मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Thursday, 19 December, 2024
मञ्जु टेलर काठमाडौं
२o७९ भदौ १७ शुक्रबार o६:o९:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

७२ जिल्लामा फैलियो डेंगु 

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार o६:o९:oo

डेंगु भयावह बनेपछि बल्ल नियन्त्रणमा लागे उपत्यकाका स्थानीय तह, काठमाडौं, ललितपुर र भक्तपुरमा २८ सय ८४ जना संक्रमित

डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । 

डेंगु संक्रमणबाट धनगढीमा एकजनाको मृत्यु भएको छ । धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत एक महिलाको डेंगुका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका– ३५ की वर्षीया गीता शाहीको उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो । मृत्युअगाडि लिइएका नमुनामा परीक्षण गर्दा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तर, शाहीमा निमोनियासमेत रहेकाले संक्रमणबारे अस्पतालसँग थप समन्वय गरिरहेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार अस्पतालबाट मृत्युको विवरण आए पनि थप मेडिकल प्रमाणसहित पुष्टि गर्न अस्पताललाई निर्देशन दिइएको हो । 

हाल ललितपुर, काठमाडौं र रुपन्देहीमा सबैभन्दा धेरै संक्रमण देखिएको महाशाखाले जनाएको छ । त्यसपछि संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ । योसँगै उपत्यकाका अस्पतालहरूमा ज्वरोसहितका लक्षण भएका बिरामीको भिडभाड बढेको छ । संक्रामक रोगको उपचार हुने टेकु अस्पतालको इमर्जेन्सीमा बिहीबार डेढ सयभन्दा बढी बिरामी उपचारका लागि पुगेका थिए । हाल टेकु अस्पतालमा डेंगुका २४ जना बिरामी भर्ना भएकामा चारजनाको आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता नवराज गौतमका अनुसार ओपिडीमा सयभन्दा बढी र इमर्जेन्सीमा डेढदेखि दुई सय लक्षणसहितका बिरामी दैनिक पुग्ने गरेका छन् । इमर्जेन्सीमा पुग्ने अधिकांश बिरामीमा सामान्य परीक्षण र उपचार गरी फर्कने भएकाले भर्ना गर्नुपर्ने अवस्था नरहेको डा. विमल चालिसे बताउँछन् । ‘ज्वरो र दुखाइको समस्या लिएर आउने बिरामी धेरै छन् । परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि परामर्श र औषधि दिएर घर पठाइरहेका छौँ,’ उनले भने । 

डा. विमल चालिसे टेकु अस्पताल
परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि परामर्श र औषधि दिएर घर पठाइरहेका छौँ । डेंगुमा पाँच प्रतिशतभन्दा कम गम्भीर बिरामी पर्ने भएकाले भर्ना गरेर राख्नुपर्नेको संख्या न्यून छ । एकैपटक धेरैमा फैलिएकाले समस्या भएको हो ।

काठमाडौं र ललितपुरले खोेज्न थाले लामखुट्टेको वासस्थान, भक्तपुरले सुरु ग¥यो वडैपिच्छे जनचेतना कक्षा
प्रकोप बढेपछि उपत्यकाका स्थानीय तह रोकथाममा लागेका छन् । डेंगु रोकथामबारे यसअघि पूर्वतयारीसमेत नगरेका स्थानीय तह जिल्ला स्वास्थ्य कार्यालयको आग्रहपछि मात्रै डेंगु नियन्त्रणमा लागेका हुन् । उपत्यकाका तीन जिल्लामा डेंगु संक्रमित हुनेको संख्या दुई हजार आठ सय ८४ पुगेको छ । संक्रमण दर फैलिएपछि काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट डेंगु नियन्त्रणबारे जनचेतना तथा लामखुट्टेको वासस्थानमै पुगेर लार्भा र अन्डा नष्ट गर्न थालेको छ ।

त्यसका लागि महानगरले ९० जनाभन्दा बढी महिला स्वयंसेवक तथा स्वास्थ्यकर्मी खटाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले गत सोमबार काठमाडौंका सबै स्थानीय तहलाई डेंगु नियन्त्रण र लामखुट्टेको लार्भा तथा अन्डा नष्ट गर्ने तालिम दिएको थियो । तालिमपछि बुधबारदेखि काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिका डेंगु नियन्त्रणमा लागेका छन् । बिहीबार उपमेयर सुनिता डंगोलसहितको टोलीले बबरमहल क्षेत्रमा पुगेर लामखुट्टेको वासस्थान नष्ट गरेको थियो । 

हालसम्म काठमाडौंमा एक हजार ५० जनामा डेंगु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक छ । सबै निजी स्वास्थ्य संस्थाबाट तथ्यांक नआएकाले ठूलो संख्यामा डेंगु फैलिएको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले बताए । स्थानीय तहलाई तालिम दिएपछि स्वास्थ्यकर्मीसहित उनीहरू डेंगु नियन्त्रणमा लागेको उनको भनाइ छ ।

‘जहाँ सफा पानी जमेको छ त्यहाँ लामखुट्टेले फुल पार्छ र लार्भा जन्माउँछ,’ उनले भने, ‘टायर, प्लास्टिकको भाँडा, बोतल तथा खुला ठाउँमा पानी जम्न नदिने र सचेत गराउन स्थानीय तहको स्वास्थ्यकर्मीसहितको टोली लागिपरेको छ ।’ कागेश्वरी मनोहरा, टोखा, दक्षिणकाली, बुढानीलकण्ठ, चन्द्रागिरिलगायतलाई स्वास्थ्य कार्यालयले तालिम दिएको छ । तालिमपछि स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुगेर डेंगुबारे जनचेतना दिनुका साथै रोग नियन्त्रणमा खटिएको काठमाडौं महानगरपालिका, स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले बताए । 

डेंगु नियन्त्रणका लागि स्थानीय तहमा दुई करोड ३५ लाख विनियोजन 
डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशेषगरी ललितपुर र काठमाडौंमा संक्रमण अत्यधिक बढेकाले लामखुट्टे पाइने स्थान खोजेर नष्ट गर्न स्थानीय तहमा अभियान सञ्चालन गरिएको मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए ।

डेंगु संक्रमण फैलिने जोखिममा रहेका एक सय ३९ स्थानीय तह र सातवटै प्रदेश तहमा बजेट पठाइएको इडिसिडीले जनाएको छ । महाशाखा प्रमुख डा. चुमनलाल दासका अनुसार स्थानीय तहमा दुई करोड ३५ लाख रुपैयाँ र प्रदेश र जिल्लास्तरमा ७५ लाख रुपैयाँ पठाइएको हो । तर, संक्रमण नियन्त्रणका लागि यो वार्षिक बजेट रकम पर्याप्त नभएकाले लामखुट्टे न्यूनीकरणका लागि थप कार्यक्रम सञ्चालन गर्न प्रदेशस्तरमा निर्देशन दिइएको डा. दास बताउँछन् । 

ललितपुरमा भयावह, रोकथाम प्रयास कम
उपत्यकाभित्र ललितपुरमा सबैभन्दा धेरै डेंगु फैलिएको छ । ९ असारदेखि नै ललितपुरमा डेंगु फैलन सुरु गरे पनि त्यसको रोकथामबारे भने जिल्लाका स्थानीय तहले वेलैमा चासो नदिँदा संक्रमण भयावह बनेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार एक हजार चार सय ३४ जना संक्रमित भेटिइसकेका छन् । महानगरको वडा नम्बर ५, ११, १५ र १६ मा डेंगु फैलिएको छ । गोदावरी नगरपालिकामा १३ र महालक्ष्मी नगरपालिकामा ५७ जना डेंगु संक्रमित भेटिएका छन् । 

