प्रेम शब्दमा वर्णन नै गर्न सक्दिनँ । हरेक सम्बन्धमा सीमा हुन्छ, तर प्रेममा कुनै सीमा हुँदैन भन्ने लाग्छ । सु:ख–दु:ख बिसाउने चौतारी हो, प्रेम । कक्षा ८ मा पढ्थेँ, म । त्यतिवेला एकजना रायमाझी थरकै केटाले प्रस्ताव राखेका थिए । मलाई पनि अति नै मन पर्थ्यो ।
तर, रायमाझी–रायमाझी दाजु–बहिनी पर्छ भन्ने थाहा थिएन । एक दिन कुरा चल्दै गर्दा साथीको मामुले लभ गर्न मिल्दैन भनेर सम्झाउनुभयो । त्यसपछि उसको फोटो फर्काइदिएको मलाई अझै पनि झलझली याद आउँछ ।
मन पराउने धेरै छन् । कतिले रूपलाई माया गर्लान्, कतिले मनलाई । तर पनि यही नै मेरो लाइफ पार्टनर भन्ने खालको ब्वाइफ्रेन्ड अहिलेसम्म छैन । (हाँस्दै) भएपछि भन्छु ल ।
प्रेम प्रस्ताव गर्ने धेरै छन् । तर, धेरैले मनभन्दा पनि बाहिरी रूप देखेर प्रस्ताव राखेजस्तो लाग्छ । त्यसैले स्विकारेकी चाहिँ छैन । मलाई स्मार्ट, हिम्मतिलो, देख्दा राम्रो, सफा मन भएको, केही कुरा नलुकाउने, मनमा लागेको कुरा फ्याट्ट बोल्दिहाल्ने केटा मनपर्छ ।
मेरो परिवार बुझ्ने होस् । स–साना कुरामा खुसी हुने मान्छे हुँ, त्यसलाई ख्याल राख्ने होस् । साँच्चै भन्नुपर्दा मेरो लोग्ने खुला किताबजस्तो होस् । एकअर्कामा कुनै कुरा लुकाउनु नपरोस् ।
कलाकारिता क्षेत्रको सुरुवाती चरणमा चान्स मार्न खोज्ने धेरै भेटिन्थे । तर, अहिले त जमाना कहाँबाट कहाँ पुगिसक्यो । सजिलो छैन मलाई चान्स मार्न, म मज्जाले फेस गर्न सक्छु ।