१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २५ बिहीबार
  • Sunday, 29 September, 2024
उमेशकुमार राय
२o७७ भदौ २५ बिहीबार o८:४५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सुशान्त सिंह राजपुतको मृत्यु र विधानसभाको निर्वाचन

के स्पष्ट छ भने भाजपाका शीर्ष नेताले पनि यसलाई आफ्नो चुनावी रणनीतिको हिस्सा बनाउनेछन् 

Read Time : > 2 मिनेट
उमेशकुमार राय
नयाँ पत्रिका
२o७७ भदौ २५ बिहीबार o८:४५:oo

विहारी मूलका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लिएर जसरी विहारको एनडिए सरकार भावनात्मक वातावरण बनाउन लागिपरेको थियो, त्यसले पहिले नै विहारको विधानसभा निर्वाचनमा यो मुद्दालाई निकै जोरसोरका साथ उठाइनेछ भन्ने आशंकालाई जन्म दिइसकेको थियो । शनिबार भाजपाको कला तथा संस्कृति प्रकोष्ठले ‘जस्टिस फर सुशान्त सिंह राजपुत’ हैसटैग भएको कारको स्टिकर र सुशान्तको तस्बिर भएको मास्क जारी गरेसँगै यो कुराको पुष्टि भयो । स्टिकरमा सुशान्त हाँस्दै गरेको फोटो छ र देब्रेतिर लेखिएको छ– ‘न भुल्नेछौँ, न भुल्न दिनेछौँ’ । भाजपाको कला तथा संस्कृति प्रकोष्ठले सुशान्तको तस्बिर भएको २५ हजार कार स्टिकर र ३० हजार मास्क बनाएको छ, जुन आममानिसलाई वितरण गरिँदै छ । 

प्रकोष्ठका वरुण कुमार सिंहका अनुसार कारमा टाँस्ने स्टिकर र मास्क केही समयअघिदेखि नै वितरण गरिँदै थियो, तर मानिसहरूले बल्ल थाहा पाए । सुशान्तको मृत्युको मामिलालाई विहार विधानसभाको निर्वाचनमा भाजपा निकै महत्वकासाथ बेच्न चाहन्छ र उसको यो अभियान कार स्टिकर र मास्कसम्म मात्रै सीमित छैन । पार्टीले सुशान्तको जीवनमा आधारित रहेर एउटा भिडियो पनि तयार गरेको छ, जुन लगत्तै सामाजिक सञ्जालमा पोस्ट गरिने योजना छ । वरुण कुमारका अनुसार उनीहरू पहिलेदेखि नै सुशान्तको परिवारलाई न्याय दिलाउन चाहन्थे । त्यसैले उनले भाजपा नेता रविशंकर प्रसाद, सुशील कुमार मोदी र रामृपाल यादवलाई सुशान्तको परिवारसँग भेटघाट गराउने योजना पनि बनाएका थिए । सिंहका अनुसार सुशान्तको मुद्दा उनका लागि राजनीतिक होइन कि भावनात्मक हो । 

तीनवटै जाँच एजेन्सीहरू केन्द्र सरकारको अधीनमा छन् । केन्द्र तथा राज्यमा एनडिएको सरकार छ । यस्तोमा के प्रश्न उठ्छ भने ‘जस्टिस फर सुशान्त सिंह राजपुत’ हैसटैग चलाएर विहारमा भाजपाले कोसँग न्याय मागिरहेको छ ?

