१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २६ बिहीबार
  • Sunday, 29 September, 2024
कृष्ण ढुंगाना
२o७९ जेठ २६ बिहीबार o७:३९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निर्वाचन पद्धति : भ्रष्टाचारको कारक

निर्वाचनमा असीमित खर्च गर्ने प्रवृत्तिले हामीले अंगीकार गरेको निर्वाचन प्रणाली नै गलत छ भन्ने पुष्टि गरेको छ

Read Time : > 2 मिनेट
कृष्ण ढुंगाना
नयाँ पत्रिका
२o७९ जेठ २६ बिहीबार o७:३९:oo

स्थानीय तहमा नयाँ नेतृत्वले कार्यभार सम्हालिसकेको छ । यसपटकको स्थानीय निर्वाचनमा पनि विगतमा झैँ धेरै त्यस्ता दृश्य देखिए, जुन निर्वाचन कानुन र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत थिए । निर्वाचनको एक साताअघि नै बजारका मदिरा पसलहरू रित्तिएका, सुर्खेतमा एमालेका वडाध्यक्षका उम्मेदवार घरबाट पैसाका बोरासहित समातिएको विषयले सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन र पत्रपत्रिकाको दुनियाँलाई तताइदियो । 

स्थानीय निर्वाचनका क्रममा केही उम्मेदवारले आयोगले तोकेको खर्चको सीमासम्म पनि खर्च गरेनन् होला । तर के सबैले खर्चको त्यही सीमालाई पालना गरे त ? इमानदारीपूर्वक नीति–नियमको दायराभित्रै बसेर चुनावमा भाग लिँदै रामराज्य बनाउने अभियानमा योगदान गरे त ? आज राजनीतिक दल, तिनका नेता, निर्वाचन प्रक्रियामा सहभागी उम्मेदवार र निर्वाचन आयोगमाथि समेत नागरिकले औँला तेस्र्याउन थालेका छन् । दलीय व्यवस्थामा दलको विकल्प दल नै हुन्, व्यक्ति होइनन् । तर, दल छाडेर कतिपय स्थानीय तहका जनता व्यक्तितिर आकर्षित भएका छन् । 

यी र यस्ता दृश्य, घटना र व्यवहारलाई ख्यालख्याल ठानेका छौँ हामीले । चुनाव हो, खर्च भइहाल्छ नि भनेर हल्का रूपमा लिएका छौँ । हजारौँ सहिदको प्राणको आहुति, बेपत्ता, घाइते, अपांग आदिको बलिदानबाट प्राप्त लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको राजनीतिक व्यवस्था र यसको गरिमालाई खिसिटिउरी गरिएको छ । गहनतम सवाललाई ओझेलमा राख्दै मञ्चमा उभिएर एउटा चटकेले गरेको प्रस्तुतिभन्दा पनि तल्लो स्तरको भाषा र शब्द प्रयोग गर्दै जिम्मेवार दलका उपल्ला तहका नेता पेस भएका छन् । त्यसैलाई मज्जा मानेर हाँसोका फोहरा छर्दै ताली ठोक्नमा रमाइरहेका छौँ हामी । 

निर्वाचनमा असीमित खर्च गर्ने प्रवृत्तिले हामीले अंगीकार गरेको निर्वाचन प्रणाली नै गलत छ भन्ने पुष्टि गरेको छ । दलीय व्यवस्थामा दल नै चुन्ने हो, व्यक्ति होइन । यसको अर्थ चुनिएर आएका व्यक्ति ठीक छैनन् भन्ने होइन । लोकतन्त्रमा व्यक्ति आउन सक्छन् । तर, दलमार्फत मात्रै । व्यक्ति त पञ्चायतमा चुनिन्थे । त्यो व्यवस्थालाई धेरै पछाडि छोडिसकियो । अब राजनीतिक रूपमा पछाडि फर्किने होइन । अझ अगाडि बढ्ने मार्ग पहिल्याउँदै संविधानले परिकल्पना गरेको समाजवादको दिशा समात्ने हो । समृद्धि चुम्ने हो । रिभर्स गेयरले गाडी अघि बढ्दै बढ्दैन ।

देशले यही निर्वाचन प्रणाली नै बोकेर हिँडिरहने हो भने निर्वाचन झन्–झन् खर्चिलो बन्दै जाने पक्का छ । चुनाव खर्च दलले दिँदैन, उम्मेदवारले नै व्यहोर्ने हो । त्यो खर्च उठाउन जनप्रतिनिधिले पाउने तलब–भत्ताले थेग्दैन । उसले गर्ने भ्रष्टाचार नै हो । यसर्थ भ्रष्टाचारको मूल कारण भनेकै व्यक्ति चुन्ने निर्वाचन प्रणाली नै हो । भ्रष्टाचार रहेसम्म देशले विकासको गति समाउन सक्दै–सक्दैन । हामीले अपनाएको निर्वाचन प्रणालीको विकल्प नभएको पनि होइन ।

