघा जग्गा खरिद गरेर राइस मिल राखिएको थियो । ०३०/३१ तिर नै काठ मिलबाट भारतमा रेलवे ट्र्याक बनाउन सरकारबाट टेन्डर हात पारेर प्लट किन्दै टिम्बर निर्यात गर्नुहुन्थ्यो । चामल पनि निर्यात भयो । केरलासम्म चामल निर्यात गरेको बुबा बताउनुहुन्छ । 

अनि किराना पसलबाट माथि उठेर काठ मिल र चामल मिल स्थापनासम्म आइपुग्दा पञ्चकन्या ग्रुपकै रूपमा उदाइसकेको थियो ? 
राइस मिल स्थापना त गरियो, तर नाम के राख्ने भन्ने कुरा आयो । फिक्कलमा एउटा आइतबारे भन्ने मन्दिर छ, त्यो पञ्चकन्याको मन्दिर हो । नामकै कुरा हुँदा मैले नै पञ्चकन्या नाम लिएपछि ‘त्यसो भए पञ्चकन्या नै राखौँ न त’ भन्ने कुरो आयो । यसरी रह्यो पञ्चकन्या नाम । पछि सरकारले ०३५/३६ सालतिर काठ कटानलाई रोक्ने/न्यूनीकरण गर्ने नीति लियो । त्यसपछि बुबाले काठ मिलको साटो अर्को व्यवसायको विकल्प खोज्नुभयो । 

राइस मिल राख्दा बुबाले नेपाल औद्योगिक निगमबाट १०–१५ लाख कर्जा लिनुभएको थियो । समयमै कर्जा चुक्ता गरेका कारण बुबालाई सबैले राम्रो मानेका थिए । नेपाल बैंकको महाप्रबन्धक आनन्दभक्त राजभण्डारीले बुबालाई फलामको काम गर्न सुझाव दिनुभएछ । त्यही वेला राजदरबारको सचिवकी छोरीसँग मेरो दाइको बिहेको कुरा चल्यो र भयो पनि । उहाँहरूको नेटवर्कले पनि थप काम गर्‍यो । त्यसवेला पूर्वमा एभरेस्ट रोलिङ मिल थियो, परवानीपुरमा हिमाल आइरन थियो ।

हिजोका दिनमा हामीले जति पनि उद्योग स्थापना गर्‍यौँ, अधिकांश विदेशी कच्चा पदार्थमा आधारित छन् । पञ्चकन्या अब स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा केन्द्रित हुन्छ । हामी अब पानी, कृषि, खनिज क्षेत्रमा जानुपर्छ, पञ्चकन्या ग्रुपले ती क्षेत्रमा लगानी सुरु गरिसकेको छ ।

पश्चिममा पहिलो र नेपालको तेस्रो डन्डी उद्योग हामीले भैरहवामा खोल्यौँ । मैले दार्जिलिङमा स्नातकसम्म पढी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेँ । म पनि पढाइ सकेर क्रमशः व्यवसायमा जोडिएपछि नयाँ उद्योग खोल्ने र भएकाको विस्तार गर्ने योजना बनाएँ । चाहनाले पनि काम ग¥यो । त्यसवेला एसजिपी खानेपानी पाइप र डन्डीको उद्योग खोलेका थियौँ । पाइपको कामचाहिँ साझेदारीमा गरेका थियौँ । सायद त्यो ०३८/३९ सालतिर होला । फलामको उद्योगचाहिँ ०४१/४२ तिर सुरु भए जस्तो लाग्छ । त्यसपछि यो उद्योगसहित हाम्रो उद्योग व्यवसाय व्यवस्थित तरिकाले अघि बढायौँ र पञ्चकन्या ग्रुपका रूपमा स्थापित हुन पुग्यो ।

ग्रुपको स्थापनाकालदेखि हालसम्मको ५० वर्षे यात्राका ‘टर्निङ प्वाइन्टहरू’ कस्ता रहे ?
०२८ सालदेखि हामीले विभिन्न खाले आरोह–अवरोह पार गरेका छौँ । ५० वर्ष भनेको सानो होइन । अहिले पञ्चकन्यालाई धेरैले चिन्छन् । र, आफूलाई पञ्चकन्याको प्रबन्ध निर्देशक भन्न पाउँदा गर्व महसुस गर्छु । हाम्रो ऐतिहासिक टर्निङ प्वाइन्ट भनेको ०२८ सालतिर काठ र राइस मिल खोल्नु नै हो । त्यसपछि अर्को महŒवपूर्ण टर्निङ प्वाइन्ट भनेको पञ्चकन्या स्टिल पनि हो, जुन हाम्रो ‘फ्ल्यागसिप’ प्रडक्ट पनि हो । हामीले धेरै द्रुत गति लिन चाहेनौँ, बिस्तारै अघि बढ्यौँ । सधैँ एक कदमअगाडि भन्ने नारा बनायौँ र नयाँ–नयाँ वस्तुको उत्पादन तथा व्यावसाय गर्‍यौँ । डन्डीमा पहिलोपटक टिएमटी सुरु गर्‍यौँ, स्टिल वाटर ट्यांक सुरु गर्ने पनि हामी नै हौँ, आरएमसीलगायत प्रडक्ट हामीले सुरुमा ल्याएका हौँ । हामी हाम्रो नाराअनुसार एक कदमअघि छौँ । अहिले भैरहवामा चार–पाँचवटा उद्योग छन् ।

काठमाडौं र अमलेखगन्जमा पनि छ । लगानीलाई विविधीकरण गर्दै जलविद्युत्, बैंकिङ, इन्स्योरेन्सलगायतमा पनि धेरथोर लगानी गरेका छौँ । हामी अति कम विकसित मुलुकका नागरिक । तर, मैले मुलुकलाई कहिल्यै गरिब सोचिनँ । हाम्रा नेताहरूसँग राम्रो भिजन हुने र भिजनअनुसार काम गर्ने हो भने यहाँ अथाह सम्भावना छ भन्ने लाग्थ्यो र अहिले पनि यही सोच्छु । सिंगापुर, इजरायलको विकास त्यहाँको लिडरसिपकै कारण सम्भव भएको हो । देश विकासको मुख्य आधार भनेको पूर्वाधार हो । पूर्वाधारका लागि निर्माण सामग्री चाहिन्छ । त्यसैले हामीले निर्माणसँग आवश्यक विभिन्न डन्डी, बिटुमिन, पाइप, रेडिमेड कंक्रिट (आरएमसी), ट्यांकीलगायत उत्पादनमा हात हाल्यौँ । जे–जति उद्योग चलाएका छौँ, ती अधिकांश निर्माणसँग सम्बन्धित छन् ।


बुबाले स्थापना गर्नुभएको पञ्चकन्यालाई तपाईंले एउटा उचाइमा पुर्‍याउनुभयो, अहिले पञ्चकन्यामा तेस्रो पुस्ताको उदय भएको छ । तेस्रो पुस्ताले पञ्चकन्यालाई कसरी अघि बढाउलान् ? 
अहिले मैले पहिलेकै गतिमा काम गरेको छैन । छोरा भतिजाहरूलाई क्रमशः जिम्मेवारी दिइरहेको छु । उनीहरूले पनि राम्रो काम गरिरहेका छन् । हामी दोस्रो पुस्ता उनीहरूका लागि ब्याकअप हौँ । पञ्चकन्याले अझै सिँढी चढ्ने ठाउँ देखेको छु । तेस्रो पुस्ताले यसलाई थप उचाइमा पुर्‍याउनेमा विश्वस्त छु ।पञ्चकन्याले एउटा ख्याति कमाइसकेको छ, त्यसलाई जोगाउँदै अघि बढ्नु चानचुने कुरो होइन । अर्कोतर्फ यो ख्याति व्यवसाय प्रवद्र्धनको एउटा अवसर पनि हो । यसर्थ, मिहिनेत गरेर बनाएको ब्रान्ड इमेज जोगाउँदै पञ्चकन्यालाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी तेस्रो पुस्तामा छ ।

पञ्चकन्याले सुरुदेखि हालसम्म पैसाभन्दा पनि इज्जत कमाउनमा बढी ध्यान दिएको छ । अहिले धेरै कुरा परिवर्तन भएको छ । कोभिडपछि काम गर्ने शैली फेरियो । परिवर्तनलाई आत्मसात् गर्दै हिजोको व्यवस्थापन गर्ने शैलीले उद्योग–व्यवसाय चल्दैनन् भनेर हामीले तेस्रो पुस्तालाई अघि सारिरहेका छौँ । उनीहरूले नयाँ सोच र दृष्टिकोणका साथ हाम्रा उद्योग व्यावसाय अघि बढाइरहेका छन् ।

 

तपाईंहरू निर्माणजन्य उत्पादनमूलक उद्योगमा जम्नुभयो । अब तेस्रो पुस्ता बिजनेस डाइभर्सिटीमा जुटेको हो ?
हाम्रो उद्योग पनि छ, व्यापार पनि । ट्रेडिङमा मोटरसाइकल, हेभी इक्विपमेन्ट छन् । तेस्रो जेनेरेसन आइटी क्षेत्रमा लागेको छ । स्थापित भइसकेको उत्पादनमूलक उद्योग सिस्टममा चल्न थालेको छ, जसलाई कर्मचारीले पनि चलाउन सक्छन् । अब नयाँ पुस्ताले फरक खालको बिजनेसमा दिमाग घुमाउनुपर्छ । समयसँगै व्यावसायिकतामा पनि ठूलो परिवर्तन आइसकेको छ । यहाँ उत्पादन गरेको वस्तु अनलाइन प्लेटफर्ममार्फत नै विश्वभरि पुग्न थालेको छ । पहिले कुनै पनि उद्योग कम्पनीको प्रोफिट कम्पनीका सञ्चालकले मात्र खान्थे । अहिले आइपिओ जारी गरेर पब्लिकमा गइरहेका छन् । पछिल्लो समय कुनै पनि कम्पनी वा उद्योगको अनरसिप पब्लिकमा पनि जान थालेको छ । हामी पनि पञ्चकन्याको आइपिओ जारी गर्ने कि भनेर सोचिरहेका छौँ । 

देशका पुरानामध्येको पञ्चकन्या स्टिल उद्योगलाई पछि स्थापना गरिएका उद्योगहरूले धेरै पछाडि पार्न थालिसके नि ! किन उद्योगको क्षमता बढाउनेतर्फ सोच्नुभएन ?
हामीले एक्स्पान्सन गर्दैनगरेको भने होइन । सुरुमा वार्षिक १० हजार टन क्षमता थियो । क्रमशः क्षमता बढाएर ५० हजार टन हुँदै एक लाख टन पुगिसकेको छ । अहिले अएका उद्योगहरूले स्क्र्याप पेलेर डन्डी उत्पादन गरिरहेका छन् । त्यो हाम्रो दिमागमा छैन । हामी कम्ती उत्पादन गर्ने तर राम्रो चिज उत्पादन गर्ने पक्षमा छौँ । आज डन्डीको गुणस्तरमा पहिलो नम्बरमा छौँ भने यसैमा अडिएर अगाडि बढ्छौँ । हामी नम्बर वानको भोल्युममा होइन, क्वालिटीमा जान चाहन्छौँ । विश्वबाटै फेजआउट भइसकेको प्रविधि ल्याएर स्क्र्याप पेलेर डन्डी बनाउने होडबाजीमा हामी लाग्दैनौँ । हामी डन्डीमा पायोनियर हौँ, पायोनियर नै रहन चाहन्छौँ । म मान्छु, आज हामीभन्दा धेरै डन्डी बिक्री गर्ने उद्योग आइसके । गएको आर्थिक वर्षको बजेटले राजस्वमा जुन किसिमले भेदभाव गरी फेरबदल गरियो, हामीजस्ता गुणस्तरीय डन्डी उत्पादन गर्ने उद्योगीलाई मार्ने काम भयो । तैपनि, हामी अस्वस्थ प्रतिस्पर्धामा लाग्दैनौँ । बरु उद्योग चलाउन नसके बन्द गरौँला, तर स्क्र्याप पेलेर गुणस्तरहीन डन्डी बिक्री गर्दैनौँ । 

हामी सबैभन्दा ठूलो करदाताभन्दा पनि सबैभन्दा बेस्ट (उत्कृष्ट) करदाता हौँ र आगामी दिनमा पनि हुनेछौँ । हामीले नाफाअनुसार राज्यलाई कर तिरिरहेका छौँ । धेरै कमाउने ठूलो करदाता हुन सक्छ, तर असल करदाता नहुन सक्छ । तर, हामी असल करदाता हौँ ।

भनेपछि बिलेट उत्पादन गर्ने योजना छैन ?
अहिले छैन । बरु बनाउनैपर्ने भयो भने आफ्नै देशको कच्चा पदार्थ प्रयोग गरेर बनाउँला । हाम्रो कच्चा पदार्थलाई रिफाइन गरी अलिअलि बाहिरबाट स्टिल ल्याएर बिलेट बनाउँछौँ । स्पन्ज आइरन, स्क्र्याप र मान्छे पनि बाहिरैबाट आयात गर्ने हो भने त्यसमा के भ्यालु एडिसन भयो त ? डन्डीको गुणस्तर पनि हुँदैन । जुन देशमा पानीजहाजको स्क्र्याप निस्कन्छ, ती देशमा मात्र अझै यही प्रविधि छ । नेपालमा स्क्र्याप छैन, बाहिरबाटै आयात गर्नुपर्छ । भूकम्पको जोखिमयुक्त देशमा गुणस्तरहीन डन्डी उत्पादन गर्न हुन्न ।

 जलविद्युत्, कृषि, खनिज, पानी प्रशोधनमा तपाईंको योजना के हो ?
हिजोका दिनमा हामीले जति पनि उद्योग स्थापना गर्‍यौँ, विदेशी कच्चा पदार्थमा आधारित छ । आज पनि त्यही छ । अब क्रमशः आन्तरिक कच्चा पदार्थमा आधारित उद्योग चलाउनुपर्छ । पञ्चकन्या अब स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा केन्द्रित हुनेछ । पानी, कृषि, खनिज क्षेत्रमा जानुपर्छ, हामी त्यतातिर लागिरहेका पनि छौँ । जलविद्युत्मा लगानी सुरु गरिसक्यौँ भने कृषिमा छिटै लगानी गर्दै छाैँ । खनिज क्षेत्रमा पनि जान्छौँ । मानव संसाधनलाई पनि पुँजीकरण गर्न सकिन्छ ।सिमेन्ट उद्योग राख्ने पहिल्यैदेखिको सोच हो । तर, हामीले सफलता पाउन सकेनौँ । उद्योग र खानीका लागि जग्गाको समस्या थियो, त्यो वर्षौंपछि सल्टायौँ । अहिले पनि सिमेन्ट उद्योगका लागि ६–७ सय रोपनी जग्गा लिएर साइटमा काम गरिरहेका छौँ । त्यो काठमाडौंबाट ४० किमिको दूरीमा छ ।कृषि हाम्रो पुख्र्यौली पेसा हो । हामी केही विशेष वस्तुको छनोट गरेर साझेदारीमा लाग्नेछौँ । उच्च मूल्य भएका कृषि वस्तु उत्पादन र निर्यातमा हामी लाग्ने सोच आगामी एक वर्षभित्र सफल होला ।

