बागमती प्रदेश सरकारले प्रतिपक्षलाई अवहेलना गर्ने गरी आर्थिक वर्ष ०७९/८० को बजेट ल्याएको भन्दै नेकपा (एमाले)का सांसदहरूले आलोचना गरेका छन्। बागमती प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्यले बजेटले प्रतिपक्षको भावनालाई समेट्न नसकेको भन्दै आलोचना गरे।
'बजेट प्रतिपक्षलाई अबहेलना गर्ने उद्देश्यले ल्याइएको छ,' उनले भने, 'बजेटमा हाम्रो पार्टीको भावनालाई समेटिएको देखिँदैन। कतिपय भने पुरानै कुराको कपीपेस्ट गरिएको छ।' उनले बजेटको आकार बढे पनि स्रोत भरपर्दो नभएको भन्दै बजेट सस्तो लोकप्रियताका लागि मात्रै ल्याइएको आरोप लगाए।
'बजेट काठमाडौंका जनताका लागि हात लाग्यो शून्यजस्तै देखियो,' उनले भने, 'कतिपय बटेज सुन्दा ठिकै लाग्ने तर कार्यान्वयन नहुने खालको देखिएको छ। काठमाडौंले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कन्जुस्याइँ गर्ला काठमाडौंका जनतालाई अन्याय भएको छ।'
बागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। यो चालू आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो।