आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लाभित्र पाँच मतदान स्थल र पाँच मतदान केन्द्र थप गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले केन्द्रीय कार्यालयसमक्ष सिफारिस गरेको छ।
गत स्थानीय तह निर्वाचनमा रामेछापमा ९२ मतदान केन्द्र र २२३ मतदान केन्द्र रहेको थियो। हाल जिल्लामा मतदाता संख्या वृद्धि भएको र यसअघि रहेको मतदान केन्द्र सबै मतदातालाई पायक नभएको गुनासो आएपछि थप गरिएको जिल्ला निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए। योसँगै रामेछापमा ९७ मतदानस्थल र २२८ मतदान केन्द्र कायम हुनेछ।
‘आठवटा मतदान स्थलको नाम संशोधन, ५ वटा मतदान केन्द्रलाई फुटाएर १० बनाउने र ४ वटा मतदान केन्द्रको ठाउँ सारीको लागि सिफारिस गरेका छौँ,’ जिल्ला निर्वाचन अधिकृत शाहले भने।
कार्यालयले खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयमा रहेको मतदानस्थललाई राकाथुुम माध्यमिक विद्यालय, सोही गाउँपालिका–५ पकरवास आधारभूत विद्यालय राम्चेमा रहेको मतदानस्थललाई वडा कार्यालय भवन भीमस्थान, रामेछाप नगरपालिका–३ साँघुटार कालिका ईश्वरी आधारभूत विद्यालय बाँकीमैरीमा रहेको मतदानस्थललाई वडा कार्यालय भवन साँघुटार र सोही पालिका–९ को भीमसेनस्थान मन्दिरमा रहेको मतदानस्थललाई भीमेश्वर आधारभूत विद्यालय ल्याङल्याङमा सार्न सिफारिस गरेको छ।
कार्यालयले अहिले मतदाता नामावली संकलनको काम रोकी यसअघि मतदाता नामावलीमा नाम समावेश भएकाहरूको अध्यावधिक गर्ने काम भइरहेको जनाएको छ। रामेछापमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ७८ हजार ८६७ मतदाता कायम थिए। जसमध्ये स्थानीय तहको निर्वाचनमा एक लाख १७ हजार २४२ जनाले मतदान प्रक्रियामा सहभागीता जनाएका कार्यालयले जनाएको छ।