डेंगुको प्रकोप फैलिएपछि बिहीबार स्वास्थ्य कार्यालय ललितपुरले ६ वटै स्थानीय तहलाई बोलाएर डेंगु नियन्त्रणबारे छलफल गरेको छ । छलफलका क्रममा नगरपालिका, निजी तथा सरकारी अस्पताल र नागरिक जिम्मेवार भए मात्रै डेंगु प्रकोप रोक्न सकिने स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य अधिकृत सतिश विष्टले बताए । उनका अनुसार नगरपालिकाहरूले जनचेतनाका कार्यक्रमलाई नै जोड दिने, पानी जम्न नदिने, लामखुट्टेको वासस्थान पत्ता लगाएर अन्डा तथा लार्भा नष्ट गर्नेबारे छलफल भएको छ ।

‘जिल्लामा डेंगु फैलिएको छ, अस्पताल आउनेको बिरामीको संख्या बढिररहेको छ, केही निजी अस्पतालबाट डेंगुका बिरामीको रिपोर्टिङ नै भएको छैन,’ उनले भने, ‘यसको नियन्त्रणका लागि नगरपालिका र निजी अस्पतालले सहयोग गर्छौँ भन्नुभएको छ ।’ ललितपुर महानगरपालिकाका स्वास्थ्य संयोजक सरिता महर्जनले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयलाई आवश्यक बजेट उपलब्ध गराउने र २९ वटै वडाबाट जनचेतनाका कार्यक्रम सुरु गरिने बताइन् । ‘हामीले माइकिङ गर्ने, वडावडाबाट जनचेतनाका कक्षा सञ्चालन गर्ने, पानी जम्ने नदिने, लामखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा मार्नेलगायत कार्यक्रम शुक्रबारदेखि सुरु गर्छौँ,’ उनले भनिन्, ‘महानगरमा डेंगु भयावह बनेको छ ।’

भक्तपुरमा हालसम्म झन्डै चार सयजनामा डेंगु फैलिएको छ । भक्तपुर नगरपालिकाले गत आइतबारदेखि नै जनचेतनाका कार्यक्रम र लामखुट्टे धेरै भएको क्षेत्रमा पुगेर चुन तथा अन्य कीटनाशक औषधि छर्किएर नष्ट गर्ने अभियान थालेको छ । यहाँका प्रत्येक वडामा एक–एकजना नर्सको व्यवस्था छ । नर्स, स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, महिला स्यवंसेवकसहित टोलीले प्रत्येक वडामा स्थानीयलाई पालैपालो जनचेतना दिएको भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक रत्नसुन्दर लासिवाले जानकारी दिए ।

उनका अनुसार चुन छर्कने, स्थानीयलाई जनचेतना कक्षा दिने, पानी जमेको ठाउँमा लामखुट्टेले पारेका लार्भा मार्नेलगायत कार्य भइरहेको छ । त्यसका लागि अहिले स्वास्थ्य कार्यालयकै टोली परिचालित भइरहेको संयोजक लासिवाको भनाइ छ । ‘भक्तपुरमा पनि डेंगु प्रकोप देखियो, यो अझ फैलन सक्ने सम्भावना छ,’ उनले भने, ‘त्यसैले हामीले जनचेतनाका कार्यक्रम सुरु गरिसकेका छौँ ।’ उनले लामखुट्टे नष्ट गर्न स्वास्थ्य कार्यालय, नगरपालिका, ख्वपः अस्पताल, भक्तपुर अस्पताललगायतको सहभागितामा १५ जनाको टोली डेंगु नियन्त्रणमा खटिएको जानकारी दिए । यसबाहेक प्रत्येक वडा–वडाबाट लामखुट्टे नष्ट गर्ने र यसको टोकाइबाट बच्ने उपायबारे जनचेतना कक्षा सुरु भइरहेको छ ।