चिनियाँ कम्युनिस्ट पार्टीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको कुराकानी सोमबार वेबसाइटमा राखेको छ । जसअनुसार देउवाले लिउलाई कांग्रेस पार्टी र नेपाल सरकार एक चीन–नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । नेपाललाई महामारीसँग लड्न, अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनमा सुधार गर्न, बिआरआईअन्तर्गत सहकार्यका लागि देउवाले चीनलाई धन्यवाद दिएका छन् ।
‘नेपालले चीनलाई विश्वासयोग्य मित्र मान्छ, एक चीन–नीतिलाई दृढतापूर्वक पालना गर्दछ र कुनै पनि शक्तिलाई नेपाली भूमिमा चीनविरोधी गतिविधिमा संलग्न हुन दिँदैन,’ देउवाको भनाइ थियो । सिपिसीका अनुसार देउवाले सिपिसीसँग मैत्रीपूर्ण आदानप्रदानका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका थिए । ‘नेपाल–चीन सम्बन्धको गहिरो विकासका लागि दुई पार्टीबीचको आदानप्रदान र सहयोगलाई अझ प्रगाढ बनाउन कांग्रेस तत्पर छ,’ भेटबारे सिपिसीले भनेको छ ।
लिउले नेपाल–चीन सम्बन्धलाई चीनले सधैँ रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको र विकास गरेको बताएको सिपिसीको वेबसाइटमा उल्लेख छ । ‘चीनले नेपालप्रति सदैव मैत्रीपूर्ण नीति राख्दै नेपालका सबै पक्षसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्ध कायम र विकास गरेको छ,’ लिउको भनाइ थियो, ‘चीनसँगको मित्रता नेपाल सरकार र प्रतिपक्षसहित सबै दलको सहमति र जनताको आकांक्षा पनि हो भन्ने चीनको विश्वास छ । नेपाल र चीनबीच उच्चस्तरको राजनीतिक पारस्परिक विश्वास दुई देशको परम्परागत मित्रता र व्यापक साझा हितबाट मात्र नभई द्विपक्षीय सम्बन्धमा दुई देशका राजनीतिक दलहरूले खेलेको महत्वपूर्ण भूमिकाबाट पनि अविभाज्य छ ।’
चिनियाँ नेता लिउको थप भनाइ थियो, ‘विश्व एक शताब्दीमा नदेखिने गहिरो परिवर्तनबाट गुज्रिरहेको र विश्व उथलपुथलको युगमा प्रवेश गरिरहेको ऐतिहासिक घडीमा चिनियाँ कम्युनिस्ट पार्टी नेपाली कांग्रेस पार्टीसँग रणनीतिक सञ्चारलाई सुदृढ गर्न, पारस्परिक लाभकारी सहयोग प्रवर्द्धन गर्न, आदानप्रदानलाई प्रगाढ बनाउन इच्छुक छ ।’ उनले आपसी सिकाइ र एक–अर्काको मुख्य चासो समावेश भएका मुद्दामा दुवैले एक–अर्कालाई समर्थन गर्नुपर्ने पनि उल्लेख गरे ।
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । ‘नेपालको विकास र समृद्धिका लागि मित्रताको रणनीतिक साझेदारी दुई देश र जनताको हितमा हुनेछ,’ लिउको भनाइ थियो । लिउले प्रधानमन्त्री देउवालाई ‘सी जिनपिङ : द गभर्नेन्स अफ चाइना’ पुस्तकको चौथो अंग्रेजी संस्करण उपहार दिएका थिए ।
ओली–नेपालसँग वार्ता आज
चिनियाँ नेता लिउ नेतृत्वको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार बिहान भेटवार्ता गर्ने तय भएको छ । मंगलबार अपराह्न चिनियाँ नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्किने कार्यक्रम छ ।