नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि एक अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभामा उपप्रमुख दीपक विश्वकर्माले चालू खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार तथा पुँजीगत खर्चतर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेको जानकारी दिए । दोस्रो नगरसभाले आगामी आर्थिक वर्षका लागि कृषि, स्थानीय उत्पादन, उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रलगायतका शीर्षकमा बजेट विनियोजन गरेको हो ।
कृषिमा सीप, प्रविधि र पुँजीसहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार भन्ने मूल मर्मका साथ पाँच करोड २९ लाख बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्रलाई यान्त्रिकीकरण तथा विकाससहित उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याइएको उपमेयर विश्वकर्माले बताए ।
समग्र उद्योग तथा लघु विकासका लागि एक करोड ४७ लाख, संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि एक करोड ३० लाख, समग्र सहकारी विकास कार्यक्रमका लागि ३० लाख, स्वास्थ्य क्षेत्रमा सात करोड ६४ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रममा नगरपालिकाले पाँच करोड ५० लाख थप गरी ३९ करोड ४३ लाख विनियोजन गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ । दलित तथा विपन्न बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न २५ लाख रकम विनियोजन गरेको नगर उपप्रमुख विश्वकर्माले बताए ।
युवा तथा खेलकुदका लागि २५ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत वर्ग उत्थानका लागि ५६ लाख, दलित समुदाय उत्थान कार्यक्रमका लागि २६ लाख, ज्येष्ठ नागरिक तथा अपांगता भएकाका लागि २४ लाख विनियोजन गरेको छ ।
पूर्वाधार विकासअन्तर्गत सबै वडामा कालोपत्रे सडक पु¥याउन ३० करोड ३७ लाख, सडक मर्मतसम्भार कोष सुरुका लागि ६० लाख, थोपल खोला करिडोरका लागि एक करोड, नवप्रवद्र्धनात्मक साझेदारी कोषमार्फत दुई करोड १५ लाख, नगर चक्रपथ स्तरोन्नति तथा सुदृढीकरणका लागि एक करोड, सडक पुल भवन तथा सिँचाइका लागि २० करोड ९६ लाख, अन्य सरकार तथा संस्थाहरूसँग समपूरक कार्यक्रम सञ्चालनका लागि चार करोड ६८ लाख, कार्यालयको पूर्वाधार दुई करोडसमेत पूर्वाधार विकासतर्फ २७ करोड ६४ लाख विनियोजन गरेको उपप्रमुख विश्वकर्माले बताए ।
नीलकण्ठ नगरपालिकालाई देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय सहरको रूपमा विकास गर्ने दीर्घकालीन सोचले अघि बढाइएको मेयर भीमप्रसाद ढुंगानाले बताए । ‘एउटा विधामा उत्कृष्ट भएर पुग्दैन, सबै विधामा नीलकण्ठ नगर उत्कृष्ट बनाउने योजनामा छौँ,’ उनले भने । सबै वडामा कालोपत्रे गर्ने, एक वडा एक गौरवको योजना सञ्चालन गर्ने, फोहोर व्यवस्थाप गर्ने, ४६ करोडको खानेपानी आयोजना पूरा गरी तिर्खामुक्त नगर बनाउने ढुंगानाले बताए ।