असंलग्न परराष्ट्र नीति आत्मसाथ गर्दै आएको नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको विभिन्न दलका नेताहरूले बताएका छन् । फ्रेन्सड्स अफ सिल्क रोड क्लबले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका विदेश विभागप्रमुख सुरेन्द्र ढकाल, नेकपा क्रान्तिकारी माओवादीका इन्दु राउतलगायतका नेताले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेकपा अध्यक्ष कट्टेलले नेपालले लिँदै आएको एक चीन नीतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न राष्ट्र हो, एक चीन नीतिप्रति प्रतिबद्ध छौँ,’ उनले भने, ‘छिमेकी राष्ट्र आर्थिक रूपमा अघि बढ्दा र एकआपसमा मित्रवत व्यवहार हुँदा सबैलाई फाइदा हुनेछ ।’
नेकपा मालेका विदेश विभाग प्रमुख ढकालले नेपालले लिएको एक चीन नीति सही भएको भन्दै चीनविरोधी गतिविधि नेपाललाई सह्य नहुने बताए । नेकपा क्रान्तिकारी माओवादीका नेता राउतले नेपालको असंलग्न परराष्ट्र नीतिप्रति पार्टी प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि दिन नहुने धारणा राखे ।
पत्रकार सम्मेलनमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका विषयमा दलका नेताहरूले उक्त धारणा व्यक्त गरेका हुन् । चीन–ताइवान तनाव बढिरहेका वेला अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सीले यही १७ साउनमा ताइवान भ्रमण गरेकी थिइन् ।