१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Sunday, 29 September, 2024
सुशान्त सिंह
२o७९ असार २३ बिहीबार o९:१५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सत्यका साथमा पत्रकार मोहम्मद जुबेर

Read Time : > 2 मिनेट
सुशान्त सिंह
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार o९:१५:oo

प्रतीक सिन्हासँग मिलेर मिथ्या एवं भ्रामक समाचार हेर्ने अल्टन्युज खोलेका पत्रकार र समाचारको सत्यता जाँच्नमा पारंगत मोहम्मद जुबेरलाई १४ दिनसम्म न्यायिक हिरासतमा राख्न दिल्लीको एक अदालतले शनिबारका दिन आदेश दिएको छ । जुबेरलाई चार दिन पुलिस हिरासतमा राखेपछि अदालतबाट आएको यो आदेश निकै कमजोर छ, जसले ‘लोकतन्त्रको जननी’ भनेर चिनिने भारतको छविलाई धुलिसात् बनाएको छ । घृणा भड्काएको आरोपमा उजुरीसमेत दायर गरिएका तीन हिन्दुत्व उग्रवादीलाई जुबेरले ‘हेटमोंगर’ अर्थात् घृणाका व्यापारी भन्नु घृणा फैलाउनु हो भन्ने व्यहोरासहितको उजुरीका आधारमा उनलाई १४ दिन हिरासतमा राख्ने आदेश दिइएको हो ।  

द वायरको अनुसन्धानअनुसार जुबेरलाई एकैसाथ हजारौँ नक्कली ट्विटर एकाउन्टले उनको एउटै ट्विटमा आक्रमण गरेका थिए । यी नक्कली एकाउन्ट सत्तारुढ भाजपाले चलाउने टेकफोग नेटवर्क र भाजपासँग बलियो सम्बन्ध राख्ने तथा घृणा भड्काउने छवि बनाएका व्यक्तिसँग जोडिएका छन् । अधिकारीले उनलाई एफसिआरए अर्थात् विदेशी अंशदान (विनियमन) अधिनियम तोडेको आरोप लगाएका छन्, किनभने उनको गिरफ्तारीलगत्तै ‘घृणा फैलाएको’ भन्ने आरोपका लागि पर्याप्त आधार देखिँदैनथ्यो । यो अर्को निराधार आरोप हो, तर यसले शनिबार जुबेरलाई १४ दिनको न्यायिक हिरासतमा राख्न मजिस्ट्रेटलाई अनुमति दियो । मजिस्ट्रेटले आफ्नो फैसलाको मस्यौदा तयार गर्नुभन्दा पहिले नै दिल्ली पुलिसका एक वरिष्ठ अधिकारीले मिडियालाई अदालतको फैसला बताइसकेका थिए । 

शुक्रबार दिल्ली उच्च अदालतमा आफूलाई हिरासतमा नराख्न जुबेरले गरेको सुनुवाइमा भारत सरकारको वरीयता क्रममा महान्याधिवक्ताभन्दा एक स्थानमुनिका कानुनी मामिला हेर्ने अधिकारी सलिसिटर जनरल तुसार मेहता आफैँ दिल्ली पुलिसका पक्षबाट अदालतमा उपस्थित भएका थिए । यसले भारतीय शासनवृत्तमा यो मुद्दाको ठूलो महत्व झल्काउँछ । मेहता गुजरातका हुन् । राकेश अस्थाना गुजरात क्याडरका एक विवादास्पद पुलिस अधिकारी हुन् र उनलाई गत जुलाईमा सेवानिवृत्त हुनुअघि केन्द्र सरकारले दिल्ली पुलिसका आयुक्तमा मनोनीत गरेको थियो । दिल्ली पुलिस केन्द्रीय गृह मन्त्रालयप्रति जवाफदेही हुन्छ । गृहमन्त्री अमित शाह पनि गुजरातकै हुन् । यी पात्रको मुलथलो एकै हुनु संयोग हुन सक्छ, तर जुबेरलाई हिरासतमा राख्न जुन किसिमले बल प्रयोग गरिएको छ, त्यसले हामीलाई हालको तानाशाही र यसलाई समर्थन गर्ने प्रणालीबारे महत्वपूर्ण जानकारी दिन्छ । 

