![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/karmachari2022-05-07-06-32-01.jpeg)
सरकारले निजामतीसहितका समान पदका कर्मचारीको तलब एउटै बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा तीनसदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन । एक मन्त्रीका अनुसार यो समितिले निजामती, प्रहरीलगायतमा एकै पदका कर्मचारीको तलब एउटै बनाउन वा अन्य विकल्पबारे सिफारिस गर्नेछ ।
सरकारले चालू आवमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । तर, संसद्लाई छलेर सरकारले अधिकृत, उपसचिव, सहसचिव तथा सचिवको तलब १८ देखि २४ प्रतिशत बढाउन खोजेपछि तल्लो तहका कर्मचारी आन्दोलित भएका थिए । तर, समान पदका निजामती कर्मचारीभन्दा प्रहरीको तलब बढी रहने गरेको भन्दै उपल्लो तहका कर्मचारी असन्तुष्ट व्यक्त गरिरहेका वेला सरकारले समाधानको बाटो खोलेको हो ।
दुवाडी सचिवमा बढुवा
नारायण शर्मा दुवाडी सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशमा प्रमुखसचिवमा खटाएको छ । बढुवा सिफारिस समितिको गत बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि दुवाडीसँगै दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । दुवाडी यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए ।