संसद्मा शुक्रबार दर्ता भएको ‘नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेस हुने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार प्रतिनिधिसभामा विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
विधेयक पारित भएपछि नेपाली नागरिक आमाबाट नेपालमा जन्मिएर नेपालमै बसोवास गरिरहेका व्यक्तिहरूले बाबुको पहिचान नखुले पनि वंशजका आधारमा नागरिकता लिन पाउनेछन् । शुक्रबार बेलुका उक्त विधेयक संसद् सचिवालयमा दर्ता भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिए । उनले भने, ‘नागरिकता विधेयक संसद्मा दर्ता भएको छ । यसमा पुराना केही व्यवस्था संशोधन भएका छन् । नियमअनुसार यो अब संसद्मा पेस हुनेछ । छलफलपछि विषयगत समितिमा जाला । त्यसपछि कानुनको रूप लेला ।’
फणीन्द्रमणि पोखरेल प्रवक्ता, गृह मन्त्रालय
नागरिकता विधेयक संसद्मा दर्ता भएको छ । यसमा पुराना केही व्यवस्था संशोधन भएका छन् । नियमअनुसार यो अब संसद्मा पेस हुनेछ । छलफलपछि विषयगत समितिमा जाला । त्यसपछि कानुनको रूप लेला ।
विधेयकअनुसार बाबुको पहिचान नखुलेको व्यक्तिले वंशजको नागरिकता लिनुपूर्व ‘बाबुको पहिचान नखुलेको’ स्वघोषणा गर्नुपर्ने हुन्छ । यदि, त्यस्तो नागरिकता लिन चाहने व्यक्तिको आमाको मृत्यु भइसकेको छ वा होस ठेगानमा छैन भने निजले सम्बन्धित निकायबाट यस विषय प्रमाणित गर्नुपर्नेछ । स्वघोषणा गर्दाका विवरण झुटा ठहरिए ६ महिनादेखि एक वर्षको कैद सजाय वा ५० हजारदेखि एक लाख रुपैयाँसम्मको जारिवाना हुनेछ । तर, त्यस्तो नागरिकता लिन चाहने व्यक्तिको बाबु बिदेशी रहेको खुलेमा भने वंशजको नागरिकता खारेज हुनेछ र उसले अंगीकृत नागरिकता प्राप्त गर्नेछ । यसका लागि उसले विदेशी मुलुकको नागरिकता नलिएको स्वघोषणा गर्नुपर्नेछ ।
संशोधन विधेयकको दफा २ को उपदफा ७ मा भनिएको छ, ‘वंशजको नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहनेछैन र निजले बाबुको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरी वंशजको नागरिकता प्रमाणपत्र बुझाएमा अंगीकृत नागरिकता प्राप्त गर्नेछ ।’
विधेयकअनुसार ३ असोज ०७२ अघि जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले पनि अब वंशजका आधारमा नागरिकता पाउन सक्नेछन् । विधेयकअनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको सन्तानले नेपाली नागरिकता लिँदाको बखत उक्त व्यक्तिका आमा–बुबा दुवै नेपाली नागरिक रहेछन् भने पनि त्यस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता पाउन सक्नेछन् । जबकि, विद्यमान ऐनमा त्यस्ता व्यक्तिले अंगीकृत नागरिकता मात्रै पाउने व्यवस्था छ ।
एनआरएनले पनि नागरिकता पाउन सक्ने
संशोधन गर्न बनेको नयाँ विधेयकअनुसार गैरआवासीय नागरिकले पनि नेपाली नागरिकता पाउन सक्नेछन् । त्यस्ता नागरिकले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार मात्रै उपभोग गर्न सक्नेछन् । त्यस्ता नागरिकता लिन चाहने व्यक्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)बाहेक अन्य मुलुकको हुनुपर्नेछ । र, उनीहरूका बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिक भएको हुनुपर्नेछ । नागरिकता ऐन ०६३ मा यस्तो प्रावधान थिएन ।
विधेयकको दफा ३ मा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक वा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् ।’ झुटा विवरण पेस गरी त्यस्तो नागरिकता लिएको प्रमाणित भए कसुरदारलाई तीन महिनादेखि एक वर्षसम्मको कैद सजाय वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्मको जरिवाना हुनेछ ।
नागरिकता विधेयक पास गर्न एनआरएनए पदाधिकारी दलका नेता भेट्दै
संसद्मा पेस हुन लागेको नागरिकता विधेयकलाई लिएर गैरआवासीय नेपाली संघ –एनआरएनए) का पदाधिकारीले राजनीतिक लबिङ सुरु गरेका छन् । एनआरएनए पदाधिकारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई भेटेका छन् ।
मंगलबार खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले संसदमा पेस हुन लागेको विधेयक पारित गर्न सघाउन आग्रह गरेका थिए । नयाँ बन्ने नागरिकता ऐनमा विश्वभरका गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख भएकाले सम्पूर्ण गैरआवासीय नेपालीको साझा भावनामा साथ दिन भनेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले संविधानमै गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएकाले यसमा अल्मलिन आवश्यक नभएको बताए । ‘संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताको जुन व्यस्था गरिएको छ, त्यहीअनुरुप विधेयक आउने छ । यसमा म र मेरो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने छ ।’ भेटमा संघका कार्यकारी अध्यक्ष आचार्यसहित अध्यक्ष डा.बद्रि केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोलगायतका पदाधिकारी सहभागी थिए ।