माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रियस्तरका सन्धि, सम्झौता गर्नुअघि राजनीतिक दलहरूका बीचमा साझा धारणा बनाउनुपर्ने बताएकी छिन्। शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद अर्यालले यस्तो धारणा राखेकी हुन्।
उनले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुसी पार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै कुनै पनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको औँल्याइन्।
‘सबैभन्दा धेरै सोच्नुपर्ने कुरा के छ भने यो अझै एमसिसीकै पार्ट हो भनेर पनि आइराखेको छ। यस सम्बन्धमा हामीले के सोच बनाउनुपर्याे भने हामी यदि जिम्मेवार राजनीतिक पार्टीहरू हौँ भने सोच बनाउनुपर्याे। कुनै कुरो अन्तर्राष्ट्रिय हिसाबले छलफल गर्ने, कुनै सम्झौता, सन्धि गर्न जाने वेलाभन्दा अगाडि नै कम्तीमा राष्ट्रियस्तरका दलका सम्पूर्ण नेता राखेर, बसेर छलफल गरेर जानुपर्याे र एउटा हाम्रो आफ्नै राष्ट्रिय धारणा बन्नुपर्याे,’ उनले भनिन्।
सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिनेमा उनले ध्यानाकर्षण गराएकी छिन्।