१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Sunday, 29 September, 2024
मेयर कालुमान लामा (दायाँ) शिवराजलाई खोरबाट उद्धार गरी ल्याउँदै
२o७९ जेठ २३ सोमबार o६:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खोरमा राखिएका शिवराजको ६ वर्षपछि उद्धार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार o६:३४:oo

६ वर्षदेखि खोरमा राखिएका मानसिक रोगी शिवराज विश्वकर्माको उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाले आइतबार मानसिक रोगी ४१ वर्षे विश्वकर्मालाई खोरबाट उद्धार गरेका हुन् । उपचारका लागि विश्वकर्मालाई कोसी अस्पताल विराटनगर पठाइएको जानकारी दिए ।

चौदण्डीगढी नगरपालिका–२ शिखरपुरका विश्वकर्मा उपचार अभावमा ६ वर्षदेखि खोरमा राखिएका थिए । गत बुधबार नयाँ पत्रिका दैनिकमा ‘६ वर्षदेखि उपचार अभावमा खोरमा’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । त्यसपछि नगर प्रमुख लामाले शिवराजको घर पुगी स्वास्थ्य अवस्था बुझ्दै निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए । ‘शिवराजको उपचारका लागि धेरै ठाउँमा बुझियो, मानसिक रोगका डाक्टरहरूको परामर्शमा कोसी अस्पताल पठाउने निर्णय गरेका हौँ । त्यहाँ रहेका डाक्टरहरूले गर्ने उपचार राम्रो भन्ने सुनियो । त्यही भएकाले अस्पताल पठाएका हौँ, उपचार सुरु भएको छ,’ लामाले भने ।

शिवराजको सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने लामाले बताए । ‘शिवराजको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्नेछ,’ उनले भने । शिवराजका भाइ अर्जुनले आइतबारदेखि नै उपचार सुरु गरिएको जानकारी दिए । कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अस्पतालमा दुईजना मानसिक रोगी विशेषज्ञ भएको बताए । ‘एकजना मानसिक रोगी बिरामी उदयपुरबाट ल्याइएको भन्ने बुझिएको छ । आज बिदा भएकाले अफिस गएको छैन, जानकारी पाएसम्म उपचार सुरु भएको छ,’ उनले भने । परिवारका अनुसार यसअघि शिवराजको उपचार पाटन मानसिक अस्तालमा गरिएको थियो । खर्च अभावमा उपचार गर्दागर्दै परिवारले बीचमै छाड्नुपरेको थियो ।

 आमाको खुसी‘६ वर्षपछि खोरबाट निस्कियो  छोरो, सबैलाई धन्यवाद !’
खोरबाट छोराको उद्धारपछि शिवराजकी आमा सुमित्रा विश्वकर्माले अब उपचार हुने बताइन् । ‘मेरा दुई छोरामध्ये जेठो छोरो शिवराज अभागी रहेछ । उपचार गर्न नसक्दा ६ वर्षपछि आइतबार खोरबाट निस्कियो,’ उनले भनिन् । आमा सुमित्राले पहिला पनि उपचार गरेको, तर पैसाको अभावमा पूरा ठीक गर्न नसकेको गुनासो गर्दै कसैको पनि साथ सहयोग नपाएको बताइन् । ‘यसभन्दा अघि धेरैजनासँग हारगुहार गर्दा पनि सहयोग पाइएको थिएन । अहिले पत्रकारहरू आएपछि मेयरसाब, वडाध्यक्षहरू सबै आउनुभयो । निःशुल्क उपचार हुने भयो । मेरो तर्फबाट सबैलाई धन्यवाद !’ उनले भनिन् । सुमित्राले आफूहरूजस्ता गरिब दलित परिवारले पनि नगरपालिकाको साथ पाएको बताइन् । ‘हामीजस्ता दलित गरिब परिवारले नगरपालिकाबाट साथ पाउँदैनौँ होला भन्ने सोचेकी थिएँ, तर होइन रहेछ । अब मेरो छोरो ठीक हुन्छ होला ।’