एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्सलगायत युरोपका विभिन्न देशमा देखिएका अशान्तिको प्रमुख कारण आप्रवासन भएको दाबी गरेका छन्।
ह्वाइटहाउसबाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा देखिएका समस्याको मुख्य कारण शिक्षा वा घरेलु नीतिभन्दा पनि आप्रवासन रहेको बताएका हुन्। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई वर्षौँअघि नै सीमा बन्द गर्न सुझाव दिएको दाबीसमेत गरे।
‘फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ। यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन,’ ट्रम्पले भने। आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने व्यक्तिहरूलाई प्रवेश दिँदा फ्रान्सले समस्या भोगिरहेको उनको आरोप थियो।
ट्रम्पले पेरिसको जनसांख्यिक संरचनामा परिवर्तन भइरहेको उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे पटकपटक सचेत गराएको बताए। अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उनको भनाइ थियो। फ्रान्सले ऊर्जा क्षेत्रमा केही समस्या भोगिरहेको भए पनि अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको उनले दाबी गरे।
युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई निष्कासन गर्नुपर्नेमा जोड दिए।
उनले फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएका अशान्तिलाई पनि आप्रवासनसँग जोडेका छन्। भवन, कला र मानिसप्रति सम्मान नराख्ने व्यक्तिहरूका कारण समस्या बढेको दाबी गर्दै उनले त्यस्ता व्यक्तिहरूलाई निष्कासन गर्नुपर्ने धारणा व्यक्त गरे।
ट्रम्पको यो टिप्पणी युरोपमा आप्रवासन नियन्त्रण, सार्वजनिक सुरक्षा र राष्ट्रिय पहिचानसम्बन्धी बहस चलिरहेका वेला आएको हो। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने अशान्तिका कारणबारे ऊर्जा संकट तथा अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ संकेत गरेको विवरणमा उल्लेख छ।
यसैबिच, फ्रान्सको बोर्डो सहरको केन्द्रमा सप्ताहान्तमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएको विवरण सार्वजनिक भएको छ। घटनापछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूलाई रातिको समयमा बाहिर निस्कन एक साताका लागि प्रतिबन्ध लगाएका छन्। उक्त घटनालाई लिएर ट्रम्पले फ्रान्सको आप्रवासन नीतिको आलोचना गर्दै आफ्नो धारणा दोहोर्याएका हुन्।