पछिल्लो समय ठूला घरानाहरू हस्पिटालिटी बिजनेसमा केन्द्रित देखिन्छन् । तपाईंहरूको पनि कुनै होटेल आउँदै छ कि ?
भैहरवामा पहिला प्लान गरेका थियौँ । दाइ भैरहवा नै बस्ने हुँदा केही सोचिरहनुभएको छ । नेपाल पर्यटकीय मुलुक भएकाले यस क्षेत्रमा लाग्ने तयारी भइरहेको छ । 
तपाईंहरू छडदेखि पाइप एन्ड फिटिङ, ट्यांकी, सिलिन्डरको उद्योगदेखि जलविद्युत् र अटोमोबाइल व्यापारमा पनि संलग्न हुनुहुन्छ । तर, आमउपभोक्ताले पञ्चकन्या भन्नेबित्तिकै फलामे छड मात्र सम्झन्छन् ।

तपाईंहरूले डन्डीलाई बढी फोकस गर्नुभएको हो कि अन्य उत्पादन लोकप्रिय हुन नसकेका हुन् ?
हामीले पञ्चकन्या स्टिलको फस्ट टिभी एड बनायौँ, जुन निकै चर्चित पनि भयो । त्यसले पञ्चकन्याको ब्रान्डिङमा ठूलो मद्दत गर्‍यो । कुनै पनि कम्पनीको फ्ल्यागसिप ब्रान्ड भन्ने पनि हुन्छ । हाम्रो फ्ल्यागसिप ब्रान्ड भनेको स्टिल नै हो । आज धेरै टर्नओभर पनि स्टिलकै छ । विज्ञापनले पनि धेरै फरक पार्ने रहेछ । पञ्चकन्या चिनिएको पनि स्टिलकै कारण हो । तर, अन्य उत्पादन पनि रुचाइएका छन् ।

उत्पादन, राजस्व, व्यापार र रोजगारीका हिसाबले देशको अर्थतन्त्रलाई पञ्चकन्याले कसरी योगदान गरिरहेको छ ?
हामी उद्योगमा लागेका हुनाले रोजगारीका साथसाथै रेभिन्युमा पनि उत्तिकै योगदान हुन्छ । हामी सबैभन्दा ठूलो करदाताभन्दा पनि सबैभन्दा बेस्ट (उत्कृष्ट) करदाता हौँ र आगामी दिनमा पनि हुनेछौँ । जसको जति नाफा छ, त्यति नै कर तिर्ने हो । आम्दानीअनुसारको कर राज्यलाई तिरिरहेकै छौँ । धेरै कमाउने ठूलो करदाता हुन सक्छ, तर असल करदाता नहुन सक्छ । तर, हामी असल करदाता हौँ । अहिलेको हिसाबले वार्षिक १५ अर्ब हाराहारीको टर्नओभर छ । त्यसमा सबैभन्दा ठूलो हिस्सा स्टिलको छ । त्यस्तै, २५ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छौँ । महिला कर्मचारीको संख्या पनि राम्रै छ । हामीले उत्पादनमूलक उद्योग चलाइरहेका छौँ । 

पञ्चकन्याले आफ्नो व्यावसायिक आकार बढाउँदै लगेको छ, यसमा संलग्न कर्मचारी तथा मजदुरको वृत्ति विकास पनि सोहीअनुसार भएको छ त ? श्रमिकको सुरक्षा तथा वृृत्ति विकासमा तपाईंहरूले के–के गर्दै आउनुभएको छ ?
साँच्चिकै भन्नुपर्दा पञ्चकन्याको भैरहवास्थित उद्योग अहिलेसम्म एक दिन पनि बन्द भएको छैन । कर्मचारीलाई आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गरेका छैनौँ । कर्मचारीलाई एउटा विकास साझेदारको रूपमा हेर्छौं, शोषण गर्दैनौँ । कर्मचारीलाई पनि पञ्चकन्यासँग आबद्ध भएर काम गर्दा सुरक्षित हुने विश्वास छ । सरकारी नियमले तोकेका सबै सेवा सुविधा दिइरहेका छौँ ।

