मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Wednesday, 18 December, 2024
हनुमानढोकामा बुधबार इन्द्रजात्राको लिंगो ठड्याउँदै । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार o८:o४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इन्द्रजात्रा सुरु : महानगरले बोलायो राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार o८:o४:oo

कोभिड महामारीका कारण चीनका भगिनी सम्बन्ध भएका नगरबाट भने पाहुना नआउने

उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा सुरु भएको छ । बुधबारदेखि इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको हो । हनुमानढोकामा बुधबार बिहान ७ः१७ मिनेटको साइतमा इन्द्रजात्राको लिंगो ठड्याएर शुभारम्भ गरिएको हो । 

इन्द्रजात्रा सुरु भएसँगै काठमाडौं महानगरपालिकाले यसको तयारी पूरा भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय पाहुनालाई निम्तो दिएको जानकारी दियो । महानगर प्रमुख बालेन्द्र साहले इन्द्रजात्राको अवलोकनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय नगरसँगै दक्षिण एसियाली मुलुकका राजधानी सहरका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको बताए । 

‘०७६ सालमा भगिनी सम्बन्ध भएका नगरबाट पाहुना बोलाउन थालिएको हो । यो असल कामको सुरुवात गर्ने तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो वर्ष हामीले इन्द्रजात्राको अवलोकनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय नगरसँगै दक्षिण एसियाली मुलुकका राजधानी सहरका प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकनका लागि निमन्त्रणा गरेका छौँ ।’ 

मेयर साहले इन्द्रजात्रा पर्यटकीय सम्भावनाको आकर्षण भएकाले यसको गरिमालाई देशभरि अपनत्व गराउन र अन्तर्राष्ट्रियस्तरमा समेत प्रवद्र्धन गर्न महानगरले जात्राको अवलोकनका लागि देशभित्र र बाहिरबाट पाहुना बोलाएको उल्लेख गरे । पर्वअन्तर्गत वन प्रस्थान, लिंगो नगर प्रवेश, इन्द्रध्वज उत्थानलगायतका कार्यक्रम सम्पन्न भइसकेको छ । 

इन्द्रजात्रा अवलोकनका लागि चीनबाहेकका भगिनी सम्बन्ध भएका नगरबाट पाहुना आउने भएका छन् । महानगरका अनुसार कोभिड संक्रमणदर बढिरहेका कारण चीनमा स्वास्थ्य मापदण्ड कडाइ गरिएको छ । महानगरको हालसम्म देशभित्रका पाँच नगरसँगै १८ अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध छ । भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगरहरूमा चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ छन् । 

अमेरिकाको बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेस्टर, जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, बेलारुसको मिन्स्क, म्यानमारको यांगुन, उत्तर कोरियाको प्योङयाङ, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ । महानगरले जात्रा अवलोकनका लागि उपत्यकाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा दिइसकेको छ । महानगरले जीवित देवी कुमारी, गणेश र भैरवको रथारोहणका, रथयात्रा, विभिन्न नाच, परम्परागत वेशभूषाको अवलोकनका लागि आग्रहसमेत गरेको छ । 

उपप्रमुख डंगोलको नेतृत्वमा महिलाले मात्र रथ तान्ने

इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानीचाया यात्रामा विभिन्न टोलका महिलाहरूको सहभागितामा रथ यात्रा सञ्चालन हुनेछ । जुन रथ यात्राको नेतृत्व महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्ने भएकी छिन् । महानगरका प्रवक्ता नवीन मानन्धरले ‘हामी पनि सक्छौँ’ भनेर विगतदेखि नै महिलाले रथ तान्न थालेको भन्दै यसलाई निरन्तरता दिने क्रममा यसपटक उपप्रमुख डंगोलले अगुवाइ गर्न लागेको बताए ।

‘विगतदेखि जात्रामा महिलाको विशेष भूमिका रहँदै आएको छ । महिलाले हामी पनि सक्छौँ है भन्दै गर्दा जात्राको अन्तिम दिन अर्थात् महिलाहरूले रथ तान्ने दिनमा उपमेयरज्यूको अगुवाइमा रथ तानिनेछ,’ उनले भने । ०६९ देखि इन्द्रजात्राको अन्तिम दिन महिलाले मात्र रथ तान्दै आएका छन् । यो वर्ष २९ भदौमा महिलाले मात्र रथ तान्नेछन् । सोही दिन राति ७ बजेर ३३ मिनेटमा इन्द्रध्वज पतन गरी जात्रा समापन गरिनेछ ।