जुबेर किन बने तारो ? 
पहिलो, जुबेरले तथ्यपरक जानकारी उपलब्ध गराउने समाचार साइट चलाउन मद्दत गर्छन् । हामीलाई थाहा भएकै कुरो हो, चिनियाँ भनाइअनुसार तथ्यबाट नै सत्य पत्ता लगाउन सकिन्छ । र पोस्ट–ट्र्युथ अर्थात् उत्तर–सत्य वातावरणमा तथ्य अवाञ्छनीय छ र प्रोपगान्डा राजनीतिरूपी बेलुनलाई सत्यको एउटा काँडाले फुटाइदिन सक्छ । दोस्रो, जुबेर सामाजिक सञ्जालमा सक्रिय छन् । उनले अनलाइन हिन्दुत्वका भिडतत्वलाई उनीहरूको पाखण्ड र यी तत्वका पुराना छद्म एकाउन्टलगायत विषयको पर्दाफास गर्छन् । र, उनी यी पर्दाफास पहुँचयोग्य स्रोतबाट संकलन गरिएका जानकारीबाट गर्छन् । यी पर्दाफासले भिडतत्वलाई बारम्बार पराजित गरेको छ । कमजोर विषाक्त पुरुष अहंकारलाई जोगाउन र यस्ता अहंकार बोक्ने भिडतत्वको मनोबल उच्च बनाइराख्न घृणाको राजनीतिक वृत्तले जुबेरलाई कैद गरेको हो ।

नयाँ भारतले गोड्सेको जयजयकार गरे पनि सत्य जहिल्यै ‘पुरानो’ भारतसँग जोडिएको छ । कुन भारत रोज्ने भन्ने संघर्षमा जुबेर सत्यतर्फ छन् । त्यसकारण जुबेर तारो बनेका छन् । 
 

तेस्रो, जुबेरले विवेकसाथ चनाखो भई सत्यता जाँचको कामले भारतीय सत्ताको प्रोपगान्डा फैलाउने वा फैलाउन सहज गर्ने धेरै मिडिया व्यक्तित्वलाई उदांगो पारेका छन् । उनले उदांगो पारेका पत्रकार र सम्पादकले उनीप्रति वैरभावपूर्ण मनोवृत्ति खुलेआम प्रदर्शन गर्छन् । यी पत्रकार एवं सम्पादक जुबेरसँग असहज महसुस गर्छन्, किनभने जुबेरले यिनलाई हरेक दिन तपाईंले पत्रकारिताको न्यूनतम संहिता तोडिरहनुहुन्छ भनेर सम्झना गराउँछन् ।

चौथो, जुबेर पत्रकारितामा आउनुअघि सूचना–प्रविधि क्षेत्रमा काम गर्थे । त्यसबाहेक महत्वपूर्ण रूपमा उनी व्यावसायिक छवि भएका मुसलमान युवा हुन्, जो शिक्षित छन् र भारतीय गणतन्त्रका मर्म बोक्ने सिद्धान्तप्रति प्रतिबद्ध छन् । उनको अधिकारको खोजी आफू र आफ्नो समाज मात्र नभई बाहिर पनि फैलिएको छ, किनभने उनी सक्रिय रूपमा भारतीय लोकतन्त्र र सरकार सुधार गर्न तत्पर छन् । एक शिक्षित मुसलमान युवा हुन् र उनले मुसलमान जिहादी आतंकवादी हुन् वा गाडीको पन्चर बनाउनेलगायत अनौपचारिक क्षेत्रमा काम गर्छन् भन्ने हिन्दुत्व प्रोपगान्डालाई चिर्नु असह्य बन्न पुग्यो । विश्व्यापी रूपमा उपहासको पात्र बन्दा पनि असत्यलाई चिर्ने योजनालाई उचाइमा पु¥याउनु नै जुबेरमाथिको आक्रमणको सबैभन्दा ठूलो कारण हो ।

यसबाहेक जुबेरले अनलाइन जगत्मा धेरै मानिसलाई प्रेरित गरेका छन् र गिरफ्तारी यी मानिसलाई तिमीहरूको पनि यही हालत हुन्छ भन्ने चेतावनी हो । जुबेरका अथक प्रयासले भारतलाई संविधानको प्रस्तावनामा गरिएका प्रतिबद्धतामा कायम राख्न प्रयास गर्नेलाई प्रेरित गरेको छ । जुबेरलाई गत साता दिल्ली पुलिसले पक्राउ गरेपछि देखिएको विशाल जनसमर्थनले हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उनले धेरैको जीवनलाई छोएका छन् भन्ने जानकारी दिन्छ ।

सत्याग्रह शब्द पहिलोपटक महात्मा गान्धीले प्रयोग गरेका थिए । भारतको आदर्श वाक्य सत्यमेव जयते अर्थात् सत्यको मात्र विजय हुन्छ हो । नयाँ भारतले गोड्सेको जयजयकार गरे पनि सत्य जहिल्यै ‘पुरानो’ भारतसँग जोडिएको छ । कुन भारत रोज्ने भन्ने संघर्षमा जुबेर सत्यका तर्फ छन् । त्यसकारण जुबेर तारो बनेका छन् ।  
द इन्डिया केबलबाट