यो ५० वर्षको अवसरमा पनि हामीले कर्मचारीका लागि विशेष कार्यक्रम गर्दै छौँ । यही अवसरमा कर्मचारीका परिवारलाई फ्री डेन्टल सर्भिस दियौँ । केही समय स्पोर्टस् विक भनेर मनाउँदै छौँ । कर्मचारी र उनका परिवार यहाँ आएर खेल्छन्, विजेतालाई अवार्ड गर्छौं । कम्पनीमा काम मात्र होइन, हेल्थ, सेफ्टी, इन्स्योरेन्स सुविधासँगै रिक्रिएसनल गतिविधिमा पनि सहभागी हुन पाइन्छ भन्ने कर्मचारीलाई विश्वास दिलाउन चाहन्छौँ । 

यहाँ ५० वर्षदेखि काम गर्ने कर्मचारी पनि छन् । अन्त गएका कर्मचारी पनि फेरि फर्किएका उदाहरण छन् । यहाँ पारिवारिक वातावरणमा काम गराउँछौँ । तर, हामीले पूरै पर्फेक्ट गरेको भन्ने होइन, कमजोरी भए सुधार गर्दै पनि जानेछौँ । हाम्रो अमलेखगन्जमा रहेको निजीकरण गरिएको सरकारी कम्पनी बिटुमिन एन्ड ब्यारेल उद्योगमा हडताल भइरहन्छ । सरकारबाट आएका कर्मचारी जहिल्यै बखेडा निकालेर हडताल गर्न खोज्छन् । पहिला कामै नगरी खाइरहेका कर्मचारीलाई अहिले काम गर्नुपर्दा गाह्रो भयो होला । त्यही भएर पनि एक–दुई उद्योग बन्द गर्ने सोचमा पनि छौँ । 

पञ्चकन्याले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) वहन कसरी गरिरहेको छ ?
हामीले केही न केही गरिरहेका छौँ । स्कुल बनाउनदेखि हेल्थ क्षेत्रलाई सहयोग गर्ने काम बुबाकै पालादेखि भइरहेको छ । हामीले ५० वर्ष पुगेको अवसरमा सातवटै प्रदेशलाई केही गर्ने सोच बनायौँ । झापाको दमकमा एउटा बाल अस्पताललाई सहयोग गर्दै छौँ । त्यो अस्पताल डा. भगवान कोइरालाको अभियानमा खुल्दै छ । कोभिडको समयमा पनि सहयोग गरेका हौँ । एउटा बिजनेसम्यान, पञ्चकन्याको हिसाबले पनि आफ्नो दायित्व निभाउनुपर्छ । आम्दानी र नाफाअनुसार आफ्नो सामाजिक उत्तरदायित्व निभाइरहेका छौँ ।

तपाईंले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्नुभयो । सार्ककै निजी क्षेत्रको संस्था मात्र नभएर एसिया प्यासिफिकको उच्च तहमा पुगिसक्नुभएको छ । एक अनुभवी उद्योगीका रूपमा अहिलेको देशको औद्योगिक व्यावसायिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अलि फराकिलो सोच भएको मानिस हुँ म । रोलिङ मिल एसोसिएसनको अध्यक्ष हुँदै नेपाल उद्योग वाणिज्य महासंघ र सार्क चेम्बर अफ कमर्सको नेतृत्व गरिसकेको छु, अहिले एसिया प्यासिफिक उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष छु । हाम्रो देशको समस्या भनेकै राजनीति भयो, जेमा पनि राजनीति । राजनीति र अर्थतन्त्र एक रथका दुई चक्का हुन्, देशका दुवै चक्का घुम्नुपर्छ । अहिले राजनीतिको चक्का मात्र घुमेको छ, जसले गर्दा रथ उही ठाउँमा छ । दुवै पांग्रा सँगै घुमाएर लैजान सके रथ अगाडि बढ्छ । अब रथ हाँक्ने पालो युवाको हो । बालेन्द्रको प्रयासले उत्साह थपेको देखिन्छ । हिजो बाबुराम भट्टराईले बाटो बढाउँदा धेरैले विरोध गरे, तर आज ठीकै गरेका रहेछन् भन्ने महसुस भएको छ ।