अमेरिकी वार्ता प्रस्तावप्रति इरान सकारात्मक

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

वासिंटन डिसी/ युद्ध अन्त्य गर्न अमेरिकाले गरेको प्रस्तावप्रति इरान सकारात्मक देखिएको छ । अमेरिकी जारी युद्ध रोक्ने उदेश्यले उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईलाई पठाएको पत्रप्रति इरान सकारात्मक देखिएको हो ।  

इरानले भान्सको पत्रलाई ‘सकारात्मक रूपमा लिएको’ अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नल र न्युयोर्क टाइम्सले जनाएका छन् । केही दिनअघि उपराष्ट्रपति भान्सले शान्ति वार्ता पुनः सुरु गर्ने अन्तिम प्रयासस्वरूप इरानका सुरक्षा प्रमुखलाई पत्र पठाएका थिए । पत्रको उद्देश्य अमेरिका र इरानबिचको  मतभेदलाई सकेसम्म न्युन गर्ने र इरान युद्ध पुनः चर्किने सम्भावना रोक्ने रहेको बताइएको छ । पत्रप्रति इरान सकमरात्मक देखिएको छ ।

ट्रम्पले नोभेम्बर ३ (आज मंगलबार) हुने मध्यावधि निर्वाचनलगत्तै इरानमाथि छोटो तर तीव्र सैन्य अभियान सञ्चालन गर्ने अनुमान भइरहेका बेला पत्रप्रति इरान सकारात्मक देखिएको हो ।  भान्सको कूटनीतिक पहल निकै संगीन समयमा आएको छ । 

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रेजाईलाई भान्सले पठाएको पत्रका विषय सार्वजनिक त गरिएको छैन, तर अमेरिकी सञ्चार माध्यमहरू वाल स्ट्रिट जर्नल र न्युयोर्क टाइम्सले यसमा उल्लेख केही सामग्रीबारे लेखेका छन् । पत्रमा शान्तिका लागि वार्ता पुनः सुरु गर्न एउटा साझा सहमतिको खाका उल्लेख गरिएको छ । पत्रको उद्देश्य तेहरान र वासिंटनबिच एउटा साझा आधारमा सहमति गरेर ट्रम्पलाई आगामी साता इरानमाथि संक्षिप्त तर तीव्र आक्रमण गर्ने अन्तिम आदेश दिनबाट रोक्न मनाउने रहेको वाल स्ट्रिट जर्नलले लेखेको छ ।  

न्युयोर्क टाइम्सका अनुसार भान्सको पत्रमा अमेरिकी र इरानी अधिकारीबिच छिट्टै भेटवार्ता गर्ने प्रस्तावसमेत उल्लेख छ । जसअनुसार अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व भान्स स्वयंले गर्नेछन् । यसअघि पाँच महिनाअघि भएको अमेरिकी–इरानी वार्तामा पनि भान्स सहभागी भएका थिए । भान्सले लेखेको पत्र कतारी मध्यस्थकर्तामार्फत सुरक्षा प्रमुख रेजाईसम्म पुर्याइएको थियो । 

सुझावित समाचार