१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १० शुक्रबार ११:४३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको एसिया कप खेल्ने सपना अधुरै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १० शुक्रबार ११:४३:००

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिसी महिला टी–२० च्याम्पियनसिप खेल्ने सपना अधुरो बनेको छ । मलेसियामा सञ्चालन भइरहेको छनोट प्रतियोगिताको सेमिफाइनलमा वर्षा बाधक बन्दा नेपाल प्रतियोगिताबाट बाहिरियो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र युएईबीच खेल भएको थियो । 

पहिलो ब्याटिङ गरेको युएई १९.५ ओभरमा ८१ रनको झिनो योगफलमै अलआउट भयो । युएईविरुद्ध नेपालकी बलर अस्मिना कर्माचार्यले कीर्तिमानी बलिङ गरेकी थिइन् । यसैगरी, इन्दु बर्माले तीन र सीता रानामगरले दुई विकेट लिएका थिए । 

अस्मिनाले करिअरमै पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट प्रदर्शन गर्न सफल भइन् । अस्मिनाले ३.५ ओभरमा केवल १० रन खर्चेर पाँच विकेट लिएकी थिइन् । 

गत जेठमा टियू क्रिकेट मैदान कीर्तिपुरमा भएको युगान्डाविरुद्धको शृंखलामा डेब्यु गरेकी अस्मिनाले सात खेलबाट १० विकेट लिएकी छिन् । नेपाली सिनियर महिला टोलीमा पाँच विकेट लिने अस्मिना तेस्रो खेलाडी हुन् । 

यसअघि सन् २०१९ मा पोखरामा भएको १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अन्जली चन्दले माल्दिभ्सविरुद्ध ६ विकेट लिएकी थिइन् । उनले केवल २.१ ओभरमा ६ विकेट लिँदा एक रन पनि दिइनन् । नेपालकी पूर्वकप्तान नेरी थापाले २०१९ मा टी–२० विश्वकप एसिया छनोटमा हङकङविरुद्ध ६ विकेट लिइन् । उनले चार ओभरमा आठ रन खर्चेकी थिइन् । 

अस्मिनाले घातक बलिङ गरेपछि समूह ‘ए’को विजेता युएईले नेपालविरुद्ध गतिलो ब्याटिङ गर्न सकेन । नेपालले ब्याटिङ गर्नुअघि नै भारी वर्षा भयो । खेल सुचारु हुन नसक्ने भएपछि अफिसियलले युएईलाई विजेता घोषित गर्दा नेपालको तेस्रोपटक एसिया कप खेल्ने सपना पूरा हुन पाएन । १० टोली सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुई टोली टेस्ट राष्ट्र सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । 

नेपालले सन् २०१२ र २०१६ मा एसिया कप खेलिसकेको थियो । अफिसियलले समूह चरणको विजेता आधारमा युएईलाई फाइनल पुगेको घोषणा गरेका थिए । नेपाल समूह ‘बी’को उपविजेता बनेको थियो । समूह ‘ए’मा युएईले चारै खेलमा जित निकालेको थियो । समूह ‘बी’मा नेपाल हङकङसँग मात्र पराजित भएको थियो । 

हङकङसँगको हार नै नेपाललाई महँगो साबित भएको छ । नेपालले समूह ‘बी’मा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई सात विकेटले पाखा लगाएको थियो । सन् २०२१ नोभेम्बरमा युएईमा भएको आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल हङकङ र युएईसँग पराजित हुँदा विश्वकपमा पुग्न सकेन ।