![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/janardan2022-04-12-06-19-26.jpeg)
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूलगेटदेखिका सिसिटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो।
समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्वसचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए। उनले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूसँग छलफल गर्ने कार्यतालिका रहेको जानकारी दिए।
उनले भने, ‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ। अहिले अर्थ मन्त्रालयको मूल ढोकादेखि त्यहाँ जडान गरिएका सिसिटिभीका फुटेजमा नै केन्द्रित छौँ।’
सचिव अर्यालले आज प्राविधिक विषय सिसिटिभीका बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमाभित्र नै टुंगोमा पुयाउने गरी अघि बढेको बताए। शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो।