Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २ बिहीबार १६:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियरिङ सेवा समूहका कर्मचारी सिंहदरबारभित्र आन्दोलित, माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २ बिहीबार १६:०१:००

सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालयअगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङतर्फका सिभिल समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका कर्मचारीले सांकेतिक रूपमा आन्दोलन गरेका हुन् । 

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा ल्याउने र सहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी निर्णय भएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका संयोजक तथा सहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको बताए । 

सहसचिव अधिकारीका अनुसार सरकारले इन्जिनियरहरूको माग तत्काल सुनुवाइ नगरे देशभरको सहरी विभागको काम ठप्प पार्ने तथा प्राविधिकले सामूहिक राजीनामा दिने चेतावनी दिए । ‘आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३०५ मा व्यवस्था गरेको स्थानीय पूर्वाधार विभाग खारेज गरी विभागमा रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने तथा बाँकी कर्मचारी प्रदेश र भौतिक पूर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग रहेको छ,’ उनले भने, ‘नयाँ माग केही छैन । माग सुनुवाइ भएन भने देशभर काम ठप्प बनाउने र सामूहिक राजीनामासमेत दिनेछौँ ।’

कर्मचारीले कालो ब्यानरसहित हातमा कालो पट्टी बाँधेर आन्दोलन गर्ने प्रयास गरे पनि प्रहरीले कालो ब्यानर र पट्टी भने बाँध्न दिएन । आन्दोलनमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहअन्तर्गतका सम्पूर्ण प्राविधिक सहभागी थिए । प्राविधिकको आन्दोलनमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन सहरी विकास विभागीय कार्य समितिहरूको ऐक्यबद्धता रहेको छ ।