
पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ। यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन्।
पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको युएसजिएसले जनाएको छ। पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसुस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन्।
सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्निच्युडको भूकम्पले इन्डाेनेसियाका एक लाख ७० हजार नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो। १३ लाख जनसंख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एसियाको सबैभन्दा कान्छो देश हो। यस देशले हालै मात्र इन्डोनेसियाबाट स्वतन्त्र भएर आफ्नो २०औँ वार्षिकोत्सव मनाएको छ।
अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड– १९ को महामारीले नराम्ररी प्रभावित भएको छ। विश्व बैंकले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ। रासस/एएफपी