इस्लामाबाद/ जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पिटिआई) ले संघीय सरकारद्वारा आइतबार खैबर पख्तुनख्वाको प्रान्तीय सरकार भंगको कदमलाई कानुनी रूपमा चुनौती दिने तयारी गरिरहेको छ । त्यस प्रान्तमा पिटिआई नेतृत्वको सरकार थियो । पिटिआईका केन्द्रीय सूचना सचिव सेख वकास अक्रमले पार्टीले प्रान्तभित्र लगाइएको संकटकालीन कानुन (जसले नागरिक स्वतन्त्रतासमेत निलम्बन गर्छ) र गभर्नरको शासनलाई अदालतमा चुनौती दिने बताए ।
पिटिआईका महासचिव सलमान अक्रम राजाको नेतृत्वमा रहेको कानुनी समितिले यससम्बन्धी मुद्दा तयार पारेर मंगलबार नै अदालतमा बुझाउने तयारी गरिरहेको थियो ।पिटिआईले आफ्ना नेता इमरान खानलाई रिहा गर्न अधिकारीमाथि दबाब दिने उद्देश्यले इस्लामाबादतर्फको मार्चपासको तयारी गर्दै गर्दा संघीय सरकारले प्रान्तीय सरकार भंग गरेको हो । खान तीन वर्षभन्दा लामो समयदेखि जेलमा छन् ।
उता सोमबार संघीय गृहमन्त्री मोहसिन नकभीले भने प्रान्तीय सरकार भंगको बचाउ गर्दै अफगानिस्तानसँग खुला सिमाना जोडिएको खैबर पख्तुनख्वामा बढेको ‘आतंकवाद’विरुद्ध प्रभावकारी रूपमा लड्न संकटकाल लगाउनुपरेको बताए ।
‘जतिसुकै स्रोतसाधन जुटाए पनि वा जे गरे पनि, जबसम्म प्रान्तीय सरकारले राम्ररी काम गर्दैन, तबसम्म कुनै पनि युद्ध जित्न सकिँदैन,’ सोमबार पेसावरमा बोल्दै नकभीले भने । आइतबार राष्ट्रपति आसिफ अली जर्दारीले संकटकालीन शासन र गभर्नरको शासन लागू गर्दै उत्तर–पश्चिमी प्रान्तमा रहेको पिटिआई सरकारलाई निलम्बन गरे । उक्त पार्टीले सन् २०१३ देखि खैबर पख्तुनख्वामा शासन गर्दै आएको थियो ।
गभर्नर शासन लागू भएपछि निलम्बित मुख्यमन्त्री सोहेल अफ्रिदी र उनका मन्त्रिपरिषद्का केही सदस्यलाई हिरासतमा लिइएको छ । अफ्रिदीले खानलाई मुक्त गराउने उद्देश्यले इस्लामाबादतर्फको मार्चको नेतृत्व गरिरहेका थिए । तथापि, पार्टीले अहिले अनपेक्षित अवरोधको सामना गर्नुपरे पनि पिटिआई नेताहरूले विरोध प्रदर्शन जारी रहेको बताइएका छन् । ‘लङ मार्च रोकिनेछैन । तर पार्टीविरुद्ध ऐतिहासिक दमन सुरु भएको छ,’ अक्रमले भने ।