भ्रष्टाचारको मूल कारण भनेकै व्यक्ति चुन्ने निर्वाचन प्रणाली नै भएकाले निर्वाचनलाई पूर्ण समानुपातिक प्रणालीमा रूपान्तरित गर्नु हाम्रोजस्तो देशका लागि सर्वोत्तम विकल्प हुन्छ 
 

विभिन्न विकल्प प्रयोग गरेर त्यसले दिगो र वैज्ञानिक विकासको गति समाउन नसकेकैले उपयुक्तताका आधारमा चरम विकसित युरोपेली देश स्विट्जरल्यान्डलगायत विश्वका समृद्ध करिब ८५ भन्दा बढी देशले समानुपातिक निर्वाचन प्रणाली अपनाएको देखिन्छ । राज्यले निर्वाचनका नाममा अर्बौं रुपैयाँ चरणबद्ध रूपमा खर्चिंदै जाने र त्यही निर्वाचनका क्रममा उम्मेदवारले अनियन्त्रित खर्च गरेर फर्जी किसिमबाट जबर्जस्त रूपमा आफूलाई स्थापित गराउँदै लैजाने हो भने हामीले चरम अभाव खेप्न बाध्य बन्नुको विकल्प रहनेछैन ।

हामीले समानुपातिक निर्वाचन प्रणालीलाई आंशिक रूपमा प्रयोग गरिनै रहेका छौँ । केही कमजोर पक्ष भए पनि यसका गुणको चर्चा गर्दै यसको पक्षमा बुद्धिजीवी, पेसाकर्मी, राजनीतिकर्मी र आमनागरिकबीच जोडदार बहस चलाउनु आजको टड्कारो आवश्यकता हो । तसर्थ समानुपातिक निर्वाचन पद्धतिका गुणबारे संक्षिप्त विवेचना गरौँ : 

१) निर्वाचन क्षेत्र निर्धारणको झन्झट मुलुकले झेल्नुपर्दैन ।

२) जातीय, क्षेत्रीय, लैंगिक, अल्पसंख्यक, सीमान्तकृतलगायत प्रतिनिधित्व हुने हुनाले निर्वाचनमा मतदाताले अत्यधिक सहभागिता जनाउने सम्भावना रहन्छ ।

३) उपनिर्वाचनको आवश्यकता पर्दैन ।

४) मतदाता शिक्षा मात्र नभई मतदाताले मत प्रयोग गर्नुअघि दलको प्रतिबद्धतापत्र, भावी नीति तथा कार्यक्रमसमेतका आधारमा धारणा बनाउने, उनीहरूका भाषण, अन्तत्र्रिmया, छलफल आदिबाट राजनीतिक शिक्षा प्राप्त गर्ने अवसरसमेत पाइन्छ ।

५) चुनावी अभियान घोषणापत्रमा आधारित मुद्दामा केन्द्रित हुन्छ ।

६) अधिकांश दलका साथै समाजको विविधताको सम्बोधन वा प्रतिनिधित्व यस पद्धतिबाट हुने हुनाले जनजाति, भाषाभाषी, लिंग, धर्म, संस्कृतिलगायत द्वन्द्व न्यूनीकरणका लागि मद्दत पुग्छ ।

७) मत खेर जाँदैन । कम वा अधिक दुवै प्रकारको मतको हस्तान्तरण अन्य उम्मेदवारबीच हुने हुँदा कुनै न कुनै रूपमा मतको प्रयोग हुन्छ र जनमतको साँचो प्रतिनिधित्व हुन्छ । 

यसर्थ, निर्वाचनमा रहे–भएका विकृति, विसंगति र असफल परिणामलाई मिहिन ढंगले विश्लेषण गर्दै साँच्चै देशलाई विकासको गतिमा अगाडि बढाउने दिशामा प्रतिबद्ध र संकल्पित हुने हो भने निर्वाचनलाई पूर्ण समानुपातिक प्रणालीमा रूपान्तरित गर्नु हाम्रो जस्तो देशका लागि सर्वोत्तम विकल्प हुन्छ । जसभित्रका अवगुण र भोगाइका क्रममा देखिएका कमजोर पक्षलाई सुधारेर कानुनमै स्पष्ट व्यवस्था गरी त्यसलाई कडाइसाथ पालना गर्ने–गराउने प्रतिबद्धतासहित अघि बढ्दा नै उपयुक्त देखिन्छ ।
(ढुंगाना अधिवक्ता हुन्)