डेमोक्य्राटिक पार्टीले मस्कको व्यापारिक साम्राज्यमाथि अनुसन्धान गर्ने

अमेरिकामा मध्यावधि निर्वाचनमा डेमोक्य्राटिक पार्टीले ऐतिहासिक विजय

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

न्युयोर्क- अमेरिकामा मध्यावधि निर्वाचनमा डेमोक्य्राटिक पार्टीले ऐतिहासिक विजय हासिल गरेको छ । दुवै सदनमा रिपब्लिकनको लज्जास्पद हारसँगै चुनावमा भएको खर्चबारेसमेत समीक्षा हुन थालेको छ ।

यसबिच अर्बपति एलोन मस्कले रिपब्लिकन उम्मेदवारको विजय सुनिश्चित गर्न टेक्सासमा लगभग आधा अर्ब डलर खर्च गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यमले यस्तो खुलासा गरेका हुन् । टेक्सास मस्क र उनको प्रमुख कम्पनीको सञ्चालन र व्यक्तिगत निवासको प्राथमिक आधार हो ।

रिपब्लिकनको हारसँगै डेमोक्य्राटिक पार्टीले मस्कको फराकिलो व्यापारिक साम्राज्यमाथि आक्रामक अनुसन्धान सुरु गर्ने भएको छ ।

मंगलबार मतदान सुरु हुँदा मस्कले आफ्ना अनुयायीलाई रिपब्लिकनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । यद्यपि, डेमोक्य्राटहरूले कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरे भने टेक्सासको गभर्नर पदको प्रतिस्पर्धामा जिना हिनोजोसाले ग्रेग एबटलाई पराजित गरिन् ।

बुधबार सार्वजनिक भएको मत परिणाममा टेक्सासले तीस वर्षभन्दा बढी समयमा आफ्नो पहिलो डेमोक्य्राटिक गभर्नर निर्वाचित गरेको छ ।

यो रिपब्लिकन पार्टी र स्वयं मस्कका लागि ठुलो धक्का हो । टेस्लाका सिइओसमेत रहेका मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि निर्वाचित गर्न मद्दत गरेका थिए । २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पलाई विजयी गराउन उनले करोडौँ डलर खर्च गरेका थिए ।

पुनरुत्थान भइरहेको डेमोक्य्राटिक पार्टीले मस्कको फराकिलो व्यापारिक साम्राज्यमाथि आक्रामक अनुसन्धान सुरु गर्ने योजना बनाएको छ । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्समा प्रतिशोधात्मक चेतावनी जारी गर्दै भने, 'मसँग झगडा गर्नेहरूले बुझ्नुपर्छ कि म उनीहरूको कठपुतली होइन ।'

डेमोक्य्राटिक सांसदले युक्रेनी सैन्य उपग्रह सञ्चारमा उनको सीमा, दक्षता विभागको नेतृत्वमा रहँदा संघीय जागिरमा व्यापक कटौती र उनका कम्पनीले प्राप्त गर्ने व्यापक सरकारी सम्झौता र अनुदानसहित धेरै विवादका लागि मस्कबारे छानबिन सुरु गरेका छन् ।

डेमोक्य्राटिक पार्टीको विजयले राज्यमा मस्कलाई नीतिगत रूपमा पनि कठिनाइ हुने विश्लेषण हुन थालेको छ । डेटा सेन्टरसम्बन्धी स्वीकृति प्रक्रियामा हुने ढिलाइले मस्कलाई ठुलो असर पार्न सक्छ ।

यसले गर्दा स्पेसएक्सले आइपिओमार्फत आफ्ना लगानीकर्तासामु प्रस्तुत गरेको २८.५ ट्रिलियन डलरको बजारमा पहुँच पाउन बाधा पुग्न सक्छ ।

रिपब्लिकनको पराजयपछि प्रि–मार्केट ट्रेडिङमा स्पेसएक्सको सेयर ३.८ प्रतिशतले घट्यो भने टेस्लाको सेयर ३.६ प्रतिशतले ओरालो लाग्यो । 

सुझावित समाचार