नेतन्याहुको धाँधलीको दाबी खारेज गर्दै इजरायलमा निर्वाचन परिणाम अनुमोदन

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण
नेतन्याहुको धाँधलीको दाबी खारेज गर्दै इजरायलमा निर्वाचन परिणाम अनुमोदन

इजरायलका राष्ट्रपति आइज्याक (दायाँ)लाई निर्वाचन नतिजाको प्रमाणपत्र पेस गरिँदै

  • इजरायलको केन्द्रीय निर्वाचन समितिले गत हप्ता सम्पन्न आमनिर्वाचनमा धाँधली भएको कुनै प्रमाण नभेटेको बताएको छ

तेलअभिभ/ इजरायलको केन्द्रीय निर्वाचन समितिले गत हप्ता सम्पन्न आमनिर्वाचनको नतिजालाई आधिकारिकता प्रदान गरेको छ । समितिले धाँधली भएको कुनै प्रमाण नभेटेको भन्दै यो निर्णय लिएको बताएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका सहयोगीले पटक–पटक कुनै प्रमाणविना अरब नेतृत्वका दलले सम्भवतः विदेशी सहयोगमा निर्वाचन ‘चोरी’ गरेको दाबी गर्दै आएका छन् ।

समितिले ९ हजार ६९ मतदान केन्द्रहरूको समीक्षा गर्दा निर्वाचनको निष्पक्षतामा आँच आउने वा नतिजा नै परिवर्तन हुने किसिमको कुनै अनियमितता नभेटिएको जनाएको छ । समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले प्रत्येक उजुरीको छुट्टाछुट्टै छानबिन गरिएको र नतिजाले मतदाताको रोजाइलाई सही रूपमा प्रतिबिम्बित गरेको बताए ।

बुधबार केन्द्रीय निर्वाचन समितिले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसमक्ष निर्वाचन नतिजा पेस गर्यो । अब राष्ट्रपतिले विभिन्न राजनीतिक समूहका नेतासँग दुई दिनसम्म परामर्श गर्नेछन् । त्यसपछि गठबन्धन सरकार गठन गर्न सबैभन्दा उपयुक्त उम्मेदवारको चयन गर्नेछन् ।

अक्टोबर २७ मा भएको निर्वाचनमा नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ संसदीय सिट जितेको छ भने प्रतिद्वन्द्वी गादी आइजेनकोट नेतृत्वको विपक्षी समूहले ४८ सिट प्राप्त गर्यो । त्यस्तै, अरब समुदायको प्रतिनिधित्व गर्ने दल ‘रा’आम’ ‘जोइन्ट लिस्ट’ले कीर्तिमानी १९ सिट जितेको छ । 

१२० सिट रहेको इजरायली संसद् (नेसेट)मा सरकार गठन गर्न ६१ सिटको बहुमत आवश्यक पर्छ । निर्वाचनमा कुनै दलले बहुमत नल्याएको वर्तमान अवस्थामा राष्ट्रिय एकताको सरकार बन्ने वा आइजेनकोट र अरब–नेतृत्वका दलबिच गठबन्धनमध्ये एक विकल्प मात्र बाँकी छ । यदि कसैले पनि सरकार गठन गर्न सक्ने गठबन्धन बनाउन सकेनन् भने इजरायलमा अर्को वर्षको सुरुतिर दोहोर्याएर निर्वाचन गर्नुपर्ने हुन्छ । 

सुझावित समाचार