 सबै अचानक भएको होइन । यसका लागि वातावरण बनाउने कामचाहिँ सुशान्तको मृत्युलगत्तै सुरु भइसकेको थियो । सुशान्तको मृत्युका साथ भाजपा समर्थित सामाजिक सञ्जालका पेजहरूमा यसको प्रभाव देख्न सकिन्थ्यो । हरेक दोस्रो दिन सुशान्तसँग जोडिएको केही भावुक भिडियो सामाजिक सञ्जालमा देखिन थालेका थिए । फेरि बिस्तारै–बिस्तारै यसलाई विहारी अस्मितासँग जोड्न थालियो । यसैबीच सुशान्तका पिता केके सिंहले पटनाको एउटा चौकीमा मुद्दा दायर गरिदिए । नियमानुसार हेर्ने हो भने पटना पुलिसले यो मामिला मुम्बई पुलिसको हवाला गरिदिनुपर्ने थियो, तर डिजिपी गुप्तेश्वर पाण्डेले यस्तो नगरेर पटनाबाट अनुसन्धानका लागि एउटा टोली बम्बई पठाइदिए । त्यसपछि मुम्बई पुलिस र विहार पुलिसबीच असमझदारी सुरु भयो । त्यसपछि विहार पुलिसले यो मामिला सिबिआईलाई सुम्पिनुपर्ने भन्न थाल्यो । केन्द्र सरकारले यो मामिलामा छलफल नै गरी मुद्दा सिबिआईलाई दिने निर्णय गरिदियो ।

अहिले सुशान्त मुद्दाको जाँच सिबिआईले गरिरहेको छ । यसका साथै इनफोर्समेन्ट डायरेक्टरेट (इडी)ले अनुसन्धान गरिरहेको छ र पछिल्लो समय ड्रग्सको मामिला पनि जोडिएपछि नेसनल नारकोटिक्स कन्ट्रोल ब्युरोले पनि यसको जाँच गरिरहेको छ । यी तीनवटै जाँच एजेन्सीहरू केन्द्र सरकारको अधीनमा छन् । केन्द्र तथा राज्यमा एनडिएको सरकार छ । यस्तोमा के प्रश्न उठ्छ भने ‘जस्टिस फर सुशान्त सिंह राजपुत’ हैसटैग चलाएर विहारमा भाजपाले कोसँग न्याय मागिरहेको छ ? वास्तवमा भाजपालाई के लागिरहेको छ भने विहारको जनतामा सुशान्तलाई लिएर एउटा भावनात्मक माहोलको पृष्ठभूमि तयार भएको छ र यसैलाई देखाएर भोट बटुल्न सकिन्छ । यही कारण हो कि निर्वाचनमा यो मुद्दालाई जोडतोडका साथ अघि बढाउने रणनीति भाजपाले बनाइसकेको छ । 

तर, सवाल के हो भने १५ वर्षसम्म विहारमा सरकार चलाएको भाजपाले विधानसभा निर्वाचनमा सुशान्तको मृत्युलाई चुनावी मुद्दा किन बनाइरहेको छ । विहारमा भाजपाका नेताहरूले सुशान्तको मुद्दालाई जसरी हेरिरहेका छन्, त्यसबाट के स्पष्ट हुन्छ भने भाजपाका शीर्ष नेताले पनि यसलाई आफ्नो चुनावी रणनीतिको हिस्सा बनाउनेछन् । यस्तोमा विपक्षी पार्टीसँग दुइटा विकल्प मात्र छन् । पहिलो, उसले जनताको मनमा सुशान्तको मृत्युभन्दा पनि बेरोजगारी, बाढी, कोरोनासँग लड्न असफल सरकारबारे कुरा उठाउने, दोस्रो, भाजपालाई यो मुद्दा छोड्न बाध्य बनाउने । 

कांग्रेसका वरिष्ठ नेता कौकब कादरी भन्छन्, ‘सुशान्त विहारका सान थिए । उनको परिवारसँग हाम्रो सहानुभूति छ, तर भाजपाले जसरी यसलाई राजनीतिक मुद्दा बनाइरहेको छ, त्यो निकै दुःखको कुरा हो । विहारमा राजपुतको भोट पाँच प्रतिशतको वरपर छ । सुशान्तको मुद्दालाई चुनावमा बिकाउन सकियो भने राजपुतहरूको भोट सबै त्यतै जान्छ भन्ने अनुमान गरिएको छ । दोस्रो कुरा सुशान्तको मुद्दालाई राजपुतहरूले मात्र होइन कि अन्य नागरिकले पनि यसलाई विहारको अस्मितासँग जोडेर हेर्न थालेका छन् । यस्तोमा सबैतिरको फाइदा बटुल्ने भाजपा नै हुने हो कि भन्ने आशंका पनि त्यति नै प्रबल छ । 

(राय विहारमा बसेर स्वतन्त्र पत्रकारिता गर्छन्)
द वायरबाट