मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ २७ शुक्रबार २१:३७:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

दूरसंचारको गुणस्तर सुधार्न र सेवा प्रभावकारी बनाउन माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार २१:३७:oo

दूरसंचार सेवाका बारेमा बृहत् अन्तर्क्रिया

दूरसंचार सेवा अझ बढी प्रभावकारी बनाउन गुणस्तर सुधार र सेवा विस्तार गर्न लुम्बिनी प्रदेशका सरोकारवालाहरूले माग गरेका छन् । उनीहरूले सहरमा समेत नेपाल टेलिकमसहित दूरसंचार सेवा प्रवाह गर्ने निकायहरूको सेवा गुणस्तरीय हुन नसकेको गुनासो गर्दै सेवा प्रभावकारी बनाउन नेपाल दूरसंचार प्रधिकरणले प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव  दिएका छन् । 

शुक्रबार बुटवलमा गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न निकायका प्रतिनिधिहरूले दूरसंचार सेवा प्रभावकारी नहुँदा विभिन्न समस्या झेल्नु परेको गुनासो गरे । लुम्बिनी प्रदेशमा दूरसंचार सेवाको वर्तमान अवस्था, अब गर्नुपर्ने काम , दूरसंचार सेवाको गुणस्तरलगायतको विषयमा सेवा प्रदायक र सरोकारवालासंग गरिएको कार्यक्रममा टेलिफोनदेखि इन्टरनेटसम्मका सेवा सुधार्न सरोकारवालाहरूले घच्घचाएका थिए । 

बुटवलमा समेत गुणस्तरीय सेवा नपाएका गुनासा राखेका सहभागीहरूले पहाडी जिल्लामा अझै पनि सहज रूपमा सबै स्थानमा सेवा नपाएको गुनासो राखेका थिए । मोबाइलमा कुरा गर्न रुखमा चढ्नुपर्ने अवस्थादेखि इन्टरनेट चलाउन अग्ला अग्ला डाँडाहरूमा पुग्नुपर्ने बाध्यता रहेको ग्रामीण क्षेत्रबाट कार्यक्रममा आएका ब्यक्तित्वहरूले बताएका थिए । 

गुणस्तर सुधार्नुपर्नेमा मन्त्रीको जोड
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले दूरसंचार सेवा प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै गुणस्तरलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले दूरसंचार सेवा प्रभावकारी बनाउन  प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने तथा  समन्वय गरेर अगाडि बढ्ने भन्दै सेवाग्राहीबाट आएका गुनासा तथा समस्या हल गर्दै अगाडि बढ्न प्राधिकरणलाई सुझाव दिए । 

त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सुनवल नगरपालिका प्रमुख विमला अर्याल, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले सहरमा नै प्रभावकारी बन्न नसकेको दुरसंचार सेवामा ग्रामीण क्षेत्रमा अझ बढी समस्या रहेको भन्दै समस्या समाधान गर्ने गरी सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष टंक पोखरेल, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, चेम्बर्स अफ कमर्स तिलोत्तमाका अध्यक्ष बाबुलाल भुसाल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका सचिव लीलाधर लुइँटेल , पत्रकारहरू प्रकाश खनाल, लक्ष्मण पौडेल, दिनेश पाण्डेलगायतले दूरसंचार सेवाका बारेमा धारणा राख्दै विभिन्न सुझाव दिएका थिए । 

चारवटा कार्यपत्र प्रस्तुत 
कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण उपभोक्ता हित संरक्षण महाशाखाका निर्देशक अर्जुन घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै दूरसंचार  सेवाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर डाक्टर मधुसुधन दाहालले टेलिकमले लुम्बिनी प्रदेशमा पुर्याएको सेवाका बारेमा चर्चा गरेका थिए । एनसेलको सेवाका बारेमा एनसेलका निर्देशक रमेश घिमिरे, इन्टरनेट सेवा प्रदायकको तर्फबाट वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कम्युटर एसोसिएसन नेपाल  (क्यान) का अध्यक्ष नवराज कुवरले सूचना प्रविधिको महत्वलाई ध्यान दिँदै दूरसंचार सेवालाई थप प्रभावकारी बनाउन दूरसंचार प्राधिकरणसहितका निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।  

समस्या समाधान गर्दै दूरसंचार सेवा थप प्रभावकारी बनाउने अध्यक्ष खनालको भनाइ
दूरसंचार सेवा सुधारदेखि गुणस्तरका बारेमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै नेपाल दूर संचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले लुम्विनी प्रदेशमा दूरसंचार सेवाका समस्या बुझ्न र समाधान गर्न प्राधिकरणले प्रदेशस्तरीय कार्यक्रम गरेको भन्दै दूरसंचार सेवामा तत्काल सुधारका काम हुने बताए । सेवाको गुणस्तर सुधार गर्दै प्रभावकारी बनाउन प्राधिकरणले आवश्यक भूमिका निर्वाह गर्ने भन्दै उनले आगामी दिनमा  गुनासा आउन नदिने गरी काम हुने बताए । 

मुलुकमा योजनावद्ध विकास नहुँदा समस्या हुने गरेको चर्चा गर्दै अध्यक्ष खनालले आवश्यक स्थानमा टावरहरू राख्न सबै ठाउँमा सहज रूपमा उपलब्ध नहुँदा पनि समस्या हुने गरेको बताए । टावर राख्न सहज रूपमा घरधनीदेखि विभिन्न निकायले दिएमा सेवा प्रभावकारी बनाउन सहज हुने उनले बताए । उनले दूरसंचार सेवाको गुणस्तरका बारेमा प्रदेश सरकार तथा स्थानीय सरकारले पनि सेवाग्राहीका गुनासा सम्बोधन गर्ने गरी भूमिका निर्वाह गर्न सक्ने जानकारी दिए । प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नेमा उनको जोड थियो । 

प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले संचार क्षेत्रका बारेमा चर्चा गरेको कार्यक्रममा प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव यमवहादुर केसीले पनि दूर संचार सेवाको गुणस्तर सुधारमा ध्यान जानुपर्नेमा जोड दिएका थिए ।