१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दक्षिण र उत्तरबाट उच्चस्तरीय भ्रमण हुँदै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३९:oo

- १९ भदौमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे र २७ भदौमा चीनको जनकंग्रेसका अध्यक्ष ली झान्सु काठमाडौं आउँदै 

- भारतीय सेनापतिको भ्रमणपछि प्रधानसेनापति शर्मा चीन भ्रमणको तयारीमा

चीनको नेसनल पिपल्स कंग्रेस (राष्ट्रिय जनकंग्रेस)का अध्यक्ष ली झान्सु एसियाली दुई मुलुकको भ्रमणका क्रममा २७ भदौमा नेपाल आउँदै छन् । पछिल्लो ६ महिनामा चीनबाट तेस्रो भ्रमण हुन लागेको हो । भारतबाट सेनाध्यक्ष मनोज पाण्डे नेतृत्वको पाँचसदस्यीय प्रतिनिधिमण्डल १९ भदौमा आउँदै छ । त्यसको एक सातापछि चिनियाँ शीर्ष नेता आउन लागेका हुन् । 

अध्यक्ष लीले नेपाल र दक्षिण कोरियामा तीन–तीन दिन भ्रमण गर्ने कार्यक्रम छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी ३० भदौमा काठमाडौंबाटै दक्षिण कोरियाको तीनदिने भ्रमणमा जानेछन् । चीन–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सवका अवसरमा उनी कोरिया जान लागेको कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले लीको भ्रमण पुष्टि गरिन्, तर थप बताउन चाहिनन् । ‘उच्चस्तरीय भ्रमणको तयारी भइरहेको छ । विस्तृतमा अहिले भन्ने वेला भएको छैन,’ उनले भनिन् । 

चीनबाट कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख ली जियान्चाओले असार अन्तिम साता पाँचदिने नेपाल भ्रमण गरेका थिए । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण भएको थियो । अध्यक्ष ली पछिल्लो ६ महिनामा नेपालको उच्चस्तरीय भ्रमण गर्न लागेका तेस्रो चिनियाँ नेता हुन् । नेपाल बसाइका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेट गर्ने कार्यक्रम छ । उनले सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि बेग्लाबेग्लै भेटवार्ताको कार्यक्रम छ । चिनियाँ कम्युनिस्ट पार्र्टीको २०औँ महाधिवेशन ३० असोजमा तोकिनुअघि लीको भ्रमण हुन लागेको हो । 

प्रधानसेनापतिको चीन भ्रमणको तयारी
चिनियाँ समकक्षी ली जुयाओचेङको निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा चीन भ्रमणमा जाने तयारी हुँदै छ । भारतीय सेनापति मनोज पाण्डे नेपाल भ्रमण सकेर फर्किएपछि शर्माको चीन भ्रमणबारे दुई देशको सेनाले गृहकार्य गर्नेछ । प्रधानसेनापति शर्माले गत वर्ष नेतृत्व सम्हालेयता भारत र अमेरिकाको औपचारिक भ्रमण गरिसकेका छन्, तर उनको चीन भ्रमण भएको छैन । 

भारतीय सेनापति पाण्डे भोलि आउँदै
भारतीय सेनाप्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा पाँचसदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार काठमाडौं आउँदै छन् । अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपालबाट गोर्खा भर्ती रोकिएका वेला उनी आउन लागेका हुन् । 

पाण्डे नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रम रहेको सेनाले जनाएको छ । उनले राष्ट्रपति, प्रधानमन्त्री एवं उच्च सैनिक अधिकारीसँग नेपाल–भारत सैन्य सम्बन्धबारे छलफल पनि गर्नेछन् । 

‘भारतीय सेनाप्रमुखज्यूलाई सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ,’ सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले भने । 

सेनाप्रमुख पाण्डे पोखरास्थित नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टर र शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजको भ्रमणमा जाने कार्यक्रम पनि छ । स्टाफ कलेजमा उनले नेपाल–भारत सैन्य सम्बन्धबारे चर्चा गर्नेछन् । प्रधानसेनापति शर्मासँग उनले जंगी अड्डामा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

पाण्डेले भारतीय सेनाबाट नेपाली सेनालाई प्रदान गरिएको तथा भविष्यमा गरिने गाडीलगायतका सैनिक सामग्रीको सांकेतिक हस्तान्तरण कार्यक्रम पनि राखिएको प्रवक्ता सिलवालले बताए । 

भारत सरकारले ३१ जेठमा भारतीय सेनामा अग्निपथ नामक नयाँ भर्ती योजना लागू गर्ने निर्णय गरेको थियो । जसअनुसार अब सेनामा नयाँ भर्ती चार वर्षका लागि हुनेछ । त्यसबाट २५ प्रतिशत जनशक्तिलाई मात्रै सेनाले निरन्तरता दिनेछ भने बाँकी जनशक्तिलाई अर्धसैन्य बलमा प्रतिस्पर्धाका लागि अवसर दिनेछ । चार वर्षसम्म सैनिकलाई तलब–भत्ता उपलब्ध गराउनेछ भने अवकाशका वेला भारतीय रुपैयाँ करिब ११ लाख उपलब्ध गराउनेछ । यो योजना भारतीय गोर्खा सैनिकका लागि पनि लागू हुने भारत सरकारले जनाएको छ । 

नेपालले भने अग्निपथ योजनालाई गोर्खा भर्ती निरन्तरतासम्बन्धी १९४७ को त्रिपक्षीय सम्झौताले नचिन्ने भन्दै यसअघिकै प्रावधानअनुसार भर्ती निरन्तरता दिन मौखिक आग्रह गरेको छ । भारतीय सेनाप्रमुखको भ्रमणमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिले यस विषयमा चासो व्यक्त गर्ने स्रोतको भनाइ छ । ‘यसवेला दुई देशको सैन्य सम्बन्धको प्रमुख विषय नै अग्निपथ भएकाले यसमा छलफल नहुने भन्ने प्रश्नै उठ्दैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । 

सेनाका पूर्वउपरथी विनोज बस्न्यातको विश्लेषणमा अग्निपथ योजनाका कारण दुई देशको सैन्य सम्बन्धमा देखिएको अन्योलबाट निकास दिन भारतीय सेनाप्रमुखको भ्रमण महत्वपूर्ण हुनेछ । ‘दुई देशबीच राजनीतिक सम्बन्धमा उतारचढाव आए पनि सेनाको तहमा सधैँ एउटै हैसियतमा छ । यो भ्रमणमा पनि दुई देशबीच उत्पन्न अन्योल हटाएर मुलुकको फाइदा पुग्ने गरी हामीले भूमिका निर्वाह गर्नु आवश्यक छ,’ उनले भने । 

राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ नेताको वार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनको १३औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ याङबीच भिडियो वार्ता भएको छ । वाङ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरोका स्थायी समिति सदस्यसमेत हुन् ।

अध्यक्ष तिमिल्सिनाले आगामी ३० असोजमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन सफलताका लागि शुभकामना दिँदै रसुवागढी र तातोपानी नाका सहज हुने विश्वास व्यक्त गरे । महाधिवेशनले आगामी वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको नीति र नेतृत्वसम्बन्धी निर्णय लिनेछ । भिडियो वार्ताले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने उनको विश्वास छ । 

कोरोना महामारी र बाढीपहिरोका कारण नेपाल र चीनको व्यापारमा अवरोध भएको भन्दै तिमिल्सिनाले तातोपानी र रसुवागढीलगायतका नाका नियमित सञ्चालन गर्न आग्रह गरे । ‘कोरोना महामारीका कारण रोकिएको हवाई सेवा छिट्टै नियमित र सहज हुने विश्वास लिएको छु,’ तिमिल्सिनाले भने, ‘नेपालमा मुख्य चाडपर्वहरूका वेला चीनमा उत्पादित सामान बढी प्रयोग हुने भएकाले पनि छिटो नाकाहरू सञ्चालनका लागि सहजीकरण गरिदिन महामहिममार्फत चिनियाँ सरकारलाई आग्रह गर्दछु ।’ 

दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदान बढाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले अध्यक्ष वाङलाई नेपाल भ्रमणको निमन्त्रणा गरे । उनले सिपिपिसिसी र नेपालको राष्ट्रिय सभाबीच सहकार्य तथा सम्बन्ध विस्तारमा आफू प्रतिबद्ध रहेको पनि बताए । 

सिपिपिसिसी अध्यक्ष वाङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रूपमा अरनिको र भृकुटीका समयदेखि सुमधुर रहेको तथा कूटनीतिक रूपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेको भन्दै खुसी व्यक्त गरे । उनले सम्बन्ध सुदृढ बनाउन दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण तथा बिआरआईलगायत दुईपक्षीय सम्झौताको कार्यान्वयन हुनुपर्ने बताए ।

ad
ad