मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ २४ शुक्रबार ११:२५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ताप्लेजुङका किसान जडीबुटी खेतीतर्फ आकर्षित

Read Time : > 1 मिनेट
२०७९ भदौ २४ शुक्रबार ११:२५:००

ताप्लेजुङ फुङलिङ नगरपालिकाका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा विस्तार गर्न डिभिजन वन कार्यालयले अनुदान सहयोग गरेपछि किसान उत्साहित भएका हुन् ।

जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालय ताप्लेजुङले किसानलाई अनुदान दिँदै आएको छ । जडीबुटी खेती गर्न आर्थिक अनुदान पाएपछि किसान उत्साहित देखिएका हुन् । आर्थिक सहयोगले जडीबुटी खेतीका लागि ठूलो राहत मिलेको किसानले बताएका छन् । 

बहुमूल्य सतुवा, लौठसल्ला, तितेपाती, टिमुरलगायतका जडीबुटी खेती गर्न किसानले अनुदान सहयोग पाउँदै आएका छन् । अनुदान सहायता पाएपछि खेती विस्तार गर्नमा सहयोग पुगेको फुङलिङ नगरपालिका– ११ का किसान पूर्ण भट्टराईले बताए । 

अनुदान पाएपछि पाँच सय बिरुवा रोपेर सुरु गरेको लौठ सल्ला खेती विस्तार गरेको उनले बताए । चिराइतोको पनि दुई हजार बिरुवा रोपेको भट्टराईले बताए । उनले सतुवा खेती विस्तार गरेर अहिले १९ हजार बिरुवा रोपेको जानकारी दिए ।

यस्तै फुङलिङ नगरपालिका– ८ दोखुका कुमार लिम्बूले पनि अनुदान सहयोग पाएपछि जडीबुटी खेती विस्तार गरेका छन् । लिम्बूले पनि आफ्नो निजी जग्गामा सतुवा खेती गरेका छन् । 

यता, फुङलिङ नगरपालिका– ११ का पूर्ण भट्टराईले लौट सल्ला, चिराइतोलगायतका जडीबुटीको खेती गरेका छन् । पाथीभरा याङ्वरक गाउँपालिका– १ का किसान सनम गुरुङले पनि तितेपाती खेतीका लागि अनुदान पाएका छन् । केही वर्ष अघिदेखि तितेपाती खेती सुरु गरेका गुरुङले आर्थिक अनुदान पाएपछि खेती विस्तार गर्न थालेका छन् । जडीबुटी खेतीका लागि यसरी अनुदान पाएपछि जिल्लाका धेरै किसान उत्साहित भएका छन् ।

जडीबुटी खेती विस्तार तथा व्यवस्थापनमा अनुदान सहयोग पाउँदै आएका किसानको खेतीको अवस्था कस्तो रहेको छ सोबारेमा डिभिजन वन कार्यालयले वेलावेला अनुगमन गर्दै आएको छ । 

यता चालू आर्थिक वर्ष ०७८/७९ मा जडीबुटी खेती गर्न १० लाख रुपैयाँ प्रोत्साहनस्वरूप विभिन्न किसानलाई अनुदान सहयोग उपलब्ध गराएको डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार सतुवा, तितेपाती, चिराइतो, लौठसल्ला र टिमुरलगायत जडीबुटी खेती गर्ने ६ जना किसानलाई उक्त अनुदान उपलब्ध गराइएको हो ।