चीनले बढायो मध्यपूर्वमा कूटनीतिक सक्रियता

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

बेइजिङ/ केही समयको सुस्ततापछि चीनले मध्यपूर्वमा आफ्नो कूटनीतिक प्रयासलाई तीव्र पारेको छ । सोमबार बेइजिङमा देशका विदेशमन्त्री वाङ यीले इरानका एक शीर्ष सुरक्षा अधिकारीसँग भेटवार्ता गरे भने राष्ट्रपति सी जिनपिङले ओमानका सुल्तान हैथम बिन तारिकलाई राजकीय भ्रमणका लागि स्वागत गरे ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीसँगको भेटमा विदेशमन्त्री वाङले क्षेत्रमा द्वन्द्व ‘लम्बिरहेको र अझ फैलिन सक्ने जोखिम’ रहेको चेतावनी दिए । उनले संवाद र वार्ता नै ‘अगाडि बढ्ने एक मात्र व्यावहारिक बाटो’ भएकोमा जोड दिए । वाङले इरानको सार्वभौमिकता र सुरक्षाप्रति चीनको समर्थन पनि दोहोर्याए । बेइजिङले सुरुदेखि नै इरान युद्धका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्याउँदै आएको छ ।

सोमबार बेइजिङमा भएका दुई भेटवार्तालाई मध्यपूर्वमा युद्ध रोकिने दिशामा प्रगति नहुँदा चीनको धैर्यता टुट्दै गएको संकेत मानिएको छ । मध्यपूर्वमा कूटनीतिक सक्रियता बढाएको संकेतस्वरूप सोमबार नै चीनको विदेश मन्त्रालयले मध्यपूर्वका लागि बेइजिङका विशेष दूत झाई जुनले यस महिना इरान, ओमान र साउदी अरबको भ्रमण गर्ने जानकारी दिएको छ । 

यसैबिच, राष्ट्रपति सीले ओमानका सुल्तान हैथमलाई भेटे । हैथमको भ्रमण सन् १९७८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता ओमनी सुल्तानको पहिलो चीन हो । भेटमा चिनियाँ राष्ट्रपतिले मध्यपूर्व र खाडी क्षेत्र ‘शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा र भूराजनीतिक द्वन्द्वको अखडा बन्नु नहुने’ बताए ।

स्ट्रेट अफ होर्मुजको एक किनारमा अवस्थित ओमान, यस रणनीतिक जलमार्गमा हुने जलयात्राको एक प्रमुख सरोकारवाला पक्ष हो । अमेरिका–इरान द्वन्द्वका कारण आवागमन सीमित हुनुअघि विश्वको कुल ऊर्जा निर्यातको २० प्रतिशत इन्धन यही जलमार्ग भएर बाहिरिन्थ्यो । ओमनले युद्ध सुरु हुनुअघिदेखि नै इरान र अमेरिकाबिच वार्ताको मध्यस्थता पनि गर्दै आएको छ । 

भ्रमणका क्रममा चीन र ओमानले कृत्रिम बुद्धिमत्ता(एआई), हरित ऊर्जा र आपूर्ति शृंखलालगायत क्षेत्रमा १४ वटा सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरे । दुई देशबिच मुद्रा विनिमय सम्झौता पनि भयो । शीर्ष नेताको भेटवार्तापछि जारी संयुक्त विज्ञप्तिमा होर्मुजमा सुरक्षित जलयात्रा पुनः सुचारु हुनुपर्ने र अमेरिका तथा इरानले वार्ता पुनः सुरु गर्न आग्रह गरिएको छ ।

सुझावित समाचार